स्पाम ईमेलबाट जोगिन अपनाउनुहोस् यी सजिला उपायहरू
- नेटिजन संवाददाता
- आइतबार, २१ पौष, २०८१- १२:४९:००/ Sunday 01-05-25
काठमाडौं । हरेक वर्ष डिसेम्बर महिनामा स्पाम र ठगीसम्बन्धी ईमेलहरू उल्लेख्य रूपमा बढ्छन्। नयाँ वर्ष र क्रिसमसजस्ता चाडपर्वको अवसरलाई निशाना बनाउँदै ठगहरू उपहारका नाममा प्रलोभन देखाएर प्रयोगकर्ताको व्यक्तिगत जानकारी लुट्ने प्रयास गर्छन्।
यस समस्याबाट जोगिन गुगलले आफ्नो जिमेल प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर स्पाम गतिविधि पहिचान गरी हटाउने काम गरिरहेको छ। गुगलका अनुसार, जिमेलले ९९.९% स्पाम ईमेलहरू फिल्टर गर्न सफल भएको दाबी गरिएको छ। यद्यपि केही ठगीसम्बन्धी ईमेलहरू सुरक्षा फिल्टरलाई पार गर्दै इनबक्समा पुग्न सक्छन्। त्यसैले यस्ता ईमेलहरूबाट जोगिन गुगलले निम्न उपायहरू अपनाउन सुझाव दिएको छ:
१. हतारमा निर्णय नगर्नुहोस्
ठगहरूले आफ्नो योजना सफल बनाउन प्रयोगकर्तालाई तुरुन्तै लिङ्क क्लिक गर्न वा आवश्यक विवरण उपलब्ध गराउन दवाब दिन्छन्। त्यसैले यस्ता ईमेलहरूमा प्रतिक्रिया दिनुअघि सोच्न आवश्यक छ। विशेषगरी “अर्जेन्ट”, “डिएक्टिभेट”, “अनअथोराइज” जस्ता शब्दहरूसहित आउने ईमेलहरूप्रति सजग रहनुहोस्। ईमेल पाउनु भयो भने तुरुन्तै निर्णय गर्नुभन्दा पहिले आफैंलाई सोध्नुहोस्
के यो ईमेल वास्तवमै मसँग सम्बन्धित छ?
किन मलाई तत्कालै प्रतिक्रिया दिन भनिएको हो?
यस ईमेलले किन डर सिर्जना गरिरहेको छ?
यदि जवाफ पाउन गाह्रो भयो भने तपाईंले विश्वास गर्ने व्यक्तिसँग परामर्श लिन सक्नुहुन्छ।
२. ईमेलको विवरण जाँच्नुहोस्
स्पाम ईमेलबाट जोगिन पठाउने व्यक्तिको ठेगाना, ईमेलको भाषा र लेआउट राम्रोसँग जाँच गर्नु महत्वपूर्ण हुन्छ।
पठाउने ईमेल ठेगाना प्रामाणिक देखिन्छ कि?
ईमेलको भाषा तथा स्वरूप अस्वाभाविक छ कि?
के मेसेजले स्पष्ट अर्थ दिन्छ?
यदि यी प्रश्नहरूको जवाफ शंकास्पद लाग्यो भने इन्टरनेटमा ईमेल सर्च गर्नुहोस्। आवश्यक भएमा एआई टुलको प्रयोग गरेर पनि ईमेलको प्रामाणिकता पुष्टि गर्न सकिन्छ।
३. तुरुन्तै भुक्तानीको मागप्रति सचेत हुनुहोस्
कुनै पनि आधिकारिक कम्पनी वा व्यक्ति तपाईंलाई तत्काल भुक्तानी गर्न दबाब दिँदैन। यदि ईमेलमा तुरुन्तै पैसा पठाउन भनिएको छ भने त्यो ठगीको संकेत हुन सक्छ। आधिकारिक संस्थाहरूले सधैं निश्चित प्रक्रिया पछ्याउँछन् र तत्काल भुक्तानीको माग गर्दैनन्। त्यसैले यस्ता ईमेलहरूबाट सचेत रहनु आवश्यक छ।
४. शंकास्पद ईमेल रिपोर्ट गर्नुहोस्
इनबक्समा देखिने शंकास्पद ईमेलहरूलाई तुरुन्तै स्पामको रूपमा रिपोर्ट गर्नुपर्छ। त्यसका लागि ‘Report Spam’ बटनमा क्लिक गर्न सकिन्छ।
यो प्रक्रियाले गुगलका सुरक्षा प्रणालीलाई सुधार गर्छ र भविष्यमा यस्तै प्रकारका ईमेलहरू इनबक्समा पुग्न नदिन मद्दत पुर्याउँछ। साथै, यसले अन्य प्रयोगकर्ताहरूलाई पनि यस्ता ईमेलबाट सुरक्षित रहन सघाउँछ।
५. इन्टरनेट ब्राउज गर्दा सचेत रहनुहोस्
ईमेल मात्र नभई अन्य माध्यमबाट पनि साइबर आक्रमण हुन सक्छ। त्यसैले इन्टरनेट ब्राउज गर्दा नक्कली क्याप्चा पेज, असुरक्षित वेबसाइटहरू र ठगीका प्रयासहरूबाट सजग रहनु आवश्यक छ।
स्पाम र ठगी ईमेलहरूबाट बच्न समयमै सजगता अपनाउनु आवश्यक छ। जिमेलको एआईले धेरै स्पाम ईमेलहरू रोक्ने काम गरिरहे पनि केही ईमेलहरू फिल्टर पार गरेर आउने भएकाले प्रयोगकर्ताले सचेत भईमात्र प्रतिक्रिया जनाउनुपर्छ। ऊपरका उपायहरू अपनाएमा तपाईंलाई अनावश्यक ईमेलबाट सुरक्षित रहन मद्दत पुग्छ।