• मंगलबार, २३ पौष, २०८१
  • ०८:४१:५३

एन्ड्रोइड फोन वा ट्याब्लेटमा अनावश्यक विज्ञापनहरू यसरी ब्लक गर्नुहोस्

काठमाडौं – अनलाइनमा ब्राउजिङ गर्दा हामीले प्रायः थुप्रै विज्ञापनहरूको सामना गर्नुपर्छ। यस्ता विज्ञापनहरूले वेबसाइट र एप विकासकर्ताहरूलाई आम्दानी गर्न सहयोग पुर्‍याउँछन्, जसका कारण धेरैजसो सेवाहरू नि:शुल्क वा कम शुल्कमा उपलब्ध हुन्छन्। तर, जब विज्ञापनहरू अत्यधिक देखिन्छन्, त्यसले प्रयोगकर्ताको अनुभवमा नराम्रो प्रभाव पार्छ।

प्राय: सबैले अनुभव गरेका हुन्छन्, कहिले पप-अप विज्ञापनको ओइरोले ब्राउजर भरिन्छ भने कहिलेकाहीँ एप खोलेको बेला अचानक स्क्रिनभरि विज्ञापन देखिन्छ। यस्तो अवस्थामा, एन्ड्रोइड प्रयोगकर्ताले उपलब्ध विभिन्न विकल्पहरूको सहारा लिएर यी अनावश्यक विज्ञापनहरूलाई सीमित गर्न सक्छन्।


गुगल क्रोममा विज्ञापन रोक्ने सजिलो उपाय

यदि तपाईं गुगल क्रोममा ब्राउजिङ गर्दा पप-अप विज्ञापनबाट आजित हुनुहुन्छ भने, गुगलले नै यसको लागि बिल्ट-इन टुल उपलब्ध गराएको छ। यस्ता विज्ञापनलाई ब्लक गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

१. सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड डिभाइसमा गुगल क्रोम एप खोल्नुहोस्।
२. माथिल्लो दायाँ कुनामा रहेको तीन डट भएको मेनु थिचेर ‘Settings’ मा जानुहोस्।
३. ‘Site Settings’ मा स्क्रोल गर्दै जानुहोस् र त्यहाँ ‘Pop-ups and Redirects’ चयन गर्नुहोस्।
४. यो सेटिङ अन भएमा अफ गर्नुहोस्।
५. त्यसपछि फेरि ‘Site Settings’ पेजमा फर्केर ‘Intrusive Ads’ (डिस्टर्ब गर्ने विज्ञापन) अफ गर्नुहोस्।

यसरी गर्नाले तपाईंलाई पप-अप विज्ञापन र डिस्टर्ब गर्ने विज्ञापनहरूबाट मुक्ति मिल्नेछ। यद्यपि, क्रोममा एड-ब्लकिङ एक्सटेन्सन उपलब्ध नभएकाले यदि तपाईंलाई अझ प्रभावकारी एड-ब्लकिङको आवश्यकता छ भने फायरफक्स, ब्रेभ, वा सामसङ इन्टरनेट जस्ता ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ।

वेबसाइट नोटिफिकेसन कसरी व्यवस्थापन गर्ने?

केही वेबसाइटहरूले नोटिफिकेसन सुविधा सक्रिय गरेर अनावश्यक अलर्ट पठाउने गर्छन्, जसले तपाईंको ब्राउजिङ अनुभवलाई झन् झर्कलाग्दो बनाउँछ। यस्ता अनावश्यक नोटिफिकेसनलाई रोक्नका लागि तलका उपाय अपनाउनुहोस्:

१. आफ्नो फोनमा गुगल क्रोम एपको आइकन लामो समयसम्म थिच्नुहोस्।
२. त्यसपछि देखिने ‘i’ आइकनमा थिचेर एप इन्फोमा जानुहोस्।
३. ‘Notifications’ मा गएर अनुमति दिइएका साइटहरूको सूची नियाल्नुहोस्।
४. आवश्यक नभएका साइटहरूको नोटिफिकेसन बन्द गर्नुहोस्।
५. साथै, ‘Privacy’ सेटिङमा गएर ‘Ad Personalization’ अफ गर्नुहोस् ताकि तपाईंको ब्राउजिङ गतिविधिमा आधारित विज्ञापनहरू देखिन नपाऊन्।

होम स्क्रिनमा देखिने विज्ञापन कसरी हटाउने?

कहिलेकाहीँ केही एपहरूले ‘Display Over Other Apps’ अनुमतिलाई दुरुपयोग गरेर होम स्क्रिनमा विज्ञापन देखाउने गर्छन्। यस्तो अवस्थामा यस्ता एपहरूबाट मुक्ति पाउनका लागि तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ:

१. विज्ञापन देखाउने एपको आइकन थिचेर ‘App Info’ मा जानुहोस्।
२. त्यहाँबाट ‘Display Over Other Apps’ अनुमति अफ गर्नुहोस्।
३. यदि उक्त एप आवश्यक छैन भने, सोही पेजबाट ‘Uninstall’ गरेर हटाउन सक्नुहुन्छ।

डीएनएस सेवा प्रयोग गरेर विज्ञापन ब्लक गर्ने

यदि तपाईंले ब्राउजर र एपमा देखिने विज्ञापनहरूलाई पूरै ब्लक गर्न चाहनुहुन्छ भने, डीएनएस सेवा प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि ‘AdGuard DNS’ जस्ता सेवा प्रभावकारी विकल्प हुन सक्छन्।

