• आइतबार, २१ पौष, २०८१
  • ०३:१८:३१

सिक्सजीको दौडमा चीनको ऐतिहासिक प्रगति

काठमाडौं । चीनले अन्तरिक्षदेखि जमिनसम्म तीव्र गतिको डेटा पठाउन नयाँ प्रविधि सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ। यो प्रविधिलाई चीनले आउँदै गरेको छैटौँ पुस्ताको वायरलेस सञ्चार प्रणाली अर्थात् सिक्सजीको विकासका लागि महत्त्वपूर्ण फड्कोका रूपमा हेरिरहेको छ।


चिनियाँ स्याटलाइट निर्माता ‘चाङ गुआङ स्याटलाइट टेक्नोलोजी’ ले आफ्नो जिलिन-१ स्याटलाइट समूहको एउटा युनिटबाट जमिनमा रहेको एक ट्रकमा राखिएको मोबाइल ग्राउण्ड स्टेसनमा प्रति सेकेन्ड १०० गिगाबिटको दरमा डेटा ट्रान्सफर गरेको जनाएको छ। यो गति कम्पनीको अघिल्लो उपलब्धिबाट १० गुणा बढी भएको बताइएको छ।

कसरी काम गर्छ यो प्रविधि?
अन्तरिक्षबाट जमिनमा डेटा पठाउन स्याटलाइटले ‘लेजर कम्युनिकेसन टर्मिनल’ प्रयोग गर्छ। यस टर्मिनलले प्रकाशको माध्यमबाट सूचनाहरूलाई लेजरको रूपमा पठाउँछ। जमिनमा रहेको विशेष ग्राउण्ड स्टेसनले यसलाई पुनः डेटा अर्थात् जानकारीमा रूपान्तरण गर्छ।

प्रविधि परीक्षणका प्रमुख वाङ हाङहाङले यो उपलब्धिलाई ऐतिहासिक भन्दै, चीनले यो क्षेत्रमा अग्रता लिन सफल भएको बताए। उनले भने, “स्पेसएक्सको स्टारलिंकले स्याटलाइटहरूबीच लेजर संचार प्रणाली त बनाएको छ, तर जमिनसम्म डेटा पठाउने प्रविधिमा भने हामी अगाडि छौँ। यो प्रविधिले हामीलाई सिक्सजीको भविष्य निर्माणमा अग्रस्थानमा पुर्‍याउनेछ।”

परिवर्तनीय र चलायमान प्रणाली
चिनियाँ टोलीले विकास गरेको यो प्रणालीको विशेषता भनेको यसको हल्कोपन र चलायमान क्षमता हो। वाङका अनुसार यो प्रणालीको पेलोड मात्र २० किलोको छ, जसलाई सामान्य ट्रकमा राखेर विभिन्न स्थानमा सजिलै लैजान सकिन्छ। अन्य प्रणालीहरू ठूलो र स्थिर संरचनामा आधारित हुने भएकाले यो प्रणालीलाई सजिलै सारेर विभिन्न स्थानमा प्रयोग गर्न सकिने सुविधा छ।

उनले थपे, “यो सिस्टमलाई कुनै ठूलो भवनमा स्थायी रूपमा राख्नु आवश्यक छैन। जहाँ आवश्यकता पर्छ, ट्रकमा राखेर तुरुन्त सञ्चालन गर्न सकिन्छ।”

सिक्सजीका लागि महत्त्वपूर्ण उपलब्धि
यो प्रविधिको विकासले सिक्सजीका लागि आधार तयार पार्ने विश्वास गरिएको छ। वाङले दिएको जानकारीअनुसार प्रति सेकेन्ड १०० जीबीपीएसको डेटा ट्रान्सफर गति भएको यो प्रणालीले एकैपटक १० भन्दा बढी उच्च गुणस्तरका चलचित्रहरू पठाउन सक्षम छ। उनले यो प्रविधिलाई एउटा लेनको सामान्य सडकलाई हजारौँ लेन भएको राजमार्गमा बदलिएको अवस्थामा तुलना गरे।

सिक्सजीले भविष्यमा स्मार्ट सिटी, स्वचालित गाडी, र उच्च क्षमताको डेटा संचारमा ठूलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ। हाल विश्वभरका विभिन्न देशहरूले सिक्सजी प्रविधिमा अनुसन्धान र विकास गरिरहेका छन्।

यसअघि अमेरिकाको म्यासेच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र नासाले पनि उच्च गतिको लेजर संचार प्रणाली परीक्षण गरेका थिए। तर, चिनियाँ टोलीको दाबीअनुसार उनीहरूको सिस्टम तुलनात्मक रूपमा हल्का, प्रभावकारी र उपयोगमा सजिलो छ।


चीनको यो प्रगति भविष्यमा सिक्सजीको विकासका लागि नयाँ दिशामा टेवा पुग्ने विश्वास गरिएको छ। यदि सबै स्याटलाइटहरू योजना अनुसार सन् २०२७ सम्ममा तैनाथ भएमा, चीनले विश्वकै सबैभन्दा तीव्र र व्यापक संचार नेटवर्क तयार पार्न सक्ने सम्भावना प्रबल देखिन्छ।