• आइतबार, २१ पौष, २०८१
  • ०३:२३:०४

यी टिकटकरले किन गुमाए लाखौं फलोअर?

काठमाडौं। १९ वर्षीय एक युवा, जसले आफूलाई ‘भेक्सबोल्ट्स’ भन्छन्, सामाजिक सञ्जालमा छोटो समयमै अत्यधिक चर्चामा आए। उनले दुई दिनमै ७० लाखभन्दा बढी फलोअर बटुलेका थिए। तर, यो सफलता लामो समय टिक्न सकेन।

नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा उनलाई अनफलो गर्ने अभियान चलेको थियो। यो अभियानलाई ‘भेक्सबोल्ट्स मास अनफलो डिसेम्बर ३१’ नाम दिइएको थियो।


कसरी सुरु भयो अनफलो अभियान?

भेक्सबोल्ट्स अनलाइन कन्टेन्ट क्रियटर हुन्। उनी फोर्टनाइट गेमका क्लिप भाइरल भएपछि टिकटकमा चर्चामा आए। टिकटकमा तीन वर्षमा १५ लाख फलोअर पाएका उनी डिसेम्बरको अन्त्यतिर एक्कासि चर्चामा आए।

डिसेम्बरको मध्यतिर उनका फलोअर १५ लाखजति थिए। केही दिनमै यो संख्या ८५ लाख पुगेको थियो। तर, ३१ डिसेम्बरमा सुरु भएको अनफलो अभियानले दुई दिनभित्रै उनले ७० लाख फलोअर गुमाए।

यो ट्रेन्ड सुरुमा रमाइलो ठट्टा मानिए पनि पछि व्यापक चर्चा पाउन पुग्यो। सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘भेक्सबोल्ट्स मास अनफलो डिसेम्बर ३१’ भन्ने वाक्य कमेन्ट गर्न थालेका थिए।

यो अभियानका लागि विशेष कारण स्पष्ट नभए पनि कतिपयले उनको कन्टेन्टलाई ‘लाजमर्दो’ भनेका छन् भने अरुले यसलाई सामान्य रमाइलो ठानेका छन्। कतिपयले उनलाई २०२५ मा ‘सान्दर्भिक क्रियटर’ बनाउन यस्तो अभियान चलाएको बताएका छन्।

भेक्सबोल्ट्सले यो ट्रेन्डलाई सहज रूपमा अँगालेका थिए र फलोअरको संख्या बढेकोमा भिडियोसमेत पोस्ट गरेका थिए।

भेक्सबोल्ट्सका फलोअरको संख्या अहिले २९ लाखजति रहेको छ। यो संख्या अझै घट्दै जाने अनुमान गरिएको छ। अभियानले उनीबारे विभिन्न टिप्पणी र छलफलको वातावरण बनाएको छ।