भूकम्पले प्रभावित बनाएको माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द
- नेटिजन संवाददाता
- मंगलबार, २३ पौष, २०८१- १४:०७:००/ Tuesday 01-07-25
मङ्गलबार बिहान चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ।
क्षेत्रीय प्रकोप राहत मुख्यालयका अनुसार भूकम्पका कारण अहिलेसम्म ५३ जनाको ज्यान गएको र ६२ जना घाइते भएका छन्। उद्धार कार्यलाई तीव्रता दिइएको छ भने क्षतिको पूर्ण विवरण संकलन भइरहेको अधिकारीहरूले जनाएका छन्।
डिङ्ग्री संस्कृति तथा पर्यटन कार्यालयले दिएको जानकारीअनुसार माउन्ट कोमोलाङ्मा क्षेत्रमा रहेका होटल तथा वरपरका संरचना क्षतिग्रस्त भएका छन्। यद्यपि, त्यहाँ रहेका सबै पर्यटक र कर्मचारी सुरक्षित रहेको र उनीहरूको उचित व्यवस्थापन गरिएको बताइएको छ।
भूकम्पका कारण डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनमा विद्युत् सेवा अवरुद्ध भएको छ। स्टेशन पुनः सञ्चालनमा ल्याउन प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
त्यसैगरी, मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्री क्षेत्रमा तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको जानकारी दिएको छ। चिसो मौसम र कठिन भूभागका कारण उद्धार कार्यमा चुनौती थपिएको छ।
सरकारले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। पर्यटकलाई सुरक्षित क्षेत्रतर्फ सार्ने कार्य भइरहेको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै थप सतर्कता अपनाउन सुझाव दिइएको छ।