• बुधबार, २४ पौष, २०८१
  • १२:३७:११

एनसेलले सुटुक्क बढायो रिचार्जको भ्यालिडिटी

काठमाडौं। मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले हालै रिचार्जको भ्यालिडिटी घटाएपछि व्यापक आलोचना झेलेको थियो। ग्राहकहरूको असन्तुष्टि र सामाजिक सञ्जालमा बढ्दो दबाबलाई ध्यानमा राख्दै कम्पनीले चुपचाप आफ्नो निर्णय सच्याएको छ।

एनसेलले पुनः आफ्नो रिचार्ज भ्यालिडिटी सुधार गरी नेपाल टेलिकमको स्तरमा ल्याएको छ। नयाँ व्यवस्था अनुसार, अब ५० रुपैयाँदेखि ९९.९९ रुपैयाँसम्मको रिचार्जमा ३० दिनको भ्यालिडिटी दिइनेछ। यस्तै, १०० रुपैयाँदेखि १९९.९९ रुपैयाँसम्मको रिचार्जमा ६० दिन, २०० रुपैयाँदेखि २९९.९९ रुपैयाँसम्मको रिचार्जमा १४० दिनको भ्यालिडिटी कायम गरिएको छ।


त्यसैगरी, ३०० देखि ४९९.९९ रुपैयाँसम्मको रिचार्जमा २०० दिन, ५०० देखि ९९९.९९ रुपैयाँसम्मको रिचार्जमा ३६० दिन र १००० वा सोभन्दा माथिका रिचार्जमा ७३० दिनको मान्य अवधि तोकिएको छ।

केही महिना अघिसम्म कम्पनीले १,००० रुपैयाँको रिचार्जमा मात्र ९० दिनको भ्यालिडिटी दिँदै आएको थियो। यस्तै, ५० देखि ९९.९९ रुपैयाँसम्मको रिचार्जमा ७ दिन, ५०० देखि ९९९.९९ रुपैयाँसम्म ५० दिन र १,००० वा सोभन्दा माथिका रिचार्जमा ९० दिनको अवधि मात्रै दिइँदै आएको थियो।

एनसेलले लामो समयसम्म सिम एक्टिभ रहने तर कम्पनीको आम्दानीमा योगदान नगर्ने ग्राहकलाई निरुत्साहित गर्न पुरानो भ्यालिडिटी नीति ल्याएको बताइए पनि चर्को विरोधपछि सो नीति परिमार्जन गरिएको हो।