गुमनाम गुफाको व्यापकता
- पार्वती अधिकारी/सन्तोष कुमार सुबेदी
- बिहीबार, ७ मङ्सिर, २०८०- १७:४५:००/ Thursday 11-23-23
करिब ३० मिटर अग्लो यो गुफाको भुईंतला १२० वर्ग मिटर क्षेत्रमा फैलिएको छ । तल्लो तलाको तुलनामा माथिल्लो तलाहरु साँघुरिंदै गएका छन् ।
दाङ जिल्लाको सदरमुकाम तुलसीपुरदेखि करिब १२ किलोमिटर उत्तरतिर राप्ती राजमार्गको दुरी पार गरेर ४ किलोमिटर पूर्वतिर लागेपछि सिद्ध चमेरे गुफा भेटिन्छ । इतिहास, प्रकृति, कला, पुरातात्विक, धार्मिक महत्व र अनौठोपनको प्राकृतिक घर सिद्ध चमेरे गुफालाई स्थानियहरु झाँक्री गुफा र बुद्ध गुफा पनि भन्ने गर्छन् ।
टिकट शुल्क ३० रुपैयाँ तिरेपछि भित्र प्रवेश गर्नका लागि एउटा हेलमेट र ज्याकेट पाइन्छ । हेलमेटमा जडान गरिएको बत्तीको साहाराबाटै त्यहाँको दृष्यहरु अवलोकन गर्दा हजारौं चमेरोको फ्याटफ्याटे आवाज सुनिन्छ । गुफाको प्रवेश द्वार सानो भए पनि भित्र चार तलामा फैलिएको छ, जहाँ भगवानका मूर्ति, जनावरका आकृति, भेषभूषासहितका आकृति र विभिन्न अभिलेखहरु छन् । सिद्ध चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुन भन्दै थिए, ’यो हजारौं वर्ष पुरानो कला कौशल हो । हालसम्म यसको चार तला फेला परे पनि यसका अझै धेरै तलाहरु पनि हुन सक्छ ।’
बहुचिनारी बोकेको यो गुफाको महत्व र सम्भाव्य व्यापकता स्थानीयले बुझेपछि २०७५ पछि संरक्षण र विकासको पहल शुरु गरिएको थियो । पछिल्लो समय स्थानीय समुदायले गुफालाई पर्यटनसंग जोड्दै ‘चमेरे गुफा संरक्षण समिति’ गठन गरी गुफाको संरक्षण र प्रचारप्रसारको काम समेत अघि बढाएका छन् । गुफा र त्यहाँको जैविक विविधता संरक्षणसंगै स्थानीयको आयआर्जन बढाउने गतिविधिहरु बढेसंगै पर्यटकहरुको चहलपहलसमेत बढेकोले अब यो गुफाको विकासले गति पाउँनेमा आशावादी छन्, अध्यक्ष पुन ।
गुफाको रोचक पक्ष
सिद्ध चमेरे गुफाको पहिचान वि.स.२०२७ सालअघि नै भइसके पनि यसको संरक्षण र प्रचारको काम ढिलोगरी सुरु भएको संकृति, पर्यटन विज्ञ तथा अनुसन्धानकर्ता डा.गोविन्द आचार्य बताउँछन् । आचार्यका अनुसार करिब ३० मिटर अग्लो यो गुफाको भुईंतला १२० वर्ग मिटर क्षेत्रमा फैलिएको छ । तल्लो तलाको तुलनामा माथिल्लो तलाहरु साँघुरिंदै गएका छन् ।
हजारौं वर्ष देखि थुप्रिएको चमेराको विष्टाले तल्लो तलाको धेरै भाग पुरिएको छ । पाँच वर्षअघि पुरातात्व विभागले गुफामा उत्खनन् गर्ने क्रममा ११ मिटर लामो लौरोको पुरै भाग त्यहाँ गाडिएको थियो ।
