• शनिबार, २९ बैशाख, २०८१
  • ०८:३३:१३

म्याग्दी र मुस्ताङमा चिस्यान गृह

  • Netizen Nepal
  • आइतबार, २९ श्रावण, २०७९- १५:३२:००/ Sunday 08-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, २९ साउन। सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो । 

स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सुधीर थापाले बताउनुभयो । “निजी फार्म, किसान समूह र सहकारीलाई चिस्यान गृह बनाउन कूल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,” उहाँले भन्नुभयो, “मुस्ताङमा निर्माण भएका चिस्यान गृहका कारण किसानले स्याउलाई भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्न पाएका छन् ।” 

आर्थिक वर्ष २०७६÷७७ मा पाँच टन क्षमताको एउटा, आव २०७७÷७८ मा ४२ टन क्षमताका तीन र आर्थिक वर्ष २०७८÷७९ मा ३० टन क्षमताका तीन  चिस्यान गृह निर्माण गरिएका थिए । मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा चिस्यान गृह निर्माण गरिएको परियोजनाले जनाएको छ । 

परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले चालु आर्थिक वर्ष २०७९÷८० मा चार चिस्यान गृह बनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन् । परियोजनाको पहलमा मुस्ताङमा असोज महिना लागेपछि मात्र स्याउ बजारमा पठाउने नियम बनाइएको छ । स्याउको गुणस्तर घटेको गुनासो न्यूनीकरण र मुस्ताङी स्याउको ब्राण्ड बचाउन स्थानीय तहसँग समन्वय गरेर पछिल्ला दुई वर्षयता पाकेपछि मात्र स्याउ बजार पठाउने गरिएको परियोजनाका प्रमुख थापाले बताउनुभयो । 

परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बङ्गुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ । कूल ३७९ फर्म, समूह र सहकारी लाभान्वित पाँच वटै जोन कार्यक्रममार्फत हालसम्म रु ११ करोड ८८ लाख बजेट खर्च भएको छ । ३५२ हेक्टर सुन्तला, ५४.३३ हेक्टर स्याउ खेती विस्तार, ६९ साना सिँचाइ आयोजना निर्माण, ११ सुन्तला, तीन स्याउको नर्सरी स्थापना, छ मासु पसल, १९ बङ्गुरको खोर, पाँच बङ्गुर खोरमा गोबर ग्यास प्लान्ट , दुई पाठापाठी उत्पादन गर्ने खोर र ११ च्याङ्ग्राको गोठ सुधारमा सहयोग भएको परियोजनाले जनाएको छ । 

स्याउ जोनमार्फत चार ग्रेडिङ मेसिन, ६५ मिनिटेलर, ४१ पावर स्प्रे, ६० ग्रास कटर, ५१ डिजिटल तराजु, २३ ह्याड स्प्रे, ३७ फुट स्प्रे, ४७ सुकुटी बनाउने मेसिन, १६३ सानो सिकेचर, १० ठूलो सिकेचर, ७१ स्याउ पिकर, ४८  क्लिपर, ७३ करौती र दुई हजार १९० थान क्रेट वितरण गरिएको छ । सुन्तला जोनमार्फत ३३ फल टिप्ने झ¥याङ, ८२ मिनिटेलर, ९६ पावर स्प्रे, छ ग्रास कटर र १२ डिजिटल तराजु, २६ ब्याट्री स्प्रे वितरण गरिएको परियोजनाले जनाएको छ । रासस