युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी प्रस्ताव अस्वीकार
-
नेटिजन संवाददाता
- शुक्रबार, ९ फाल्गुण, २०८१- १२:१०:००/ Friday 02-21-25

काठमाडौं । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनमा रहेको महत्वपूर्ण खनिजमा अमेरिकी पहुँच बढाउने सम्झौता गर्न माग गरेका छन् ।
तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने खनिज सम्झौता गर्ने अमेरिकी माग अस्वीकार गर्नुभएको छ । यो सम्झौताले रूससँगको युद्धको क्रममा युक्रेनलाई अमेरिकाले प्रदान गरेको सहयोगको मात्रालाई प्रतिबिम्बित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ ।
युक्रेनमा लिथियम र टाइटेनियम सहित महत्वपूर्ण तत्व र खनिजहरूको ठूलो भण्डार रहेको छ । साथै ठूलो मात्रामा कोइला, ग्यास, तेल र युरेनियम भण्डारहरू पनि रहेका छन् ।
युक्रेनमा दुर्लभ खनिजहरूमा अमेरिकी पहुँचलाई सहायताको बदलामा वा अमेरिकाले पहिले नै प्रदान गरेको सहयोगको क्षतिपूर्तिको रूपमा पनि साटासाट गर्न सकिने सुझाव सुरक्षा सल्लाहकार वाल्ट्जले दिएका थिए ।
तर राष्ट्रपति जेलेन्स्कीले सो प्रस्ताव अस्वीकार गर्दै आफुले राज्य बेच्न नसक्ने प्रतिक्रिया दिनु भएको थियो । जेलेन्स्की र किथ केलोगबीच कीभमा भएको बैठकमा युक्रेनी नेताले युक्रेनमा युद्ध समाप्त गर्न अमेरिकासँग लगानी र सुरक्षा सम्झौता गर्न तयार रहेको घोषणा गरेपछि अमेरिकाले यस्तो प्रस्ताव गरेको हो । रासस-एपी।