नेपाल–भारत सुरक्षा बैठकमा केके निर्णय भए ?
- नेटिजन संवाददाता
- आइतबार, ६ माघ, २०८१- १३:५७:००/ Sunday 01-19-25
रुपन्देही– बुटवलमा सम्पन्न नेपाल सशस्त्र प्रहरी बल र भारत सशस्त्र सीमा बल (एसएसबी) को डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठकले सीमा क्षेत्रका विविध समस्याको समाधानका लागि ठोस निर्णय गरेको छ। बैठकले अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरूको मर्मत तथा सम्भार, र सीमावर्ती क्षेत्रमा सहकार्य गर्दै कार्यसम्पादन गर्ने विषयमा सहमति जुटाएको छ।
बैठकले दशगजा क्षेत्रमा हुने अतिक्रमण रोक्न संयुक्त पहल गर्ने निर्णय गरेको छ। यसैगरी, दशगजा क्षेत्रमा बनेका अवैध संरचना हटाउने, क्षेत्रको सरसफाइ र सौन्दर्यकरणको कामलाई प्राथमिकता दिने सहमति भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप कुमार पालले जानकारी दिनुभयो।
बैठकमा मानव तस्करी, नक्कली मुद्रा, हातहतियार, लागूऔषध र प्रतिबन्धित वन्यजन्तु तस्करीजस्ता अवैध गतिविधि रोक्न आवश्यक रणनीतिहरूमा विस्तृत छलफल भएको थियो। साथै, तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश नियन्त्रणका लागि संयुक्त प्रयासको आवश्यकता औंल्याइएको छ।
दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूले संयुक्त गस्ती सञ्चालन, हेल्प डेस्क तथा हेल्थ डेस्क सञ्चालन गर्ने सहमति भएको छ। साथै, खेलकुद र अन्य अभ्यासहरूलाई निरन्तरता दिँदै आपसी विश्वास र सहकार्य बढाउने निर्णय पनि गरिएको छ।
नेपालतर्फबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनले नेपाल–भारत खुला सीमासम्बन्धी समस्या र चुनौतीहरूको समाधानका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो। भारतीय पक्षबाट लखीमपुर खीरीका डिआईजी बी. विक्रमन र गोरखपुरका डिआईजी मुन्ना सिंहले विचार प्रस्तुत गर्नुभएको थियो।
यसअघि, दुवै देशका सुरक्षा निकायबीच डिआईजी स्तरीय पाँचौँ समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित रुपैडिया–बहराइचमा सम्पन्न भएको थियो।
समापनमा, बैठकले उठाइएका विषयहरूको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्न दुवै देशका निकायहरूको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।