• बिहीबार, ११ पौष, २०८१
  • ०८:०३:४७

सिद्ध बाबा सुरुङ मार्ग : ३ वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न

काठमाण्डाै । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ३ वटै बाइपास छिचोलिएका छन् । यसअघि गएको भदौ २६ गते बाइपास सुरुङ तीनको, असोजको ४ गते बाइपास सुरुङ एकको र अस्ति सुरुङ दुईको बाइपास छिचोलिएको आयोजनाले जनाएको छ ।


पहिलो बाइपास माथिल्लो सिद्ध बाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी रहेको छ । दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङ मार्ग बनिरहेको छ । यो सुरुङ मार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम सुरु गरेको हो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा सुरुङ मार्गको ठेक्का लिएको छ । अहिले दैनिक डेढ सयदेखि दुई सय जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ । योजनाअन्तर्गत बुटवलतर्फको चिडिया खोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ । मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक बनाउन सुरु गरिने छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङमार्ग बनिरहरेको छ । सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत र वित्तीय प्रगति ३२.२ प्रतिशत रहेको छ । आयोजनाका अनुसार झन्डै एक किलोमिटर मुख्य सुरुङ खनेर सकिएको छ । अब ९० मिटर खनेपछि मुख्य सुरुङ छिचोलिनेछ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । २०८३ सालको चैतमा सुरुङमार्गको काम सकिने आयोजनाले जनाएको छ ।