अन्तरिक्षमा कैयौं दिन बिताउनेहरुको दैनिकि र अलौकिक अनुभव कस्तो हुन्छ ?
- नेटिजन संवाददाता
- बुधबार, २ असोज, २०८१- १२:२७:००/ Wednesday 09-18-24
काठमाडौं । गत जुन महिनामा दुई अमेरिकी अन्तरिक्षयात्रीलेअन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा आठ दिन बिताउन भन्दै पृथ्वी छोडेका थिए।
तर बोइङको स्टारलाइनर अन्तरिक्ष यान फर्केर आउन असुरक्षित हुने त्रासपछि नासाले सुनिता विलिअम्स र बुच विल्मोरको पृथ्वी फिर्ती पछाडि सार्दै सन् २०२५ का लागि तय गरेको छ। उनीहरू अहिले छ शयनकक्ष भएको घरजत्रो क्षेत्रफलमा अरू नौ मानिससँग मिलेर बसेका छन्।
अन्तरिक्षयात्रीको दिनका प्रत्येक पाँच मिनेट पृथ्वीमा रहेको मिशन कन्ट्रोलले विभाजित गरिरहेको हुन्छ। उनीहरू छिटै उठ्छन्। 'जीएमटी'को बिहान ६:३० बजे अन्तरिक्षयात्री फोनबूथजत्रो 'हार्मनी' नाम दिइएको शयनकक्षबाट बाहिर निस्कन्छन्।
विलिअम्सले त्यसलाई आफ्नो “खुसीको स्थान” भनेकी छन् भने विल्मोरले त्यहाँ बस्न पाउँदा आफू “कृतज्ञ” भएको बताएका छन्। तर पृथ्वीभन्दा ४०० किलोमिटर टाढा बस्दा खासमा कस्तो महसुस हुन्छ? उनीहरू एकआपसमा आइलाग्ने समस्या कसरी सुल्झाउँछन्?
कसरी कसरत गर्छन् र लुगा धुन्छन्? के खान्छन् र महत्त्वपूर्ण कुरा अन्तरिक्षको ‘गन्ध’ कस्तो हुन्छ? बीबीसी न्यूजसँग तीन जना अन्तरिक्षयात्रीले पृथ्वीको कक्षको दैनिकी कस्तो हुन्छ भन्नेबारे आफ्नो अनुभवसहितको कुराकानी गरेका छन्।
व्यस्त दैनिकी
अन्तरिक्षयात्रीको दिनका प्रत्येक पाँच मिनेट पृथ्वीमा रहेको मिशन कन्ट्रोलले विभाजित गरिरहेको हुन्छ। उनीहरू छिटै उठ्छन्। 'जीएमटी'को बिहान ६:३० बजे अन्तरिक्षयात्री फोनबूथजत्रो 'हार्मनी' नाम दिइएको शयनकक्षबाट बाहिर निस्कन्छन्।
“विश्वकै राम्रो स्लीपिङ ब्याग हुन्छ त्यहाँ,” सन् २००९ र २०११ मा गरी दुई पटकको यात्रामा गरेर १०४ दिन अन्तरिक्षमा बिताएकी अमेरिकी अन्तरिक्षयात्री निकोल स्टटले बताइन्।
सानासाना भागमा बाँडिएका कम्पार्ट्मेन्टहरूमा ल्याप्टप कम्प्युटर हुन्छन् ता कि अन्तरिक्षयात्रीहरू परिवारसँग सम्पर्कमा रहन सकून। अनि उनीहरूका तस्बिर या पुस्तकजस्ता व्यक्तिगत वस्तु राख्ने स्थान पनि त्यहाँ तोकिएको हुन्छ।
त्यसपछि अन्तरिक्षयात्रीहरूले शौचालय प्रयोग गर्न सक्छन् र त्यहाँ ‘सक्शन’ प्रणाली जडान गरिएको हुन्छ। धेरैजसो पसिना र पिसाब पुनर्प्रयोग गरी पिउने पानी बनाइन्छ। तर अहिले आईएसएसमा समस्या आएका कारण अन्तरिक्षयात्रीहरूको पिसाब सङ्कलन भइरहेको छ। त्यसपछि अन्तरिक्षयात्रीहरू काममा लाग्छन्।
आईएसएसको मर्मतसम्भार अथवा वैज्ञानिक परीक्षणमा नै उनीहरूको महत्त्वपूर्ण समय व्यतीत हुन्छ । आईएसएसको आकार बकिङ्घम दरबारको जत्रो वा अमेरिकी फुटबल फील्डजत्रो छ।
“भित्रचाहिँ धेरै बसहरू एकपछि अर्को जोडेर राखिएकोजस्तो हुन्छ। आधा दिनसम्म अर्को यात्रीको अनुहार नदेखिन पनि सक्छ,” 'एक्स्पडिशन ३५ मिशन'(सन् २०१२-१३)का कमान्डर रहेका क्यानडेली अन्तरिक्षयात्री क्रिश ह्याड्फील्ड भन्छन्।
उनी भन्छन्, “मानिसहरू स्टेशनमा व्यर्थमा यताउता गर्दैनन्। यो ठूलो र शान्त छ।” अन्तरिक्षयात्रीहरूले चुनौतीपूर्ण भौतिक वातावरणमा मुटु, मस्तिष्क र रगतले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने मापन गरिरहने उपकरण लगाएका हुन्छन्। आईएसएसमा परीक्षणका लागि छ वटा प्रयोगशाला छन्।
“पृथ्वीमा हामीले विभिन्न बास्ना सुँघ्न पाउँछौँ। तर अन्तरिक्षमा एउटा मात्र गन्ध हुन्छ र हामी त्यसमा छिटै अभ्यस्त भइहाल्छौँ,” हेलेन शर्मनले भनिन्। उनी पहिलो ब्रिटिश अन्तरिक्षयात्री हुन् र उनले सोभियत स्पेश स्टेशनमा सन् १९९१ मा आठ दिन बिताएकी थिइन्।
“हामी परीक्षणमा प्रयोग गरिने 'गिनिपिग'जस्तै हौँ,” स्टट भन्छिन्, “अन्तरिक्षले तपाईँको हड्डी र मांसपेशीको बुढो हुने प्रक्रियालाई तीव्रतर हुने वातावरण बनाउँछ र वैज्ञानिकहरूले त्यसबाट सिक्न सक्छन्।” यदि अन्तरिक्षयात्रीले सके भने मिशन कन्ट्रोलले अनुमान गरेभन्दा छिटो पनि काम गर्छन्।
'अन्तरिक्ष गन्ध'
ह्याड्फील्ड भन्छन्, “पाँच पटकसम्म एकएक मिनेटको फुर्सद पाइन्छ। त्यस्तो समयमा म तैरिँदै झ्यालसम्म पुगेर बाहिर के भइरहेको छ नियाल्थेँ। अथवा सङ्गीत सिर्जना गर्थेँ वा फोटो खिच्थेँ वा बच्चाहरूका लागि केही लेख्थेँ।”
केही 'भाग्यशाली' यात्रीहरूलाई आईएसएसबाहिर अन्तरिक्षमा हिँड्न भनिन्छ। ह्याड्फील्डले त्यस्तो दुई पटक गर्न पाएका थिए। “आईएसएस बाहिरका ती १५ घण्टा म र ब्रह्माण्डबीच मेरो प्लास्टिकको भाइजरबाहेक केही पनि थिएन, त्यो समय अद्भुत र अलौकिक थियो।" अन्तरिक्षमा हिँडेर फर्कँदा अन्तरिक्षयात्रीमार्फत् स्पेस स्टेशनभित्र नयाँ केही थपिन्छ – धातुको गन्ध आउने ‘अन्तरिक्ष गन्ध’।
“पृथ्वीमा हामीले विभिन्न बास्ना सुँघ्न पाउँछौँ। तर अन्तरिक्षमा एउटा मात्र गन्ध हुन्छ र हामी त्यसमा छिटै अभ्यस्त भइहाल्छौँ,” हेलेन शर्मनले भनिन्। उनी पहिलो ब्रिटिश अन्तरिक्षयात्री हुन् र उनले सोभियत स्पेश स्टेशनमा सन् १९९१ मा आठ दिन बिताएकी थिइन्।
बाहिर जाँदा प्रयोग गरिने 'सूट' अथवा वैज्ञानिक किट अन्तरिक्षको कडा विकिरणबाट प्रभावित हुन्छन्। “रेडिएशनबाट सतहमा फ्री र्याडिकल बन्छन्। तिनले अन्तरिक्ष स्टेशनभित्र रहेको अक्सिजनसँग प्रतिक्रिया गर्छन् र धातुजन्य बास्ना/गन्ध पैदा गर्छन्,” उनी भन्छिन्।
उनी पृथ्वीमा फर्किएपछि उनले यसरी विभिन्न ज्ञानेन्द्रियबाट प्राप्त हुने अनुभवलाई खुब महत्त्व दिन थालिन्। “अन्तरिक्षमा मौसम छैन- न अनुहारमा पानीको स्पर्श हुन्छ, न हावाले कपाल उडाउँछ। मलाई ती कुराले असाध्यै खुसी बनाउँछन्” ३३ वर्षअघिको आफ्नो अनुभव सुनाउँदै उनले भनिन्।
कामको बीचमा लामो समय अन्तरिक्षमा बिताउने अन्तरिक्षयात्रीहरूले हरेक दिन दुई घण्टाको कसरत गर्नैपर्छ। तीन प्रकारका फरकफरक मशीनहरूले शून्य गुरुत्वाकर्षणमा बाँच्दा हुने हड्डीको घनत्व कम हुने जस्ता असरविरुद्ध जुझ्न मद्दत गर्छन्। 'एडभान्स्ड रेजिस्टिभ एक्सर्साइज डिभाइस' (एआरईडी) टुक्रुक्क बस्न, केही कुरा उचाल्न तथा मांसपेशी बलियो बनाइराख्न सहयोगी हुन्छ।
अन्तरिक्षयात्रीले ट्रेडमिल पनि प्रयोग गर्छन् तर त्यो प्रयोग गर्दा उनीहरूले आफैँ तैरिएर यताउता जाने अवस्थामा नियन्त्रण गर्न पेटी बाँध्नुपर्छ। अनि उनीहरू कसरतका लागि 'साइकल एर्गोमिटर'को पनि प्रयोग गर्छन्।
“कसैले मासु अथवा झोलिलो पदार्थको क्यान खोल्दा सबै जना सचेत हुन्थे किनभने त्यसबाट निस्कने ससाना फोका छल्न मानिसहरू तैरिएर यताउता गर्नुपर्थ्यो,” उनी भन्छिन्। कुनैकुनै बेला अर्को अन्तरिक्षयानले अन्तरिक्षमा बसेका यात्रीका लागि नयाँ खानेकुरा, लुगा र अन्य उपकरण ल्याएको हुन्छ।
'तीन महिनालाई एउटै सुरुवाल'
स्टट त्यो सबै काम गर्दा निकै पसिना आउँछ भन्छिन्। त्यसैकारण लुगा धुनु महत्त्वपूर्ण हुन्छ। "हामीसँग लुगा धुने सुविधा त हुँदैन, केवल पानीको फोकाजस्तो हुन्छ र साबुनजस्तो वस्तु हुन्छ।"
मानव शरीरबाट पसिना बाहिर फ्याँक्न पृथ्वीमा जस्तो गुरुत्वाकर्षणले काम गर्दैन। त्यसैले “अन्तरिक्षयात्रीहरूमा पृथ्वीमा भन्दा धेरै बढी पसिनाको तह हुन्छ,” उनी भन्छिन्। “मेरो टाउकोमा पसिनाको तह बढ्दै गएको मैले महसुस गर्थेँ र मैले टाउको पुछिरहन्थेँ। टाउको हल्लाउन भने मिल्दैनथ्यो किनभने त्यो जताततै उडिहाल्थ्यो।”
लुगाहरू धेरै फोहोर भइसकेपछि तिनलाई कार्गो वाहनमा फ्याँकिन्थ्यो र ती वायुमण्डलमा खरानी बन्थे। तर उनका अनुसार उनीहरूले दैनिक लगाउने लुगा भने सफा रहन्छन्।
उनी भन्छिन् “शून्य गुरुत्वाकर्षणमा लुगा शरीरमा टाँसिने हैन, उडिरहेका हुन्छ। त्यसैले तेल वा केही कुराले पनि केही असर गर्दैन। मैले एउटा सुरुवाल तीन महिनासम्म लगाएकी थिएँ।”
खासमा सबैभन्दा ठूलो समस्या खानेकुरामा आउँथ्यो।
“कसैले मासु अथवा झोलिलो पदार्थको क्यान खोल्दा सबै जना सचेत हुन्थे किनभने त्यसबाट निस्कने ससाना फोका छल्न मानिसहरू तैरिएर यताउता गर्नुपर्थ्यो,” उनी भन्छिन्। कुनैकुनै बेला अर्को अन्तरिक्षयानले अन्तरिक्षमा बसेका यात्रीका लागि नयाँ खानेकुरा, लुगा र अन्य उपकरण ल्याएको हुन्छ।
नासाले बन्दोबस्तीका सामान पठाउने यान पटकपटक पठाउने गर्छ। पृथ्वीबाट स्पेस स्टेशनमा आइपुग्नु “अद्भुत” महसुस हुने ह्याड्फील्ड बताउँछन्।
“ब्रह्माण्डको अनन्ततामा आईएसएसलाई नियाल्दा त्यो जीवन परिवर्तन गर्ने क्षण बन्न पुग्छ – अन्धकारमा अडेको मानव सृजनाको एक सानो अंश,” उनी भन्छन्।
के खान्छन्?
दिनभरको कठिन परिश्रमपछि रातिको खाना खाने समय हुन्छ। खानेकुरा धेरैजसो ससाना प्याकेटमा हुन्छन् र विभिन्न भागमा देशअनुसार विभाजन गरिएको हुन्छ।
“कतै घुम्न जाँदा लिएर गएको खानेकुरा वा सैनिकहरूको राशन जस्तो। राम्रो तर त्यो अझ स्वास्थ्यकर हुन सक्थ्यो,” स्टट भन्छिन्। उनी भन्छिन्, “मलाई जापानी तरकारी अथवा रुसी सिरिअल र सूप खुब मन पर्थ्यो।”
परिवारले पनि थप खानेकुरा पठाइदिएका हुन्छन्। उनी भन्छिन्, “मेरा श्रीमान् र छोराले मलाई मनपर्ने केही पठाइदिन्थे, जस्तो कि चकलेटले छोपेको अदुवाको टुक्रा।” उनीहरू धेरैजसो एकआपसमा खाना बाँडेर खान्छन्।
अन्तरिक्षयात्रीहरूलाई विभिन्न तालिम दिइएको हुन्छ – सहिष्णु हुने, आरामसँग बस्ने, शान्त रहने र समूहमा काम गर्ने। त्यसले गर्दा द्वन्द्व कम हुने शर्मन बताउँछिन्।
“यो कसैको नराम्रो व्यवहार सहने भनेको होइन, बरु त्यसबारे कुराकानी गर्ने हो। अनि हामी हरदम एकअर्कालाई साथ दिने सङ्केत दिँदै पीठ थपथप्याउँथ्यौँ,” उनी भन्छिन्।
अनि दिनभरको हल्लाखल्लामा काम गरेपछि फेरि सुत्ने समय आउँथ्यो। त्यहाँ हरदम पङ्खा चलिरहेका हुन्छन् ता कि त्यहाँ जम्मा हुने कार्बनडाइअक्साइडलाई पर फ्याँक्न सकियोस् र अन्तरिक्षयात्रीहरूले सास फेर्न सकून्। त्यहाँ असाध्यै हल्ला हुने कार्यालयमा जस्तै ध्वनि हुन्छ। “हामी आठ घण्टा सुत्न सक्छौँ – तर धेरैजसो मानिसहरू तल पृथ्वीतिर हेरिरहेर समय बिताउँछन्,” स्टट भन्छिन्।
“हामी अन्तरिक्षमा लामो समय बस्न पाइयोस् भन्ने आशा राखेर जीवनभर सपना देख्छौँ र तालिम लिइरहेका हुन्छौँ,” ह्याड्फील्ड भन्छन्। “एक जना व्यावसायिक अन्तरिक्ष यात्रीलाई सबभन्दा ठूलो उपहार नै अन्तरिक्षमा लामो समय बस्न पाउनु हुन्छ।”
'विशाल अन्तरिक्ष, आफू एकदमै सानो'
तीन जनै अन्तरिक्ष यात्रीले ४०० किलोमिटर टाढाबाट आफ्नो घर रहेको ग्रह पृथ्वी देख्दा उत्पन्न हुने मनस्थितिबारे बताए। विशाल अन्तरिक्ष देख्दा मेरो महत्त्व असाध्यै सानो लाग्थ्यो”, शर्मन भन्छिन्।
“पृथ्वीलाई स्पष्ट देख्न सकिन्थ्यो, बादलका चक्र र समुद्र देख्दा एक अर्कासँग परस्पर जोडिएका हामी आफूआफूमा कसरी भौगोलिक पर्खालहरू बनाएर विभाजित भइरहेका छौँ जस्तो लाग्थ्यो।”
त्यतिबेला आफूलाई विभिन्न देशका छ जनासँग समय बिताउन पाउँदा खुब रमाइलो लागेको गरेको स्टट बताउँछिन्। उनको प्रश्न छ, “हाम्रो ग्रहमा सबै मिलेर समाधान खोज्ने काम किन हुन सक्दैन?”
सबै अन्तरिक्षयात्रीले आईएसएस छोडेर आउनैपर्छ। तर उनीहरूलाई त्यसो गर्न मन नलाग्ने उनीहरू बताउँछन्। मानिसहरू किन नासाका अन्तरिक्षयात्रीहरू सुनिता विलिअम्स र बुच विल्मोर "अलपत्र" परेको भन्छन् मानिसहरू भन्ने कुरा उनीहरूले बुझेका छैनन्।
“हामी अन्तरिक्षमा लामो समय बस्न पाइयोस् भन्ने आशा राखेर जीवनभर सपना देख्छौँ र तालिम लिइरहेका हुन्छौँ,” ह्याड्फील्ड भन्छन्। “एक जना व्यावसायिक अन्तरिक्ष यात्रीलाई सबभन्दा ठूलो उपहार नै अन्तरिक्षमा लामो समय बस्न पाउनु हुन्छ।”
आईएसएस छाड्ने बेला स्टट सोचिरहेकी थिइन्, “त्यो ओथारो बसेको चरोलाई तानेर हटाउन खोजेको जस्तो अनुभव थियो। मलाई थाहा छैन फेरि म कहिले यहाँ फर्किन सक्छु।”बीबीसी।