• बिहीबार, ११ पौष, २०८१
  • ०८:१७:४९

एनसेल फाउन्डेसनले एनपीएलका ६५३ चौका वापत २,६०० + शैक्षिक सामग्री वितरण गर्दै

काठमाडौं । क्रिकेटको रोमाञ्चकतालाई कक्षाकोठासम्म पुर्‍याउने यो अभिनव परियोजनाले शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। यसले विद्यार्थीहरूको अध्ययनमा सुधार ल्याउने र उनीहरूको उज्ज्वल भविष्यको लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। विद्यार्थीहरूका लागि प्रदान गरिने किटमा स्कुल झोला, कापी, कलम, इरेजर, कटरलगायतका आवश्यक स्टेसनरी सामग्रीहरू समावेश गरिनेछ। यो पहलले विद्यार्थीहरूलाई स्रोतको अभावबाट मुक्त गर्दै शिक्षामा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।


एनपीएलको यो सिजनमा सबैभन्दा धेरै चौका प्रहार गर्ने खेलाडी जनकपुर बोल्ट्सका लाहिरु मिलन्था हुन्। उनले कुल ३५ चौका प्रहार गरी १४० शैक्षिक सामग्री वितरण गर्न सहयोग पुर्‍याएका छन्। यस्तै, पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका प्रहार गरी १२० शैक्षिक सामग्री सुनिश्चित गरेका छन्। लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले २६ चौकाको योगदानबाट १०४ शैक्षिक सामग्री वितरण हुनेछन्।

यसैगरी, चितवन राइनोजका रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सेफ अलि जेबले समान रूपमा २४ चौका प्रहार गरी कुल १९२ शैक्षिक सामग्री उपलब्ध गराउने सुनिश्चित गरेका छन्।

“क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व दुबै पक्षबाट यो एनपीएल निकै प्रभावकारी रह्यो। खेललाई सामाजिक सेवासँग जोड्दै स्रोत अभाव भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउन पाउँदा हामी निकै खुसी छौँ। यो पहल सफल बनाउन सहयोग पुर्‍याउने क्रिकेट एसोसिएसन नेपाल (क्यान) र सबै खेलाडीहरूलाई धन्यवाद दिन चाहन्छौँ। शैक्षिक सामग्री वितरणका लागि हामी क्यान र सम्बन्धित टिमहरूसँग मिलेर अगाडि बढ्नेछौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले बताइन्।

क्रिकेट नेपाली समुदायसँग गहिरो रूपमा जोडिएको खेल भएकाले यो पहलले खेलमा थप आकर्षण र उत्साह प्रदान गरेको थियो। साथै, यो परियोजनाले सहयोग आवश्यक परेका विद्यार्थीहरूसम्म आवश्यक सामग्री पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। एनसेलले यी शैक्षिक सामग्रीहरू लक्षित सामुदायिक विद्यालयसम्म पुर्‍याउन कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।