एआई च्याटबटसँग कुरा गर्दा ध्यान दिनुपर्ने कुरा, अन्यथा जोखिममा पर्न सक्नुहुन्छ
- नेटिजन संवाददाता
- आइतबार, २१ पौष, २०८१- १२:०६:००/ Sunday 01-05-25
काठमाडौं। पछिल्लो समय मानिसहरूले आफ्नो काम सजिलो बनाउन विभिन्न एआई च्याटबटहरू जस्तै च्याटजीपीटी, जेमिनाई, कोपाइलट आदिको प्रयोग बढाएका छन्। यी उपकरणले सूचना खोज्न, समस्याको समाधान गर्न र विभिन्न सुझाव लिन सहज बनाएका छन्। तर, यस्ता च्याटबटसँग कुरा गर्दा केही महत्वपूर्ण सावधानी अपनाउन आवश्यक छ, अन्यथा तपाईं जोखिममा पर्न सक्नुहुन्छ।
विशेषगरी, संवेदनशील र व्यक्तिगत जानकारी च्याटबटसँग शेयर गर्दा निकै सतर्क रहनुपर्ने हुन्छ। यस्ता उपकरणले जानकारी सुरक्षित राख्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन। कतिपय अवस्थामा च्याटबटले संवेदनशील प्रश्नहरूको जवाफ दिन सक्छ, जसले गोपनीयताको समस्या उत्पन्न गराउन सक्छ। त्यसैले, व्यक्तिगत र गोप्य जानकारी शेयर नगर्नु नै उपयुक्त हुन्छ।
यी जानकारीहरू कहिल्यै शेयर नगर्नुहोस्
१. व्यक्तिगत विवरण:
तपाईंको नाम, ठेगाना, फोन नम्बर, इमेल ठेगाना, वा जन्ममिति जस्ता व्यक्तिगत जानकारी च्याटबटलाई कहिल्यै नदिनुहोस्। यस्ता विवरण दुरुपयोग भएर तपाईंको व्यक्तिगत जीवनमा अनावश्यक समस्या सिर्जना हुन सक्छ।
२. आर्थिक विवरण:
आफ्नो बैंक खाता नम्बर, क्रेडिट कार्डको जानकारी वा कुनै पनि आर्थिक विवरण च्याटबटमा नबाँड्नुहोस्। एआई च्याटबटहरूमा वित्तीय सुरक्षा नभएकाले यस्ता जानकारी गलत व्यक्तिको हातमा परे ठूलो आर्थिक क्षति हुन सक्छ।
३. गोप्य र संवेदनशील कुरा:
तपाईंको व्यक्तिगत गोपनीयता सम्बन्धी कुनै पनि कुरा च्याटबटमा राख्न उपयुक्त हुँदैन। च्याटबटले गर्दा ती कुरा अरूको पहुँचमा पुग्न सक्छन्। त्यसैले, आफूलाई गोप्य राख्न चाहेका विषयमा यस्तो टुल प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ।
स्वास्थ्यसम्बन्धी सल्लाह नलिनुहोस्
स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधानका लागि एआई च्याटबटमा निर्भर हुनु जोखिमपूर्ण हुन सक्छ। किनकि एआईले डाक्टरको भूमिकामा काम गर्न सक्दैन। गलत सल्लाहका कारण स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ। त्यसैगरी, बीमासम्बन्धी जानकारी वा मेडिकल रेकर्डजस्ता संवेदनशील विवरणहरू पनि यस्तो प्लेटफर्ममा उल्लेख गर्नु हुँदैन।
अश्लील वा आपत्तिजनक सामग्री नराख्नुहोस्
एआई च्याटबटहरूले सामान्यतया अश्लील तथा आपत्तिजनक सामग्रीलाई फिल्टर गर्छन्। तर, यदि तपाईंले यस्ता कुरा बारम्बार खोज्नुभयो भने प्रतिबन्धमा पर्न सक्नुहुन्छ। साथै, इन्टरनेटमा रहेका कुनै पनि कुरा स्थायी रूपमा सुरक्षित हुँदैनन्।
च्याटबट प्रयोग गर्दा गोपनीयता कसरी सुरक्षित राख्ने?
१. अकाउन्ट नखोली प्रयोग गर्ने:
अधिकांश एआई टुलहरू अकाउन्ट नखोलिकनै प्रयोग गर्न सकिन्छ। यसो गर्दा व्यक्तिगत विवरण कम संकलन हुन्छ।
२. अकाउन्ट खोले पनि सावधानी अपनाउने:
यदि अकाउन्ट खोलेरै प्रयोग गर्नुपरेको छ भने गोपनीयता सुरक्षित राख्न सकिने उपायहरू अपनाउनुहोस्। उदाहरणका लागि, ‘साइन इन विथ गुगल’ वा ‘साइन इन विथ फेसबुक’ जस्ता विकल्पहरू प्रयोग नगर्नुहोस्।
३. अनावश्यक अनुमति बन्द गर्ने:
यदि फोनमा एआई एप प्रयोग गरिरहनु भएको छ भने एपले लिने अनुमति जस्तै लोकेसन, क्यामेरा, माइक्रोफोनको पहुँच बन्द गर्न सक्नुहुन्छ। यसले अनावश्यक डेटा शेयरिङ रोक्न मद्दत गर्छ।
गोपनीयता कायम राख्दै सुरक्षित रूपमा एआई च्याटबट प्रयोग गर्नाले तपाईंको डिजिटल जीवन सुरक्षित रहन्छ।