जन्मकै आधारमा अमेरिकी नागरिकता पाउँने नियम हटाउँदै,आप्रवासीमा चिन्ता
- नेटिजन संवाददाता
- आइतबार, ३० मङ्सिर, २०८१- ०६:४०:००/ Sunday 12-15-24
काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफूले पदको शपथ लिएकै दिन अमेरिकामा जन्मिएकै कारण नागरिकता पाउने नियम हटाउने बताएका छन्। अमेरिकी भूमिमा जन्मिएकै कारण अमेरिकाको नागरिकता पाउने नियम अब रहनेछैन। ट्रम्पको यो निर्णयसँगै अमेरिकामा रहेका आप्रवासीमा चिन्ता बढेको छ।
ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ लिँदै छन्। अमेरिकामा अरू देशबाट आएका वैध र अवैध तरिकाले आउनेको संख्या लामो समयदेखि बहसको विषय बन्दै आएको थियो। चुनाव प्रचारका क्रममा पनि ट्रम्पले यो मुद्दा उठाएका थिए।
संसारमा नागरिकता पाउने आ-आफ्ना नियम हुन्छन्। अमेरिकी भूमिमा जन्मिएपछि स्वतः अमेरिकी नागरिक मानिने कानुन चलन छ। गृहयुद्धपछि अमेरिकी कांग्रेसले सन् १८६८ मा यो नियम लागू भएको थियो। अमेरिका आइपुगेका अश्वेतसहित सबैलाई नागरिकता दिने नियम ल्याइएको थियो।
त्यतिखेर अमेरिकामा जन्मिएका बालबालिकालाई स्वतः नागरिकता दिने प्रावधान लागू गरिएको थियो। त्यस्ता बालबालिकाका आमाबाबु अमेरिकामा वैध वा अवैध भए पनि फरक नपर्ने नियम छ। खासमा यो नियम अमेरिकामा बाहिरबाट दास बनाएर ल्याइएका व्यक्तिलाई सहज बनाउन ल्याइएको थियो।
डोनल्ड ट्रम्प र उनका समर्थकले दासलाई नागरिकता दिन सहज बनाइएको कानुनको गलत प्रयोग भइरहेको बताउँदै आएका छन्। यसैले अमेरिकी नागरिक बन्नका लागि नयाँ र कठोर कानुन बनाउनुपर्ने माग गर्दै आएका छन्।