पोखरालाई हराउँदै सुदुरपश्चिमको क्वालिफायर यात्रा सुनिश्चित
- नेटिजन संवाददाता
- आइतबार, ३० मङ्सिर, २०८१- १६:३९:००/ Sunday 12-15-24
काठमाडौं। स्कट कुग्गेलिजनको उत्कृष्ट बलिङ प्रदर्शनले सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ। १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा ९ विकेट गुमाउँदै १४८ रनमै रोकियो। यो जितसँगै सुदूरले ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ भने पोखराले सात खेलबाट ६ अंकसहित प्रतियोगिता समाप्त गरेको छ।
पोखराले पावर प्लेमा नै दिनेश खरेल, कप्तान कुशल भुर्तेल र दिलिप नाथलाई गुमाउँदै कमजोर सुरुआत गरेको थियो। आन्द्रेस गौउस (३६) र रेइफर (३३) ले राम्रो प्रयास गरे पनि अन्य ब्याटरले प्रभाव पार्न सकेनन्। सुदूरका स्कट कुग्गेलिजनले ३.४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए, जसले पोखरालाई दबाबमा राख्यो।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको सुदूरले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। आरिफ शेखले ४२ रनको महत्वपूर्ण योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले २० रन बनाए। पोखराका बलर कुशल भुर्तेलले दुई विकेट लिँदै सुदूरको स्कोर नियन्त्रणमा राखे।
अंक तालिकामा सुदूर र जनकपुर १० अंकसहित शीर्ष दुई स्थानमा छन्। चितवन, कर्णाली, र काठमाडौं समान ८ अंकसहित प्रतिस्पर्धामा छन्। शीर्ष दुई टोलीले क्वालिफायर १ खेल्नेछन् भने तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन्।