• शुक्रबार, २३ फाल्गुण, २०८१
  • ०१:४९:२०

अमेरिकाले भारत र चीनविरुद्ध लगायो पारस्परिक महसुल, अप्रिल २ देखि लागू हुने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा भारत, चीन, दक्षिण कोरियालगायत धेरै देशहरूलाई अमेरिकी वस्तु आयातमा उच्च शुल्क लगाउने देशहरूको सूचीमा राखेको छ ।

जुन देशले आफूमाथि जति कर लगायो आफूले पनि सो देशमाथि उत्ति नै कर लगाउने ट्रम्पले भन्नुभएको छ । ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने बताउनुभयो । यी करहरू अमेरिकालाई फेरि धनी र महान् बनाउनको लागि भएकोमा उहाँले जोड दिनुभयो । 

‘अन्य देशहरूले दशकौँदेखि हामी विरुद्ध भन्सार प्रयोग गर्दै आएका छन् । अब ती अन्य देशहरूविरुद्ध उनीहरूले अपनाएको हतियार प्रयोग गर्ने पालो हाम्रो हो । औसतमा ईयू, चीन, ब्राजिल, भारत र अनगिन्ती अन्य देशहरूले हामीसँग निकै धेरै उच्च शुल्क असुलिरहेका छन् । उनीहरूको तुलनामा हामीले कम शुल्क लिन्थ्यौँ । 

यो धेरै अन्यायपूर्ण छ । भारतले हामीसँग १०० प्रतिशत अटो ट्यारिफ लिन्छ, चीनले हामीसँग दोब्बर ट्यारिफ लिन्छ, दक्षिण कोरियाले चौब्बर ट्यारिफ लिन्छ । यो प्रणाली अमेरिकाको लागि निष्पक्ष छैन, यो कहिल्यै थिएन ।’ अमेरिकी राष्ट्रपतिले भन्नुभयो । 

ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने घोषणा गर्नुभएको छ । यसमा जुन देशले अमेरिकी सामानमा जति कर लगाएको छ, त्यो देशमाथि पनि त्यति नै कर लगाइने उहाँले बताउनुभयो । कसैले आफूहरूलाई उनीहरूको बजारबाट बाहिर राख्न गैर–मौद्रिक शुल्क लगाउँछ भने आफूहरूले पनि ती देशलाई अमेरिकी बजारबाट बाहिर राख्न गैर–मौद्रिक अवरोधहरू लगाउने उहाँले बताउनुभयो । 

भन्सार शुल्कले ठुलो राजस्व उत्पन्न गर्नेछ, रोजगारी सिर्जना गर्नेछ

‘धेरै दशकदेखि अमेरिकालाई लगभग सबै देशहरूले लुटिरहेका छन् । अब हामी यो हुन दिने छैनौँ । भन्सारबाट ठुलो राजस्व उठ्नेछ । यसले अभूतपूर्व रोजगारी सिर्जना गर्नेछ ।’ ट्रम्पले भन्नुभयो । 

उहाँले अप्रिल २ देखि अमेरिका आउने विदेशी कृषि उत्पादनहरूमा नयाँ शुल्क लगाइने उहाँले बताउनुभयो । आफ्नो  प्रशासनले नयाँ व्यापार नीति ल्याउने अनि यो अमेरिकी किसानका लागि उत्कृष्ट हुने पनि उहाँले भन्नुभयो । विदेशी आल्मुनियम, तामा, काठ र स्टीलमा २५ प्रतिशत भन्सार लगाइएको उहाँले भन्नुभयो । यो केवल अमेरिकी जागिर रक्षा गर्ने बारेमा मात्र नभएर हाम्रो देशको आत्माको रक्षा गर्ने बारे भएको पनि उहाँले बताउनुभयो । एजेन्सी।