• शनिबार, १० फाल्गुण, २०८१
  • १२:३६:३०

किन ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि गम्भीर आरोप लगाउनुभएको छ । ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भन्नुभयो । जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी व्यापक उपद्र मच्चाएको टिप्पणी ट्रम्पले गर्नुभएको छ । उहाँले जेलन्स्कीमाथि चुनाव गर्न इन्कार गरेको आरोप समेत लगाउनुभएको छ ।  

फेब्रुअरी २०२२ मा रुसी आक्रमण पश्चात युक्रेनमा मार्शल ल अर्थात् सैन्य शासन लागू भएको छ । जसको अर्थ चुनाव निलम्बित हुनु हो । जेलेन्स्कीले साउदीमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पमाथि रुसले बनाएको गलत सूचना घेराबन्दीमा परेको आरोप लगाउनुभएको थिए । जुन वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन । 

ट्रम्पले भने युक्रेन वार्ताअघि नै पनि सम्झौता गर्न सक्थ्यो, भनी प्रतिक्रिया दिनुभएको छ । यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत युद्ध अन्त्यको वार्ताका लागि युक्रेनलाई कसैले पनि बाहिर नराखेको बताउनुभयो । एजेन्सी।