आज राति उल्का वर्षा हुने, नेपालबाट पनि प्रष्ट देखिने
- नेटिजन संवाददाता
- शुक्रबार, १९ पौष, २०८१- १३:३७:००/ Friday 01-03-25
काठमाडौं। आज राति पृथ्वीका आकाशमा अत्यधिक उल्का वर्षा देखिने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार एक सूचना जारी गर्दै सन् २०२५ को पहिलो उल्का वर्षा हुने कुरा बताएको हो।
यो उल्का वर्षा बुटिज तारामण्डलबाट सुरू हुने देखिने भएकाले यसलाई 'भूतप उल्का वर्षा' नाम दिइएको छ। १३ देखि २८ पुससम्म सक्रिय रहने यो उल्का वर्षा आज राति आफ्नो उच्चतम् बिन्दुमा पुग्नेछ।
प्रति घण्टा ५० देखि १२० ओटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ, जसले पृथ्वीको वायुमण्डलमा लगभग ७० किलोमिटर उचाइमा झिल्काजस्ता आगोको झलक दिनेछन्।
नासोका अनुसार, आज राति उल्का वर्षा हेर्नका लागि कुनै विशेष उपकरणको आवश्यकता छैन। प्रकाश प्रदूषण कम भएकाले यसलाई नाङ्गो आँखाले पनि सजिलै देख्न सकिन्छ।
उल्का वर्षा भनेको पृथ्वीको परिक्रमा गर्ने क्रममा अन्तरिक्षका धुलोका कण र चट्टानहरू वायुमण्डलमा प्रवेश गर्दा तीव्र गतिमा जल्नका कारण उत्पन्न हुने दृश्य हो। नेपाली भाषामा यसलाई प्रायः 'तारा खसेको' वा 'तारा पोइल गएको' भनेर चिनिन्छ।
यो असाधारण खगोलीय घटना खगोलशास्त्रमा रुचि राख्ने व्यक्तिहरूको लागि एक अविस्मरणीय अनुभव हुनेछ।