• बिहीबार, ११ पौष, २०८१
  • ०८:४१:०८

विशाल उल्कापिण्ड पृथ्वी नजिकै आउंदै।

काठमाडौं। पृथ्वीको छेउछाउबाट जाने उल्कापिण्डहरूले सधैं मानिसहरूलाई आकर्षित र चिन्तित बनाउने गरेका छन्। अन्तरिक्षीय चट्टानहरू प्रायः कुनै क्षति नगरी पृथ्वीनजिकैबाट यात्रा गर्ने गर्दछन्। तर, कहिलेकाहीँ तिनको आकार र दूरी भयावह देखिन्छ। यसै साता अमेरिकी अन्तरिक्ष संस्था नासाले पाँचवटा उल्कापिण्ड पृथ्वीनजिकैबाट जाने जानकारी दिएको छ।


यीमध्ये एक उल्कापिण्ड आज बेलुकी ५:४५ बजे (नेपाली समय) पृथ्वीनजिकैबाट जानेछ। १२० फिट लामो यो उल्कापिण्ड पृथ्वीबाट करिब ७२ लाख २० हजार किलोमिटर माथिबाट यात्रा गर्नेछ।

यस्तै, बस बराबरको आकारको ४१ फिट लामो अर्को उल्कापिण्ड, जसलाई ‘२०२४ आईपी’ नाम दिइएको छ, २५ डिसेम्बरमा पृथ्वीनजिकै देखिनेछ।

अर्कोतर्फ, ९५ फिट लम्बाइ भएको ‘२०२४ वाईएच’ नामक उल्कापिण्ड पनि पृथ्वीनजिकैबाट यात्रा गर्नेछ। यद्यपि, यसले पृथ्वीमा कुनै क्षति पुर्‍याउने छैन।

नासाका अनुसार २०२४ वाईएच नामक यो उल्कापिण्ड हवाइजहाज जत्रो आकारको छ। यो ३७ हजार ५१६ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्दै पृथ्वीसँग करिब ३६ लाख ६० हजार किलोमिटरको सुरक्षित दूरीमा पुग्नेछ। यसको पृथ्वीनजिकको बिन्दु २०२४ डिसेम्बर २६ को साँझ ७:१९ बजे (नेपाली समय) हुनेछ।

यस उल्कापिण्डलाई नासाले ‘सम्भावित खतरनाक’ उल्कापिण्डको श्रेणीमा राखेको छैन। नासाका मापदण्ड अनुसार, १५० मिटरभन्दा ठूला र ७४ लाख किलोमिटरभित्र प्रवेश गर्ने उल्कापिण्डहरूलाई मात्र सम्भावित खतरनाक मानिन्छ। यसरी २०२४ वाईएचले कुनै खतराको सम्भावना नरहेको पुष्टि गरिएको छ।

नासाले पृथ्वीनजिकका वस्तुहरू (Near-Earth Objects - NEOs) नियमित रूपमा अनुगमन गर्दै आइरहेको छ। पान-स्टार्स (Pan-STARRS) र क्याटालिना स्काई सर्भे (Catalina Sky Survey) जस्ता अन्य वेधशालाहरूले पनि यस्ता चट्टानहरूको पहिचान गर्दै मानव ज्ञानलाई विस्तार गरिरहेका छन्। जेट प्रोपल्सन ल्याब (जेपीएल) को गोल्डस्टोन सोलार सिस्टम राडार र नियो सर्भेयर (NEO Surveyor) जस्ता परियोजनाहरूले पृथ्वीसँग सम्बन्धित खतरा पहिचान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

यसैगरी, २७ डिसेम्बरमा २० फिटको ‘२०१७ वाईडी टु’ नामक उल्कापिण्ड पृथ्वीबाट ६९ लाख किलोमिटर माथिबाट जानेछ भने २८ डिसेम्बरमा १७० फिट लम्बाइको ‘२०२४ वाईसी वन’ नामक उल्कापिण्ड ५९ लाख ६० हजार किलोमिटर माथिबाट गुड्नेछ।