• शुक्रबार, ९ फाल्गुण, २०८१
  • ०२:०८:१३

६ महिनामा १ हजार २ सय ३३ जनाको निधन

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर १ हजार २ सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । 

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८ सय ५६ सडक दुर्घटनामा १ हजार १ सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३ सय ३८ सडक दुर्घटना हुँदा १ हजार २ सय ३३ जनाको ज्यान गएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको  ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार गत साउनमा १ हजार  ६ सय २८ सडक दुर्घटनामा १ सय ५२, भदौमा १ हजार ६ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा १ हजार ८ सय ७३ सडक दुर्घटनामा २ सय, कात्तिकमा १ हजार नौ सय २८ दुर्घटनामा परी २  सय ५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा २ हजार १४ सडक दुर्घटनामा परी २ सय ५२ र पुसमा सबैभन्दा बढी २ हजार २ सय ७६ दुर्घटनामा परेर १ सय ९७ जनाको निधन भएको छ । 

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।रासस।