• बिहीबार, २२ फाल्गुण, २०८१
  • ०८:२९:५०

५० वर्षमा कोरिया र नेपालको सम्बन्ध सागरमाथा झैँ उच्च

काठमाडौँ । नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा नेपाल स्थित कोरियन दुतावासले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ।  यसै सन्दर्भमा मंगलवार काठमाडौं आयोतिज कार्यक्रममा  दुइ देशवीच कुटनीतिक सम्बन्ध भएको स्वर्ण वर्षको लोगो समेत सार्बजनिक गरिएको छ।   

नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा परराष्ट्र मन्त्री  नारायण प्रसाद साउदले  दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहाद्र्रता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताउनुभयो । उहाँले  गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उहाँले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउने बताउनुभयो।  कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरूले हेर्न चाहेको बताउनुभयो । मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क तियोङले विगत ५० वर्षको यात्रा साझा मूल्यमान्यता, आपसी सम्मान र हाम्रा जनताको राम्रो भविष्य निर्माण गर्ने प्रतिबद्धताको कथा भएको बताउनुभयो । यस अवधिमा द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धनका रुपमा रहेको उल्लेख गर्दै उहाँले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि शक्तिशाली उत्प्रेरक भएको बताउनुभयो ।

राजदूत पार्कले यो ऐतिहासिक कोसेढुङ्गामा पुगेकोमा  दुवै देशका नेता तथा जनतालाई बधाई ज्ञापन  गर्दै  यो अनगिन्ती व्यक्तिको समर्पण र प्रतिबद्धताको प्रमाण भएको धारणा राख्नुभयो।  उहाँले  विगतको सम्बन्धले भविष्यमा थप सम्बन्ध निर्माण र विस्तार गर्न, समझदारी बढाउन र हाम्रा राष्ट्रहरूबीचको सहयोगलाई बढावा दिन  अझ बल पुग्ने बताउनुभयो।  

“हाम्रा दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना छ । ती सम्भावनाहरू अन्वेषण गरौँ । द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरौँ । कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔँ”, उहाँले भन्नुभयो, “ कोरियामा हजारौँ नेपाली कामदार छन् । ठूलो सङ्ख्यामा नेपालीले थप अध्ययनका लागि कोरिया छनौट गरेका छन् । हजारौँ कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । आगामी दिनहरूमा, हामी यी आदानप्रदानहरूलाई अझ विस्तार गर्नेछौँ ।”

नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

सोहि कार्यक्रममा अवसरमा मन्त्री र राजदूतले संयुक्तरुपमा ५०औँ वार्षिकोत्सवको स्मरणार्थ लोगो अनावरण तथा कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रमबाट फर्किएका नेपालीको सफलताको कथामा आधारित पुस्तक ‘तपाईँ पनि  मालिक बन्न सक्नुहुन्छ’को विमोचन गर्नुभएको थियो ।  ‘तपाईँ पनि  मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक शिव प्रसाद पोखरेलले लेख्नुभएको हो।  यो पुस्तकमा कोरियाबाट नेपाल फर्किएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरुका अनुभव तथा कथाहरु समेटिएको छ।