परीक्षा तयारीका सूत्र
-
नेटिजन संवाददाता
- आइतबार, १० चैत, २०८१- १२:३१:००/ Sunday 03-23-25

काठमाडौं । भाइबहिनीहरू तपाईहरूले एउटै कक्षामा पढेको पनि अब त एक वर्ष हुन लागिसक्यो। यस अवधिमा धेरै गृहकार्य गर्नुभयो । धेरै परीक्षा दिनुभयो । धेरै परियोजना कार्य गर्नुभयो। यति गर्दागर्दै पनि अब माथिल्लो कक्षामा जानका लागि वार्षिक परीक्षा उत्तीर्ण गर्नुपर्छ।
त्यस्तो परीक्षा पनि आइसक्यो । अन्य कक्षाका परीक्षाभन्दा माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई खास मानिन्छ ।आज म यहाँहरूलाई विशेष गरी यही परीक्षा तयारीका विषयमा केही सुझाव दिन लागेको छु ।
पढेर व्यवहारमा पनि लागु गर्नुहोस् है ?
१- अब परीक्षा नसिद्धिएसम्म अध्ययन सहयोगीका रूपमा बाहेक मोबाइल नछुने प्रण गर्नुहोस् ।
२-सरर पढ्ने घोक्ने मात्र होइन, पढेको कुरा लेख्ने र सम्झने पनि गर्नुहोस् ।
३- कुन विषयलाई कति समय दिने भनेर पहिलेदेखि नै योजना बनाएर पढ्नुभएकै होला। त्यसलाई निरन्तरता दिनुहोस् ।
४-आफूले पढेर जानेको कुरा अरू साथीलाई पनि बताउनुहोस् । सिकाउनुहोस् ।
५- कुनै विषय अप्ठ्यारो छ भने त्यो विषयलाई मलाई जति गरे पनि त्यो आउँदैनु भनेर त्यत्तिकै नछोड्नुहोस्। कुनै पाठ गाह्रो लाग्छ भने त्यसका विषयमा पनि जान्ने साथी वा विषय शिक्षकसँग सिक्न नहिचकिचाउनुहोस् । यसो गर्नुभएमा तपाईलाई त्यो विस्तार सजिलो लाग्ने छ।
६- परीक्षा हलमा दिइने वास्तविक परीक्षालाई आफ्नै कोठामा पनि अभ्यास गर्नुहोस् ।
७- पढेको कुरा दोहोऱ्याउँदै पनि गर्नुहोस्। आफूमाथि विश्वास गर्नुहोस् ।
८- परीक्षामा आउने प्रश्न कुन नम्बरमा के आउँछ, कस्तो प्रश्नको उत्तरका लागि कति समय खर्चिनु पर्छ भन्ने विषयमा स्पष्ट जानकार हुनुहोस् ।
९- मूल पाठ्यपुस्तकको पाठ नै नछोडी सरासर पढ्नुहोस् । सारांश, गाइड, गेसपेपर पढ्नु हुँदैन। नोट बनाएर पढ्नुहोस् ।
१०- खानेकुरा घरमै बनाएका र ठिक्क खानुहोस् । जबरजस्ती रातभरि पढ्ने र लामो समयसम्म सुत्ने पनि नगर्नुहोस् । राति १० बजे सुत्नुहोस् र बिहान ५ बजे उठ्नुहोस् । परीक्षाका बेलामा पनि छ घण्टा निद्रा पुऱ्याउनै पर्छ ।
११-ट्युसनलाई अनिवार्य नठान्नुहोस् । सकेसम्म आफैले अभ्यास गर्नमा बढी जोड दिनुहोस् । यत्ति गर्दागर्दै पनि समाधान गर्न नसकेको वा नबुझेको कुरामा मात्र शिक्षक वा विज्ञसँग सम्पर्क गर्नुहोस् ।
१२-अध्ययनशील र आफूसँग मिल्ने चार-पाँच जनाको समूह बनाएर निरन्तर अध्ययन विषयका कुरा आदानप्रदान गर्नुहोस् तर कोठामा धेरै जना साथी जम्मा नगर्नुहोस् ।इन्दकुमार श्रेष्ठ/मुनाबाट ।