सरकारको नागरिक एपमा सजिलै पिनकोड बाइपास हुने समस्या
- नेटिजन संवाददाता
- बिहीबार, १८ पौष, २०८१- १५:१३:००/ Thursday 01-02-25
काठमाडौं । सरकारी सुविधा एकीकृत गरी प्रदान गर्नका लागि विकास गरिएको नागरिक एपमा पिनकोड बाइपास हुने समस्या देखिएको छ। सुरक्षाका लागि राखिएको यो फिचरले अपेक्षित रूपमा काम नगर्ने र गलत पिन राख्दा समेत एप खुल्ने समस्या देखिएको छ।
नागरिक एपभित्र प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा पिनकोड सेट गर्नसक्ने सुविधा छ। यो पिनकोडले एपमा पहुँच सुरक्षित राख्ने उद्देश्य राखिएको छ। सामान्यतया, पिनकोड बिना एप खोल्न नसकिने भनिए पनि हालको कमजोरीका कारण, पिन सेट नगरेका अवस्थामा समेत एप खुल्ने समस्या देखिएको छ।
प्रयोगकर्ताले गलत पिन राखेर अथवा पिन सेट नगरी एकपटक ब्याक बटन थिच्दा एप स्वतः खुल्ने अवस्था सिर्जना भएको छ। यो समस्याले मोबाइल बाहिरबाट त खासै खतरा नदेखिए पनि, मोबाइलमा मालवेयर भएको अवस्थामा वा मोबाइल अनधिकृत व्यक्तिको हातमा पुगेको खण्डमा एपभित्र रहेका व्यक्तिगत विवरण चुहावट हुने जोखिम निम्त्याउन सक्छ।
यस विषयमा नागरिक एपका विकासकर्ताहरूले यो समस्या सुरक्षामा ठूलो असर नगर्ने तर बगका कारण उत्पन्न भएको बताएका छन्। “यो समस्यालाई सुधार गर्नका लागि हामी समाधानको उपाय खोजिरहेका छौँ। सम्भवतः आगामी अपडेटमा यो समस्या समाधान हुनेछ,” विकास टोलीका एक सदस्यले जानकारी दिए।