सरकारी १० वेबसाइट ह्याक, साइबर सुरक्षामा गम्भीर चुनौती
- नेटिजन संवाददाता
- आइतबार, २१ पौष, २०८१- १३:२२:००/ Sunday 01-05-25
काठमाडौं । सरकारी निकायका १० वटा वेबसाइट ह्याक भएको तथ्य सार्वजनिक भएको छ, जसले नेपालमा साइबर सुरक्षाको अवस्थाबारे गम्भीर चिन्ता उत्पन्न गराएको छ। ह्याक भएका अधिकांश वेबसाइट कर्णाली प्रदेशका विभिन्न सरकारी कार्यालयका हुन्।
साइबर सुरक्षा अनुसन्धानकर्ता रोदन महर्जनले आफ्नो लिङ्क्डइन पोस्टमार्फत यस घटनाबारे जानकारी गराउँदै नेपालका सरकारी वेबसाइटहरू ह्याक भएको पुष्टि गरेका हुन्। उनका अनुसार ‘वाईएनआर’ (YNR) नामक ह्याकर समूहले ती वेबसाइटहरू ह्याक गरेको हो।
महर्जनले आफ्नो पोस्टमा लेखेका छन्, “तपाईंको व्यक्तिगत पहिचानयोग्य जानकारी कत्तिको सुरक्षित छ? नेपालमा हालै सरकारी वेबसाइटहरूमा ह्याकिङ (defacement) हुने घटनामा वाईएनआर समूह संलग्न देखिएको छ।”
ह्याक भएका वेबसाइटहरूमा ह्याकरको टोलीले आफ्नो चिन्ह (लोगो) र ह्याक सम्बन्धी सन्देश राखेको देखिएको छ। केही वेबसाइटमा ह्याकरले राखेको सामग्री हटाइसकिएको भए पनि अधिकांश वेबसाइटमा अझै पनि त्यस्तै सामग्री रहेको महर्जनले जनाएका छन्।
ह्याकरको कब्जामा परेका सरकारी वेबसाइटहरूको सूची :
१) भू तथा जलाधार व्यवस्थापन कार्यालय
२) सामाजिक विकास कार्यालय, कालिकोट
३) परियोजना कार्यान्वयन एकाइ, गमगढी, मुगु
४) मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन ओत केन्द्र, भैरहवा, रूपन्देही
५) पीडीएफ कर्णाली
६) बृहत् दाङ उपत्यका सिँचाइ आयोजना
७) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज, बाँके
८) प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र, हेटौंडा
९) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
१०) पशु सेवा तालिम केन्द्र, नेपालगन्ज
केही दिन अघि मात्र नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट ह्याक भएको घटना सार्वजनिक भएको थियो। बारम्बार सरकारी वेबसाइटहरूमा यस्ता किसिमका साइबर आक्रमण हुन थालेपछि नेपालमा साइबर सुरक्षामा थप लगानी र दक्ष जनशक्ति विकासको खाँचो देखिएको छ।
साइबर विशेषज्ञहरूका अनुसार यस्ता आक्रमणहरूबाट बच्नका लागि आधुनिक सुरक्षा प्रणालीको प्रयोग गर्न, नियमित रूपमा वेबसाइटको सुरक्षा परीक्षण गराउन र डिजिटल पूर्वाधारमा पर्याप्त ध्यान दिन आवश्यक छ।
सरकारले हालसम्म यस घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, यस्ता घटनाहरूबाट संवेदनशील डाटाहरू चुहिन सक्ने सम्भावना हुने भएकाले तत्काल उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ।