• शनिबार, १२ असोज, २०८१
  • ०७:०४:४८

दैलेखमा पेट्रोलियम अन्वेषण : २ हजार मिटर गहिरो ड्रिलिङ, कस्तो आउला नतिजा ?

दैलेख । दैलेखमा रहेको पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न भएको छ । चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी २०८१ जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म २ हजार दुई सय मिटर ड्रिलिङ भइसकेको बताउनुभयो । चार महिना भित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएको भएपनि जमिनमुनी कडा चट्टानले गर्दा ड्रिलिङको काम मङ्सिर मसान्तसम्म सकिने भूगर्भविद् लुइँटेलले बताउनुभयो ।

अहिले विज्ञहरूले २/२ मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेका छन् । २ हजार सात सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी थप तीन किसिमको अध्ययन हुने भूगर्भविद् लुइँटेलले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केतहरू सफलतापूर्वक प्राप्त भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम धमाधम गरिरहेको छ । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागी रिङ्ग हाउस निर्माण गरी ड्रिलिङ कार्य सुरु गरिएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिने भन्दै भूगर्भविद् लुइँटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्ने बताउनुभयो ।