अपाङ्गता भएका पदयात्रीको उर्जाशील यात्रा: सन्देश र संभावनाको उजागर
-
रीता थपलिया
- बुधबार, २१ फाल्गुण, २०८१- २१:१०:००/ Wednesday 03-05-25

म्याग्दी । संसारकै १० उत्कृष्ट पदयात्रा मार्ग भित्र पर्ने नेपालको अन्नपूर्ण क्षेत्रमा यात्रा गर्ने चाहना धेरै व्यक्तिको हुन्छ । तर यो यात्रामा निस्कने साइत जुराउँन पनि धेरैलाई मुस्किल पर्छ । यो वर्षको बसन्त ऋतुसंगै सुरुवात भएको अन्नपूर्ण क्षेत्र पदयात्राको चहलपहल बढ्न सुरु भइसकेकोे छ ।
यसै सेरोफोरोमा यहि फागुन २० देखि सुरु भएको समावेशी पदयात्रा नामक पदयात्राले धेरैको ध्यान तानेको छ । खासगरी श्रवणदृष्टि विहिन व्यक्तिहरु लगायत अन्य व्यक्तिहरु सहभागी भएको यस पद यात्रामा २० जना श्रवणदृष्टि विहीन भएका व्यक्तिहरुको साहसिक यात्राले धेरैको ध्यानाकर्षण गरेको छ । यो पदयात्रामा नेपाल सहित भारत, बगलादेश, अष्ट्रेलिया, नेडरल्याण्ड, डेनमार्क, जमर्नी र स्वीजरल्याण्डका गरी ६० जना व्यक्तिहरु सहभागि छन् । यो क्षेत्रमा बसन्तऋतुको यो सबैभन्दा ठूलो समूहको पदयात्रा रहेको स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् ।
पदयात्रा टोलीका श्रवणदृष्टि विहीन व्यक्ति भारतीय नागरिक रिना दिलिपले यो पदयात्रा आफ्ना लागि अद्भूत अनुभव हासिल गर्ने अवसर भएको बताइन् । उनले आफ्नो समूहका साथीभाइहरुले सुनाएको दृष्यको वर्ण तथा अनुभव आदान प्रदानमा समावेश हुन पाएकोमा यो यात्रा अनुभव आफ्नो जीवनकै अनुपम अनुभब भएको बताइन् । त्यसैगरी नेपाली श्रवणदृष्टि विहीन व्यक्ति दिपक काहरले पनि यो पद यात्रामा सहभागि हुन पाएकोमा खुसी व्यक्त गरे ।
पदयात्राको पहिलो दिन ६० जनालाई खाने बस्ने व्यवस्था गरेको बनठाटींको माछापुच्छे गेष्टहाउसकी संचालक धकमाया पुनले यो वर्ष ६० जनासम्मको पदयात्रा गर्ने सबैभन्दा पहिलो समूह भएको बताउदै उनले पहिलो पटक श्रवणदृष्टि विहीन व्यक्ति समेत सहभागि भएकाले आफूलाई निकै खुसी लागेको बताइन् । आज यात्राको दोस्रो दिन पदयात्रा टोली म्याग्दीको घोडेपानी पुगेको छ ।
श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु अन्य ब्यक्ति भन्दा अगिल्लो पंक्तिमा रहेर यात्रा गरेको र यात्रामा देखिएका विभिन्न मनमोहक दृष्यहरु तथा संस्कृतिहरुको अवलोकन गर्दै नयाँ अनुभव लिएको आयोजक संस्था राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजन संयोजक शंकर चैसिरले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न देशका सहभागीहरुले एक आपसमा आफ्ना अनुभव र भावनाहरु साटासाट अवसरको रुपमा यो पदयात्रालाई उपयोग गरेको पनि उहाँले बताउनुभयो । यो पदयात्रामा हरेक श्रवणदृष्टि विहीन व्यक्तिहरुका लागि एक एक जना सहयोगीको व्यवस्था गरिएको छ ।
पदयात्रा टोलीका श्रवणदृष्टि विहीन व्यक्ति भारतीय नागरिक रिना दिलिपले यो पदयात्रा आफ्ना लागि अद्भूत अनुभव हासिल गर्ने अवसर भएको बताइन् । उनले आफ्नो समूहका साथीभाइहरुले सुनाएको दृष्यको वर्ण तथा अनुभव आदान प्रदानमा समावेश हुन पाएकोमा यो यात्रा अनुभव आफ्नो जीवनकै अनुपम अनुभब भएको बताइन् । त्यसैगरी नेपाली श्रवणदृष्टि विहीन व्यक्ति दिपक काहरले पनि यो पदयात्रामा सहभागि हुन पाएकोमा खुसी व्यक्त गरे ।
यहि फागुन २० देखि २५ गतेसम्म पोखरामा आयोजना गरिएको प्रथम श्रवणदृष्टि विहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलनका सहभागिहरुलाई सम्मेलनोत्तर क्रियाकलापको रुपमा यो पदयात्रा आयोजना गरिएको हो । पदयात्रा बहुपक्षीय कारणले उल्लेख गर्न लायक भएको सहभागिहरुको भनाइ छ । यो पदयात्राले अन्य व्यक्तिहरुलाई पनि सुन्दर पर्यटकीय क्षेत्रको यात्रा गर्न प्रेरित गरेको डेनमार्ककी सहभागि हेलाले बताइन् ।
यो पदयात्रा पुनहिल, हुदै घोडेपानीबाट कास्कीको नयाँपुलमा पुगेर टुंगीनेछ । यो पदयात्राले अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको पर्यटन क्षेत्रको प्रचार-प्रसार गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ । आगामी दिनमा अपांगता भएको व्यक्ति लक्षित यस किसिमका पर्यटकीय गतिविधि बढाउन समेत उनिहरुले पर्यटन व्यवसायीसलाई सुझाव दिएका छन् ।