१२ दिनपछि नेप्से २७०० विन्दु मुनि, केवल २७ कम्पनीको सेयर मूल्यमा वृद्धि
- नेटिजन संवाददाता
- आइतबार, २३ मङ्सिर, २०८१- १५:३३:००/ Sunday 12-08-24
काठमाडौं – साताको पहिलो दिन आइतबार, नेप्से परिसूचकमा उल्लेखनीय गिरावट आएको छ।
आज नेप्से ४५.९३ अंकले घट्दै २६८९ विन्दुमा बन्द भएको छ। १२ दिनपछि नेप्से पुनः २७०० विन्दुभन्दा तल झरेको हो। यसअघि, मंसिर ११ गते नेप्से २६८३.२४ विन्दुमा बन्द भएको थियो।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। पछिल्लो कारोबार दिन बिहीबार, कुल ८ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आइतबारको कारोबार ७ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम ९० करोडले घटेको हो।
आजको कारोबार अवधिमा ३२१ वटा धितोपत्रका १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएका छन्।
आइतबार २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन।
यस दिन खानीखोला हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा पुगेको छ। कम्पनीको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७१ रुपैयाँ ६० पैसा कायम भएको हो।
त्यस्तै, दोल्ती पावरको मूल्य ८.७७ प्रतिशतले वृद्धि भएर ६५७ रुपैयाँ पुगेको छ।
यता, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, र जोशी हाइड्रोपावरका सेयर मूल्य १० प्रतिशतले घटेका छन्। यस्तै, सामुदायिक लघुवित्तको मूल्य ९.९७ प्रतिशतले घटेको छ।
आजको कारोबारमा एनआरएन इन्फ्रास्टक्चर सबैभन्दा धेरै कारोबार भएको कम्पनी बनेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ४.९८ प्रतिशतले वृद्धि भई १,११४ रुपैयाँ ८० पैसामा पुगेको छ। कुल ३२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
त्यस्तै, दोस्रो धेरै कारोबार हुने कम्पनी नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको १५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता १,१९५ रुपैयाँ ४० पैसामा कारोबार भएको छ।
आजको कारोबारमा समावेश १३ वटा समूहगत परिसूचकहरूमध्ये सबै समूहको परिसूचक घटेको छ।
जीवन बीमा समूहको परिसूचक ३.०७ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित भएको छ भने व्यापार समूहको परिसूचक २.१३ प्रतिशतले घटेको छ। यसले समग्र नेप्सेमा गिरावट ल्याएको हो।