पुनका अनुसार हजारौं वर्ष देखि थुप्रिएको चमेराको विष्टाले तल्लो तलाको धेरै भाग पुरिएको छ । पाँच वर्षअघि पुरातात्व विभागले गुफामा उत्खनन् गर्ने क्रममा ११ मिटर लामो लौरोको पुरै भाग त्यहाँ गाडिएको थियो । यसले गुफा अझै ठुलो, गहिरो र रोचक हुन सक्ने अनुमानहरु जन्माएको छ । साथै गुफाको स्वरुप नै बिगार्ने गरी थुप्रिएको उक्त मल यसै वर्ष सफा गरी जैविक मलका रुपमा स्थानियहरुको उत्पादन बढाउँने काममा प्रयोग गरिने योजना रहेको उनी बताउँछन् ।
गुफाको उत्खननका क्रममा केही हाड र अस्तुहरु पनि भेटिएका थिए । ती अस्तु चमेराका हुन् या प्राचिन मानवहरुका, अध्ययन हुन बाँकी छ । यद्यपी, गुफामार्फत प्रचिन मानवका बारेमा जानकारी पाउन सकिने र वरिपरिका जंगलमा समेत ढुङ्गे युगका थप सामाग्रीहरु भेटिन सक्ने सम्भावना रहेको उनको भनाई छ ।
गुफाको दक्षिणी क्षेत्रमा रहेको तुइदाङस्थित तुइ खोलाको वरिपरि ढुंगे युगका औजारहरु समेत फेला परेकाले यो गुफा पाषाणकालका मानवको आश्रयस्थल हुन सक्ने अनुसन्धानकर्ताको अनुमान रहेको आचार्य बताउँछन् । यसका अलावा, गुफभित्र देखिने विभिन्न किसिमका रोचक चित्र, लिपी र क¥याङ म¥याङहरुबाट पनि त्यतिबेलाका मानिसहरुले भाषा जन्मनुभन्दा पहिला चित्रलिपीको अभ्यास गरेको हुन सक्ने उनको अनुमान छ ।
गुफाको दक्षिणी क्षेत्रमा रहेको तुइदाङस्थित तुइ खोलाको वरिपरि ढुंगे युगका औजारहरु फेला परेकाले यो गुफा पाषाणकालका मानवको आश्रयस्थल हुन सक्ने अनुसन्धानकर्ताको अनुमान छ ।
विविधतालाई वैभव बनाउँने प्रयास
उच्च पर्यकटीय सम्भावना भएको र जैविक विविधताको खानी यस गुफा तथा यसको आसपासका क्षेत्रलाई पछिल्लो समयमा संरक्षण तथा विकास गर्ने कार्य अघि बढाइएकाले गुफाको महत्व स्थानीय समुदायसंग जोडिन थालेको छ । गुफा संरक्षण समितिले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गतको विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमसंगको सहकार्यमा शुरु गरिएको पहलले गुफा र चमेराको संरक्षणलाई स्थानीय समुदायसंग जोडेर लैजान सकिएको समितिका अध्यक्ष पुन बताउँछन् । सन् २०२१ मा सुरु भई १६ महिना सञ्चालन भएको पहिलो चरणको कार्यक्रमअन्तर्गत गुफासम्म पुग्नका लागि भ¥याङ, रेलिङ, प्रतिक्षालय तथा गेट निर्माणलगायत पुर्वाधार विकासका काम गरियो । चमेरो र चिउरी संरक्षणका लागि स्थानीय विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम गर्ने देखि जैविक विविधता संरक्षणले स्थानीयलाई पुग्ने लाभको बारेमा विद्यालय र समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरिएपछि संरक्षण कार्यमा उनीहरुको संलग्नता र चासो बढ्न थालेको छ ।
