• आइतबार, ३० मङ्सिर, २०८१
  • ०३:१६:५९

च्याटजीपीटीले अनुहार र हाउभाउका आधारमा प्रत्यक्ष कुराकानी गर्न सक्ने

काठमाडौं। अब च्याटजीपीटीमा प्रत्यक्ष भिडिओ च्याट गरेर संवाद गर्न सकिने भएको छ। ओपनएआईले आफ्नो प्ल्याटफर्ममा क्यामेराको प्रयोग गर्ने क्षमता थप्न लागेको हो। यो सुविधा सुरू भएपछि च्याटजीपीटीको मोबाइल एपले तपाईंको स्क्रिन र क्यामेरा प्रयोग गर्न सक्षम हुनेछ। यसले प्रयोगकर्तालाई बारम्बार फोटो अपलोड गर्नुपर्ने झन्झटबाट छुटकारा दिलाउनेछ।


कुराकानीको क्रममा स्क्रिन शेयर गरेपछि च्याटजीपीटीले देखिएको छविलाई आधार बनाएर संवाद अघि बढाउनेछ। थप रूपमा, एड्भान्स्ड भ्वाइस मोडको प्रयोग गरी भिडियोमार्फत संवाद गर्न पनि सकिनेछ। यस फिचरले प्रयोगकर्ताको हाउभाउ र अनुहारको अभिव्यक्तिलाई पनि आधार बनाएर जवाफ दिनेछ।

गत सेप्टेम्बरमा, महिनौं परीक्षणपछि, ओपनएआईले एड्भान्स्ड भ्वाइस मोड सार्वजनिक गरेको थियो। यस फिचरमार्फत, प्रयोगकर्ताले बोलेरै च्याटजीपीटीसँग संवाद गर्न सक्थे। मानवीय शैलीमा कुराकानी गर्ने, बीचमा आउने अवरोध पत्ता लगाउने, र त्यसलाई आधार बनाएर प्रतिक्रिया दिने क्षमता यसमा समावेश गरिएको थियो।

यसबाहेक, गत मे महिनामा ओपनएआईले प्रत्यक्ष भिडिओ मोडको अवधारणा प्रस्तुत गरेको थियो। उक्त अवधारणामा क्यामेरा कसरी प्रयोग गर्न सकिन्छ भन्ने डेमो देखाइएको थियो। अन्ततः सात महिनापछि कम्पनीले यो फिचर सार्वजनिक गर्न लागेको हो।

यो सुविधा सक्रिय भएपछि, प्रयोगकर्ताले भ्वाइस मोड आइकनको प्रयोग गरी भिडियो र स्क्रिन शेयर गर्ने विकल्प छान्न सक्नेछन्। प्रयोगकर्ताले रोजेको विकल्पअनुसार च्याटजीपीटीसँग अन्तरक्रिया अघि बढ्नेछ।

सुरुवाती चरणमा, यो फिचर केवल च्याटजीपीटी प्लस, प्रो, र टिम्स प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। इन्टरप्राइज र शैक्षिक प्रयोगकर्ताले भने यसलाई जनवरीदेखि मात्रै उपयोग गर्न सक्नेछन्।

तर, यो फिचरसँगै गोपनीयतासम्बन्धी चिन्ताहरू पनि देखा परेका छन्। विशेषगरी स्क्रिन शेयर गर्दा संवेदनशील दस्तावेजहरू च्याटजीपीटीले सङ्कलन गर्न सक्ने सम्भावनाबारे विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।