• बिहीबार, १८ पौष, २०८१
  • ०८:१४:५८

क्रोम एक्सटेन्सन हाइज्याक गर्दै ह्याकरद्वारा साइबर आक्रमण तीव्र

काठमाडौं। पछिल्ला केही दिनदेखि विश्वभर साइबर आक्रमणका घटनामा उल्लेखनीय वृद्धि भएको देखिएको छ। विशेषतः ह्याकरहरूले केही कम्पनीका क्रोम एक्सटेन्सन नियन्त्रणमा लिएर आक्रमण सञ्चालन गरिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, डिसेम्बरको मध्यदेखि ह्याकरहरूले विभिन्न कम्पनीका एक्सटेन्सन हाइज्याक गरी साइबर आक्रमण सुरु गरेका हुन्।

क्यालिफोर्नियामा आधारित डेटा सुरक्षा कम्पनी साइबरहेभन पनि यस्ता आक्रमणबाट प्रभावित भएको पुष्टि भएको छ। “हाम्रो क्रोम एक्सटेन्सनमाथि क्रिसमस साँझ मालिसियस आक्रमण भएको पुष्टि भएको छ,” साइबरहेभनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


साइबर सुरक्षा विज्ञहरूले दिएको प्रतिक्रिया अनुसार, कम्पनीले यो आक्रमणलाई "क्रोम एक्सटेन्सन डेभलपरलाई लक्षित गर्ने ठूला योजनाको भाग" भएको संकेत गरेको छ। “हामी संघीय कानून कार्यान्वयन निकायहरूसँग सक्रिय रूपमा सहकार्य गरिरहेका छौं,” कम्पनीले थप जानकारी दिएको छ।

यो साइबर आक्रमणको भौगोलिक फैलावट स्पष्ट नभए पनि, रायटर्सको नयाँ प्रतिवेदनका आधारमा ह्याकरहरूले गत हप्ता साइबरहेभनका साथै अन्य धेरै क्रोम एक्सटेन्सन हाइज्याक गरेको जनाइएको छ।

ह्याकरहरूले सामाजिक सञ्जालको विज्ञापन खाता (विशेषतः फेसबुक एड अकाउन्ट) र एआई प्लेटफर्मका प्रमाणहरूमा पहुँच बनाउन खोजेको संकेत भेटिएको छ।

माशेबलका अनुसार, इन्टरनेक्स्ट भीपीएन (१० हजार प्रयोगकर्ता), भीपीएन सीटी (५० हजार प्रयोगकर्ता), यूभ्वाइस (४० हजार प्रयोगकर्ता), र प्यारोट टक्स (४० हजार प्रयोगकर्ता) नामका क्रोम एक्सटेन्सन प्रयोगकर्ताहरू उच्च जोखिममा रहेका छन्। यी एक्सटेन्सन प्रयोगकर्ताहरूलाई २६ डिसेम्बरपछि पुरानो संस्करण हटाएर नयाँ संस्करण इन्स्टल गर्न सुझाव दिइएको छ।