• शनिबार, १२ श्रावण, २०८१
  • ०२:२०:५०

 ९ किलोको एउटै काउली 

काठमाडौं  गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले ९ किलोको एउटै काउली फलाएका छन् ।

स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा ९ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।

“काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भन्नुभयोे, “डाँठ र पात गरी २ केजी घटाउँदा थुङ्गा मात्र ९ किलोभन्दा बढीको रहेको छ ।” नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ ।

यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा ८ किलो ८ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो । करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित ८ किलोग्रामभन्दा बढीका काउली फलेका छन् ।

बारीमा उत्पादित काउली ठूलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ । “बारीमा ८ किलोभन्दा ठूलो काउली धेरै नै फलेका छन् । बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो”, बस्नेतले भन्नुभयो, “लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुसी लागेको छ ।” काउलीको डाँठ र पात कटाएर ९ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उहाँको भनाइ छ ।

कृषि क्षेत्रमा निरन्तर मेहनत गर्दै आउनुभएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली ९ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिनुभयो ।

“भक्तपुरे जातको काउलीलाई यो वर्ष हामी आफैले क्रस गरेर बीउ उत्पादन गरी लगाएका हौँ”, उहाँले भन्नुभयो, “भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ केजी रहेको पाइयो । मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ ।।