• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०७:३५:२५

जनकपुर पुग्यो प्लेअफमा, काठमाडौंको यात्रा कठिन अवस्थामा

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोलीको रूपमा नाम लेखाएको छ। बिहीबार त्रिवि मैदानमा भएको खेलमा जनकपुरले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै लिग चरणको अन्तिम खेलअघि नै प्लेअफ यात्रा पक्का गरेको हो।


आजको पराजयसँगै काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन भएको छ। लिगमा काठमाडौंले हालसम्म खेलेका ५ खेलमध्ये ३ खेलमा हार बेहोरिसकेको छ। बाँकी दुई खेल दुवै जित्न सके मात्र काठमाडौंको प्लेअफ यात्रा सम्भव हुनेछ।

आजको खेलमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो। टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौं १९.३ ओभरमै १०१ रनमा अलआउट भयो।

जनकपुरको ब्याटिङतर्फ जेम्स निशमले १७ बल खेल्दै ३ छक्का र १ चौकाको मद्दतले २७ रन बनाएर टोलीका शीर्ष स्कोरर बने। हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ तथा कप्तान अनिल शाहले ११ रनको योगदान दिए।

काठमाडौंका बलरमध्ये कप्तान करण केसीले २ विकेट लिएका थिए भने गेरहार्ड इरास्मस, दीपेश कँडेल र शाहब आलमले एक/एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौंले १९.३ ओभरमै सबै विकेट गुमाउँदै मात्र १०१ रन बनाउन सक्यो। टोलीका लागि गेरहार्ड इरास्मसले २० रन बनाए भने कप्तान करण केसीले १९ तथा स्टिफन एस्किनाजीले १७ रनको योगदान दिए। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

काठमाडौंको पारीमा शाहब आलम र माइकल लेविटले समान ८/८ रन बनाए। रासिद खानले ७, प्रतिक श्रेष्ठले ६, भीम सार्कीले ४ र डेन डउथवेटले १ रन बनाए। काठमाडौंले जनकपुरबाट अतिरिक्त ११ रन पाएको थियो।

बलिङतर्फ जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान ३/३ विकेट लिए। यस्तै, मोहम्मद मोहसिनले २ तथा अर्निको यादव र किशोर महतोले १/१ विकेट हात पारे।