च्याटजीपीटीले नि:शुल्क ‘क्यानभास’ फिचर सार्वजनिक गर्यो, कस्ता छन् त विशेषता ?
- नेटिजन संवाददाता
- बिहीबार, २७ मङ्सिर, २०८१- १६:५६:००/ Thursday 12-12-24
काठमाडौं । ओपनएआईले च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि नयाँ फिचर ‘क्यानभास’ नि:शुल्क उपलब्ध गराएको छ । लेखन र कोडिङमा सहयोग पुग्ने यो फिचर ‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत सबै प्रयोगकर्ताका लागि खुला गरिएको हो।
पहिले यो फिचर च्याटजीपीटीका प्लस, टिम्स, एडु र इन्टरप्राइज सब्सक्राइबरहरूका लागि मात्र उपलब्ध थियो। तर अब, नि:शुल्क प्रयोगकर्ताहरूले पनि च्याट बक्सको छेउमा नयाँ विकल्प देख्न सक्छन्। त्यहाँ ‘पिक्चर’, ‘सर्च’, ‘क्यानभास’ लगायतका अप्सन देखिन्छन्, जसबाट प्रयोगकर्ताले सजिलै क्यानभास प्रयोग गर्न सक्छन्।
क्यानभासले नयाँ इन्टरफेसको सुविधा दिएको छ, जसले प्रयोगकर्तालाई च्याटबक्ससँगै अलग सम्पादन विन्डोमा काम गर्न मिल्ने बनाएको छ। यो फिचरले प्रयोगकर्तालाई म्यानुअल रूपमा टेक्स्ट वा कोड सम्पादन गर्न, भाग हाइलाइट गर्न र टुल परिमार्जन गर्न सजिलो बनाउँछ।
यसको अर्को महत्त्वपूर्ण विशेषता भनेको पाइथन कोडलाई प्रत्यक्ष परीक्षण गर्न सक्ने क्षमता हो। प्रयोगकर्ताले कोड पेस्ट गर्दा क्यानभास आफैँ खुल्छ, जसले पहिलेजस्तो कोड अलग प्लेटफर्ममा रन गर्नुपर्ने झन्झट हटाएको छ। यो फिचरले कोड डिबगिङ, चार्ट निर्माण र वेब एप्लिकेसन विकास गर्ने प्रक्रियालाई अझ सहज बनाउने विश्वास गरिएको छ।
ओपनएआईले क्यानभासलाई जीपीटी फोरओ (GPT-4 O) सँग पनि एकीकृत गरेको छ, जसले विशिष्ट प्रम्प्टहरूमा क्यानभास स्वचालित रूपमा खोल्न सक्छ।
‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत, ओपनएआईले यसअघि नै च्याटजीपीटी प्रो, सोरा टर्बो र अन्य नयाँ फिचर तथा सब्सक्रिप्सन प्लान सार्वजनिक गरिसकेको छ।