भारतलाई हराउँदै अस्ट्रेलिया फाइनल नजिक
- नेटिजन संवाददाता
- सोमबार, १५ पौष, २०८१- १३:२७:००/ Monday 12-30-24
एजेन्सी ।अस्ट्रेलियाले भारतलाई चौथो टेस्ट खेलमा पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ।
मेलबर्न क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हरायो। यो जितसँगै पाँच खेलको टेस्ट सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता बनाएको छ। अन्तिम टेस्ट खेल शुक्रबारदेखि सिड्नीमा हुनेछ, जहाँ जित हासिल गरेमा अस्ट्रेलिया च्याम्पियनसिपको फाइनलमा स्थान बनाउनेछ।
अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याएको भारत १५५ रनमै समेटियो। यसश्वी जैसवालले ८४ रन बनाएर सर्वाधिक योगदान गरे। उनले २ सय ८ बल खेलेर ८ चौका हाने। भारतले ११२ रनमा ३ विकेटको अवस्थामा राम्रो देखिएको भए पनि त्यसपछि थप ४३ रनमै बाँकी सात विकेट गुमायो।
ऋषभ पन्तले ३० रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्। अस्ट्रेलियाका लागि प्याट कमिंस र स्कट बोल्याण्डले समान ३ विकेट लिए भने नाथन लायनले २ विकेट झारे।
अस्ट्रेलियाको दोस्रो इनिङमा मार्नस लाबुस्छेनले ७० रन बनाए। टोलीका अन्य मुख्य ब्याटरहरूले ठूलो योगदान दिन सकेनन्। प्याट कमिंसले ४१ र उस्मान ख्वाजाले २१ रन बनाए।
भारतका बलर जसप्रित बुमराहले ५ र मोहम्मद सिराजले ३ विकेट लिए।
भारतले पहिलो इनिङमा ३७९ रन बनाएको थियो। नितिश कुमार रेड्डीले ११४ रनको उत्कृष्ट इनिङ खेले। वासिंगटन सुन्दर र रेड्डीले आठौं विकेटका लागि १२७ रनको साझेदारी गरे।
अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रन बनाएको थियो, जहाँ स्टिभ स्मिथले १४० रन बनाए।
पहिलो टेस्ट भारतले २९५ रनले जितेको थियो, दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जित्यो, र तेस्रो टेस्ट बराबरीमा टुंगिएको थियो।
पाँचौं तथा अन्तिम टेस्ट सिड्नीमा हुनेछ।