यो गुफामा कति चमेरा छन् भन्ने बारेको एकिन तथ्यांक नभए पनि हजारौं चमेराको बास छ भन्ने कुरा स्पष्ट छ । तर पछिल्लो समयमा मानवीय चपलह पहल बढेपछि चमेरा भाग्न थाले । लाटोकोसेरोको आक्रमण समेत बढ्दै गएपछि चमेराको संख्या घटेर गयो । यो समस्याबाट चिन्तित भएको समितिले यसलाई रोक्नका लागि विज्ञहरुसंगको सल्लाहमा गुफा बाहिर ५० ओटा ब्याट बक्स राख्यो । ब्याट बक्स राखेपछि चमेरा पहिलेभन्दा सुरक्षित भएको बताउँदै पुन भन्छन्, ‘पहिला आक्रमणमा परेका चमेराका भुत्ला र अवशेषहरु ठाउँठाउँमा भेटिने गर्थे । आजभोलि भेटिंदैन ।’
यो गुफामा कति चमेरा छन् भन्ने बारेको एकिन तथ्यांक नभए पनि हजारौं चमेराको बास छ भन्ने कुरा स्पष्ट छ । तर पछिल्लो समयमा मानवीय चपलह पहल बढेपछि चमेरा भाग्न थाले ।
पहिले पहिले गुफा भित्र आगो बाल्ने लगायतका क्रियाकलापले पनि चमेरो भाग्ने गरेका थिए । धुवाँकै कारण गुफाको भित्ताहरुमा कोरिएका प्रचिन चित्रहरु ध्वाँसोले छोपिएको अवस्थामा छ । पानीले सफा गरेर ती चित्रहरुलाई देखिने बनाउँन आवश्यक रहेको डा.आचार्य बताउँछन् ।
अहिले त्यसलाई रोकेर ३० ओटा टर्च जडान गरिएको हेलमेट र ज्याकेटको व्यवस्था गरिएको छ । होहल्लाका कारण पनि चमेराले बासस्थान छाड्ने भएकाले अहिले एक पटकमा ६ देखि ७ जना मात्र गुफा प्रवेश गर्न पाउँने र १० मिनेट भन्दा लामो समय भित्र बस्न तथा हल्ला गर्न नपाईंने व्यवस्था गरिएको छ । यी क्रियाकलापले चमेरा गुफा छाडेर जाने क्रम केही रोकिएको र यसले आफूलाई खुसी बनाएको पुन बताउँछन् ।
संरक्षण र विकासका यी काम संगै यहाँ आउँने पर्यटकको संख्या समेत बढेको छ । आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढि ३ हजार मानिसले गुफाका अवलोकन गरेको पुन बताउँछन् । त्यसअघि जम्माजम्मी वार्षिक दुई हजार पर्यटक आउँने गर्थे ।
समुदायलाई जोड्ने शुरुवात
गुफा हेर्ने पर्यटकको संख्या बढेपछि मुलकोट गाउँकी झरना पुनले आफ्नै घरमा होमस्टे सञ्चालन गरेकी छन् । उनले गत वर्ष तुलसीपुर उपमहानगर पालिकाबाट होमस्टे सम्बन्धी तालिम लिएपछि यसलाई व्यवसायको रुपमै सुरु गरेकी हुन् । ‘पहिला बस्ने खाने ठाउँ नहुँदा पर्यटक आएर अडिंदैनथे तर अहिले होमस्टेमा बास बस्नेहरु बढ्न थालेका छन्’, उनले भनिन् ।
यहाँ झरना लागयत ५ जनाले होमस्टे सञ्चालन गरेका छन् । उनीहरुका लागि शुरुवाती सहयोगस्वरुप फ्रिज र बेडसेट लगायत सहयोग गरिएको थियो । यही सहयोग र तालिमे गर्दा होमस्टे सञ्चालन गर्न उत्साह मिलेको झरनाको भनाई छ ।
किसानहरुलाई प्राकृतिक तरकारी खेतीमा प्रोत्साहन गर्दै विभिन्न स्थानहरुमा अवलोकन भ्रमण समेत गरिएको छ । उनिहरुका उत्पादनलाई बिक्रि गर्नका लागि मुलकोट कृषि सहकारी संस्थासंग जोडेर होटेलहरुमा पु¥याउँने व्यवस्था गरिएको अध्यक्ष पुन बताउँछन् ।
