शब्दकै आधारमा वास्तविक जस्तो भिडिओ बनाउने गुगलको ‘Veo 2’ सार्वजनिक
- नेटिजन संवाददाता
- बिहीबार, ४ पौष, २०८१- १८:२७:००/ Thursday 12-19-24
काठमाडौं। गुगलले शब्दको आधारमा यथार्थपरक भिडिओ बनाउन सक्षम आफ्नो एआई टुल 'Veo 2' सार्वजनिक गरेको छ। गुगलको नयाँ संस्करणले फोरके क्वालिटीका भिडिओ उत्पादन गर्न सक्षम बनाउँदै भिडियो क्रिएसनको दुनियाँमा नयाँ आयाम थपेको छ।
गुगलको आधिकारिक ब्लगमा जनाइएअनुसार, 'Veo 2' ले मानिसको हाउभाउ, वस्तुको संरचना र वास्तविक संसारका सूक्ष्म विवरणहरूलाई विश्लेषण गरी त्रुटिरहित भिडिओ सिर्जना गर्न सक्छ। यो टेक्नोलोजीले पहिलेका भिडियो मोडेलमा देखिने अतिरिक्त औंला वा अनावश्यक वस्तुहरू जस्ता गल्तीलाई न्यून गर्दै अझ वास्तविक अनुभव दिने बताइएको छ।
के हो 'Veo 2'?
गुगलको डिपमाइन्डले विकास गरेको यो टुलले शब्दका साथै तस्बिरको आधारमा पनि भिडिओ बनाउन सक्छ। प्रयोगकर्ताले केवल टेक्स्ट प्रम्प्ट लेख्नुपर्नेछ, र सोही अनुसारको भिडिओ तयार हुन्छ।
पहिलेभन्दा के फरक छ?
'Veo 2' ले सिनेमाटोग्राफीको भाषालाई बुझ्ने क्षमतासमेत पाएको छ। प्रयोगकर्ताले भिडिओमा चाहिने दृश्य, लेन्सको प्रकार र सिनेमाटिक प्रभावको निर्देशन दिन सक्नेछन्। यसले प्रयोगकर्तालाई मनपर्ने शैलीमा भिडिओ बनाउन सजिलो बनाउनेछ।
अहिले कस्तो पहुँच छ?
गुगलले यो टुललाई हालका लागि 'गुगल ल्याब्स' को 'भिडिओएफएक्स प्लेटफर्म' मार्फत परीक्षणका लागि उपलब्ध गराएको छ। यो सेवा प्राप्त गर्न प्रयोगकर्ताले वेटिङ लिस्टमा नाम दर्ता गर्नुपर्नेछ। हाल यस टुलले ८ सेकेन्डसम्मको भिडिओ ७२० पिक्सेलको रेजोलुसनमा बनाउन सक्छ।
सुरक्षा विशेषता
गुगलले 'Veo 2' मा डिजिटल वाटरमार्क प्रणाली पनि थपेको छ। यस वाटरमार्कलाई सामान्य आँखाले देख्न नसकिने भए पनि, यसले भिडिओको स्रोत र प्रामाणिकता पहिचान गर्न सहयोग गर्छ। यो फिचरले गलत सूचना फैलिनबाट जोगाउने कम्पनीको दाबी छ।
सर्वसाधारणका लागि कहिले उपलब्ध हुनेछ?
गुगलले सर्वसाधारणका लागि यो टुल कहिले उपलब्ध हुने र यसको शुल्क कति पर्ने भन्नेबारे कुनै आधिकारिक जानकारी दिएको छैन। हालका लागि अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालमा 'Veo 2' बाट बनाइएका नमुना भिडिओहरू सार्वजनिक गर्दै यसको क्षमता प्रदर्शन गरिरहेका छन्।
यो नयाँ प्रविधिले भिडिओ निर्माणको परिभाषालाई परिवर्तन गर्ने अनुमान गरिएको छ। सामग्री सिर्जना गर्नेहरूका लागि यो एआई टुल 'गेम चेन्जर' सावित हुनसक्छ।