• शुक्रबार, ५ पौष, २०८१
  • ०४:३४:५९

ठेक्का रद्द गर्ने चेतावनीपछि सडक स्तरोन्नति तीव्र

  • रासस
  • बिहीबार, ४ पौष, २०८१- ११:५४:००/ Thursday 12-19-24

 राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। कालोपत्रे गर्न आवश्यक पूर्वाधार तयारी पूरा भइसकेको छ। करिब २,२०० मिटर लामो यो सडक समयमा कालोपत्रे नभएपछि जनगुनासो बढेको थियो। पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीका अनुसार जनगुनासो सम्बोधन गर्न स्तरोन्नतिको काम तीव्र पारिएको छ र अहिले कालोपत्रे गर्न प्लान्ट राख्ने काम भइरहेको छ। उनका अनुसार आगामी माघभित्र सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको छ भने नाली, पर्खाल, कल्भर्टलगायतका काम लगभग सम्पन्न भइसकेका छन्। विसं २०७९ साउनमा दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम समयमा सम्पन्न हुन सकेको थिएन। समयमा काम नभएपछि आउँदो चैतसम्म म्याद थप गरिएको छ। आयोजना कार्यालयले ठेक्का रद्द गर्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको जनाइएको छ। यो प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडक हो। पर्यटकीय राजधानीसमेत रहेको पोखरा प्रवेश गर्ने मुख्य सडकमा धुलो र हिलोको समस्या हुँदा स्थानीय आक्रोशित भएका थिए। त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएका थिए। इन्जिनियर सुवेदीका अनुसार कालोपत्रे गर्न अन्तिम तयारी भइरहेकाले अब यो समस्या सधैंका लागि अन्त्य हुनेछ। पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक तीन वर्षअघि नै कालोपत्रे गरिएको थियो। पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौं सवारीसाधन पोखरा आउजाउ गर्छन्।