• बिहीबार, ११ पौष, २०८१
  • ०६:३४:४५

उच्च स्कोर बनाएर पनि हार व्यहोर्दै आएको लुम्बिनीले सुदूरपश्चिमको विजयी यात्रालाई रोक्न सक्ला?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बिहान ‘हाउसफुल’ रंगशालामा दुई बलियो टिमबीचको रोमाञ्चक भिडन्त हुने तयारीमा छ। निरन्तर उच्च स्कोर बनाए पनि जित हात पार्न असफल लुम्बिनी लायन्स आज लगातार जितको लयमा रहेको सुदूरपश्चिम रोएल्सविरुद्ध मैदानमा उत्रँदैछ। यो खेलले लुम्बिनीलाई पराजयको शृङ्खला तोड्ने ठूलो दबाब सिर्जना गरेको छ।


खेलमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र विश्व टी-२० अलराउन्डर सूचीको दोस्रो स्थानमा रहेका दीपेन्द्र सिंह ऐरीबीचको प्रतिस्पर्धा मुख्य आकर्षण हुनेछ। दबाबरहित अवस्थामा रहेका दीपेन्द्र र दुई खेलको हारको प्रभावमा रहेका रोहितबीचको यो प्रतिस्पर्धाले दर्शकहरूलाई थप रोमाञ्चक बनाउने अनुमान गरिएको छ।

सुदूरपश्चिमले आफ्नो सुरुआती दुई खेलमा उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै काठमाडौँलाई ७३ रनले र विराटनगरलाई ९० रनले पराजित गरेकाले थप आत्मविश्वासी देखिएको छ। अर्कोतर्फ, लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेटले हार व्यहोरेको थियो भने शुक्रबार मात्र पोखरासँग १० विकेटको करारी पराजय भोगेको थियो। २४ घन्टा नपुग्दै अर्को खेल खेल्न तयार हुनु पर्ने बाध्यता लुम्बिनीको लागि चुनौतीपूर्ण छ।

लुम्बिनी लायन्सको टोली:
रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, सूर्य तामाङ, तिलकराज भण्डारी, विकास आग्री, आशुतोष घिरैया, दुर्गेश गुप्ता, अभिषेक गौतम, दिनेश अधिकारी, आरिफ खान, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इङ्ग्ल्यान्ड), रामोन सिमन्ड्स (वेस्टइन्डिज), साद बिन जफर (क्यानडा)।

सुदूरपश्चिमको टोली:
दीपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खड्क बोहोरा, नरेश बुढायर, अमित श्रेष्ठ, भोजराज भट्ट, नरेन साउद, बसन्त खत्री, सइफ जाइब (इङ्ग्ल्यान्ड), स्कट कुग्गेलेइजन (न्युजिल्यान्ड), ब्रान्डन म्याकमुलेन (स्कटल्यान्ड), रोहन मुस्तफा (युएई)।