स्थानीय उत्पादनलाई प्रोत्साहित गरेर उनीहरुको आय आर्जन बढाउँने उदेश्यले समितिले साना अनुदान कार्यक्रमसंगको सहकार्यमा यहाँ मुख्य रुपमा उत्पादन हुने कोदोको ब्रान्डीङ्ग गरी बजारमा पठाउने तथा स्थानीय महिलाहरुलाई अचार बनाउने काम गरी रोजगारी दिने तयारीमा आफुहरु रहेको उनको भनाई छ । मौरी पालन तथा मह उत्पादन गर्ने, चिउरीको बिजुला (दाना)बाट घ्यु उत्पादन गर्ने कामहरु अघि बढेका छन् । गाउँका १० घरलाई मौरीपालन तालिम र एक एकओटा घार उपलब्ध हुँदा निकै हौसला मिलेको हुर्मत बताउँछिन् । केही स्थानीयहरुले बाख्रा पालनलाई नै व्यवसायीक रुपमा अघि बढाउँन थालेका छन् । पुनका अनुसार समितिले गाउँमा १०० जनालाई एक एक ओटा खरी जातको बाख्रा वितरण गरेको थियो । यी काम सफल भएमा स्थानीयको आयआर्जनमा उल्लेख्य बृद्धि हुने पुनको भनाइ छ ।
स्थानिय सरकारबाट निरन्तर सल्लाह, सुझाव र समन्वयको काम भए पनि आर्थीक सहयोगका काम नभएको बताउँदै पुन भन्छन्, ‘३ वर्षअघि प्रदेश सरकारले गुरुयोजना निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसबाहेक अन्य कुरामा सरकारी स्तरबाट लागानी भएको छैन । आगामी आर्थीक वर्षमा गुफालाई क्रमागत रुपमा राख्ने प्रदेश सरकारले बताएको छ । अर्को वर्ष केही चासो दिन्छन् कि ।’
समितिले गुफाको विकास र संरक्षणका लागि स्थानीय सरकासंगको सहकार्यमा गुरुयोजना पनि बनाएको छ । गुफा वरपरको वन तथा जैविक विविधता संरक्षण, गुफा संरक्षण तथा सरसफाई, चमेरा संरक्षण, प्राकृतिक कृषिमा जोड, घरबास, पशुपालन ताथा मौरीपालन, पुर्वाधार विकास, वनभोज स्थल तथा दृष्यावलोकन केन्द्रका रुपमा विकास, होडिङ बोर्डहरुको व्यवस्था, स्थानीयको कला संस्कृतिको जगेर्ना, सुरक्षा व्यवस्था, भ्यु टावर निर्माण, केबुलकार तथा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन, घरेलु तथा साना उद्योग स्थापना, कोशेली घर, बसपार्क तथा मोटरबाटो निर्माण, गुफा वरपरको भवन तथा वास्तुकलाको संरक्षण लगायतका विषयहरुलाई पनि उल्लेख गरिएको पुन बताउँछन् ।
स्थानीयको भनाइमा पर्यटनको प्रशस्त सम्भावना भएको यस ठाउँमा गुफामा दैवी शक्ति रहेको भन्दै स्थानियले पूजाआजा समेत गर्ने गरेका छन् । त्यसैले दाङ्ग हुँदै स्वर्गद्वारी जाने पर्यटकहरुलाई धार्मिक हिसाबले जोडेर यस ठाउँलाई धार्मिक पर्यटनको क्षेत्रका रुपमा समेत विकास गर्न सकिन्छ । साथै यस ठाउँको हावापानी चिसो भएका कारण गर्मी याममा तराई क्षेत्र तथा भारतका पर्यटकहरुलाई तान्न सकिने सम्भावना रहेको पुनको भनाई छ । पुन भन्छन्, ‘अब करिब २ करोडजति बजेट भयो भने न्यूनतम पुर्वाधार विकासका आवश्यकताहरु पुरा गर्न सकिन्छ र धेरै पर्यटकलाई यहाँ जोड्ने आधार बन्छ ।’
सम्बन्धित समाचार:
कोभिडले कोरलेको सामागाउँको कान्ति
सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता
ग्रामिण विकासमा नयाँ अभ्यासको अग्रसरता
मौरीको महबाट चम्किएका दिनेश चेपाङ्ग