• बुधबार, २ असोज, २०८१
  • ०८:०२:१५

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

बागलुङ । गाण्तन्त्र कोरिया अर्थात् दक्षिण  कोरियाबाट फर्केका बागलुङ, काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो ।

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उहाँले बताउनुभयो ।

उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाउनुभयो । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ । “चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी रु चार सयमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ”, उहाँल्े भन्नुभयो ।

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताउनुभयो । “एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ”, थापाले भन्नुभयो, “जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ, मैले लगाएको रातो ड्रागन हो ।” रासस