  • सामान्य विज्ञापन ब्लक गर्न: dns.adguard-dns.com
  • एडल्ट कन्टेन्टसहित अन्य अश्लील सामग्रीलाई ब्लक गर्न: family.adguard-dns.com प्रयोग गर्न सकिन्छ।

डीएनएस सेट गर्ने तरिका

१. आफ्नो फोनको ‘Settings’ एप खोल्नुहोस्।
२. ‘Connections’ वा ‘Network’ सेटिङमा गएर ‘Private DNS’ विकल्पमा जानुहोस्।
३. ‘Private DNS Provider Hostname’ चयन गरी आवश्यक डीएनएस ठेगाना राख्नुहोस्।
४. त्यसपछि ‘Save’ थिचेर यो सेटिङ लागू गर्नुहोस्।

डीएनएस सेवा प्रयोग गरेर विज्ञापन ब्लक गर्दा केही वेबसाइट लोड हुँदा ढिला हुन सक्छ। यो उपाय मुख्यत: बालबालिका प्रयोगकर्ताका लागि सुरक्षित इन्टरनेट अनुभव दिन उपयुक्त मानिन्छ।

प्रिमियम सब्सक्रिप्सन प्रयोग गरेर विज्ञापनरहित अनुभव लिन सकिन्छ

धेरै एप र प्लेटफर्महरूले विज्ञापनमार्फत आम्दानी गरे पनि, तिनीहरूले प्रिमियम सब्सक्रिप्सन सेवा पनि उपलब्ध गराएका छन्। यस्ता सेवामा प्राय: विज्ञापनरहित अनुभवका साथै अतिरिक्त सुविधा पनि पाइन्छ।
उदाहरणका लागि:

  • युट्युबले आफ्नो प्रिमियम सदस्यतामार्फत विज्ञापनरहित भिडियो अनुभवका साथै ब्याकग्राउन्ड प्लेब्याकको सुविधा दिन्छ।
  • स्पोटिफाइले प्रिमियम सदस्यताका माध्यमबाट विज्ञापनरहित संगीत अनुभव र अफलाइन प्लेब्याकको सुविधा दिन्छ।

अनावश्यक एपहरू इन्स्टल गर्दा सावधान हुनुहोस्

धेरैजसो अनावश्यक एपहरू जस्तै फ्ल्यासलाइट एप, थर्ड पार्टी लन्चर एप आदिले अनावश्यक विज्ञापन देखाउन सक्छन्। यस्ता एपहरू इन्स्टल गर्नु अघि:

  • प्ले स्टोरमा रहेको रेटिङ र रिभ्यु हेर्नुहोस्।
  • सम्भव भएसम्म थर्ड पार्टी एपको सट्टा आधिकारिक एपहरू मात्र प्रयोग गर्नुहोस्।
  • ‘Google Play Protect’ सेवा सक्रिय राख्नुभयो भने हानिकारक एपहरूबाट सुरक्षाको थप स्तर प्राप्त गर्न सकिन्छ।

रुटिङ गरेर एड-ब्लकिङ समाधान अपनाउन सकिन्छ

यदि तपाईं अझै प्रभावकारी तरिकाले विज्ञापनहरू ब्लक गर्न चाहनुहुन्छ भने, फोनलाई रुट गरेर सिस्टम-वाइड एड-ब्लकिङ समाधान जस्तै ‘AdAway’ प्रयोग गर्न सक्नुहुन्छ। यद्यपि, यो प्रक्रिया जोखिमयुक्त हुन्छ। रुटिङ गर्दा यदि कुनै गल्ती भयो भने फोनको वारेन्टीसमेत रद्द हुनसक्छ। त्यसैले, यो उपाय अपनाउनु अघि राम्रोसँग बुझ्न आवश्यक छ।

विज्ञापनहरू पूर्ण रूपमा हटाउन किन सकिँदैन?

विज्ञापनहरू वेबसाइट र एप विकासकर्ताका लागि आम्दानीको स्रोत भएकाले यी सेवा प्रदायकहरूले आफ्नो लागत उठाउन सकिरहेका छन्। विज्ञापनमार्फत उपलब्ध हुने आम्दानीले धेरैजसो सेवा नि:शुल्क रुपमा उपलब्ध गराउन सहयोग गर्छ।
तर, अत्यधिक वा अनावश्यक विज्ञापनले प्रयोगकर्तालाई हैरान बनाउँछ। यही कारण, प्रयोगकर्ताहरूका लागि आवश्यक विज्ञापन मात्र देखिने र डिस्टर्ब गर्ने विज्ञापनहरू रोक्ने उपाय निकै महत्त्वपूर्ण हुन पुगेको छ।

यदि तपाईंले माथि बताइएका उपायहरू अपनाउनुभयो भने, आफ्नो एन्ड्रोइड फोन वा ट्याब्लेटमा देखिने अनावश्यक विज्ञापनहरूलाई सीमित गर्न सक्नुहुन्छ। विज्ञापनको फाइदा पनि हुन्छ, तर धेरैजसो अवस्थामा अनावश्यक विज्ञापनले प्रयोगकर्ताको अनुभवमा नकारात्मक प्रभाव पार्ने भएकाले यस्ता समाधानहरूले तपाईंलाई राम्रो ब्राउजिङ अनुभव दिलाउन मद्दत गर्छ।