• बिहीबार, ३ असोज, २०८१
  • ०६:५९:३३

ओझेलमा अग्लो झरना

काठमाडौं। पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५ स्थित अग्लो झरना ओझेलमा परेको छ । पछिल्लो समय कृत्रिम संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनको होडबाजी चलिरहेको बेला बाह्रै महिना सुस्साइरहने झरना ओझेलमा परेको हो ।

बहपुर र बेलौजी गाउँको बिच भागमा अवस्थित खहरे खोलाको झरनाबाट खडेरीमा पनि छङ्गछङ्ग पानी झरिरहेको हुन्छ । अग्लो छाँगोबाट खसिरहेको निकै सुन्दर, आकर्षक झरना पर्यटकीय सम्भावना बोकेको भए पनि आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावले ओझेलमा परेको हो । ३० मिटरभन्दा बढी उचाइ र २० मिटरसम्म फैलिएको झरनालाई मगर भाषा अनुसार स्थानीयले घाङ छहरा भनेर चिन्ने गर्दछन् ।

झरनासम्म पुग्नका लागि रामपुर–मित्याल–अरुणखोला सडक खण्डको ढुङ्गानावेशी बजारबाट बहपुर गाउँ वा बेलौजीसम्म गाडीमार्फत जान सकिन्छ । त्यस पश्चात् भने पैदल यात्रा गर्नु पर्दछ । बहपुर भएर कम समयमा पुग्न सकिन्छ । ढुङ्गानावेशीदेखि बहपुरसम्म गाडीमा ५ देखि १० मिनेट र त्यस पश्चात् १० मिनेट पैदल हिँडेपछि छहरामा पुग्न सकिने बहपुरका स्थानीय तेजन सुनारीले बताउनुभयो ।

पर्यटनको प्रचुर सम्भावना रहेको झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको सुनारीले बताउनुभयो । सुनारीले भन्नुभयो, ‘बाह्रै महिना झरनामा पानी झरिरहेको हुन्छ । लामो खडेरीमा पनि पानी सुक्दैन । तर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।’ 

पहराको सहारा लिँदै बगिरहने झरनाको फेदीमा पुग्ने हो भने धित मरुन्जेल झरनालाई हेरेर रमाउन सकिने जनचेतना युवा क्लब बेलौजीका अध्यक्ष तिलक सारू बताउनुहुन्छ । निस्दी घुम्न आउनेहरूको लागि एक पर्यटकीय गन्तव्य रूपमा रहेको झरनासम्म जाने पूर्वाधार निर्माण हुन नसक्नु दुखद भएको बताउनुभयो ।

अन्य स्थानमा कृत्रिम पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनको प्रयास भइरहेको अवस्थामा प्राकृतिकले दिएको सम्पदाको प्रवर्द्धनमा सरोकारवालले बेलैमा चासो नदिँदा ओझेलमा परेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘चर्चामा रहेका केही झरनाहरू घुम्न पनि गएको थिएँ । चर्चामा भए जस्तो देखिन । पूर्वाधार र प्रचार प्रसारले धेरै फरक पार्ने रहेछ । त्यसैले आफ्नो ठाउँको झरनाको प्रचार प्रसारको क्लब स्तर बाटै पहल गर्दै आएका छौ ।’ क्लबले केही वर्षदेखि कार्यक्रममा झरनाको तस्बिरलाई समेट्दै आएको बताउनुभयो । 

स्थानीय तहको संरचना पश्चात् झरनाको प्रवर्द्धनमा निस्दी गाउँपालिकाले गत वर्ष देखि प्रयास थालेको जनाएको छ । निस्दी–५ का वडा अध्यक्ष दुर्गा बहादुर सोमैले झरनाको प्रवर्द्धनका लागि गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पैदल मार्ग निर्माणको थालनी गरेको बताउनुभयो । ‘गत वर्ष बहपुरबाट झरना सम्म जाने पैदल मार्गको ट्र्याक निर्माण थालेका थियौँ । जमिन कमजोर रहेकाले यस वर्ष अर्को विकल्पको खोजी गरेका छौँ,’ उहाँले भन्नुभयो । 

चालु आर्थिक वर्षमा संरचना सुधारको लागि एक लाख विनियोजन भएको बताउँदै विनियोजित बजेट र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झरनासम्म जानको लागि सिँढी निर्माण गरिने जानकारी दिनुभयो । आगामी वर्षमा आवश्यकता अनुसार क्रमशः बजेटको व्यवस्था गर्दै जाने सोमैले बताउनुभयो ।   

 पछिल्लो समय सामाजिक सञ्जालबाट केही तस्बिरहरू सार्वजनिक भएसँगै झरनामा पालिकाको विभिन्न स्थान बाट घुम्न तथा रम्न पुग्ने गरेका छन् ।  गोरखापत्रबाट।