• शुक्रबार, ७ मङ्सिर, २०८१
  • ०३:१२:४०

शिक्षाका मुद्धामा खबरदारी गर्ने गरी कलम चलाउन राष्ट्रपतीको आग्रह 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरू विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।  मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले १२ सक्नासाथ  विद्यार्थी विदेशिने अवस्था हटाउनुपर्ने बताउनुभयो ।


शिक्षा पत्रकार  समूहले विदेशिएका विद्यार्थीहरू पढाइ सकेर स्वदेश नआउने तर यताबाट चाहिँ ठूलो लगानी गरेर कक्षा १२ र स्नातक गरिदिनुपर्ने, उता हाम्रा युवा जनशक्ति विदेशीकै सेवामा रहिरहनुपर्ने विडम्बना अहिले देशले भोगिरहनुपरेको यथार्थबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो ।  रजत वर्ष र नयाँ कार्यसमिति चयन भएको अवसरमा समूहका नवनिर्वाचित अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा समूहको टोलीले मंगलबार राष्ट्रपति निवास पुगेर राष्ट्रपति समक्ष समसामयिक शिक्षासम्बन्धी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

त्यसको प्रत्युत्तरमा राष्ट्रपति पौडेलले उक्त चिन्ता व्यक्त गर्नुभएको हो ।  ‘शहरका विद्यार्थी विदेशिने र गाउँका विद्यार्थी शहर जाने प्रवृत्ति बढ्दा गाउँका विद्यालयहरू रित्तिएको अवस्था छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो,  ‘विद्यार्थी अभावमा गाउँका विद्यालयहरू आपसमा खप्टिनुपर्ने अवस्था छ, विद्यार्थीहरू खर्च गर्दै विदेशिनु दुर्भाग्यपूर्ण छ ।’

विद्यार्थी विदेशिने अवस्था रोक्न सरकारलाई घचघच्याउँन र खबरदारी गर्न  शिक्षा पत्रकार समूहलाई उहाँले आग्रह गर्नुभयो ।   राष्ट्रपति पौडेलले जनशक्तिको विदेश पलायन रोक्न सबै लाग्नुपर्ने बताउदै यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने गरी शिक्षा पत्रकारहरूलाई कलम चलाउँन उहाँले आग्रह गर्नुभयो । 

शिक्षा पत्रकार समूहले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो संसदबाट पारित गर्न, सार्वजनिक विद्यालयको सिकाइ उपलब्धि सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयको पहुँच विस्तार, संविधानः निशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयन लगायतका लागि चासो र पहलकदमी लिइदिन राष्ट्रपतिलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । 

सोही अवसरमा शिक्षा पत्रकार समूहले विगत २५ वर्ष देखि प्रकाशन गरेका टेकोले धानेको घर, कसीमा निजी विद्यालय, शिक्षाका चार मुद्दा, चित्र विचित्र, विद्यालयमा माध्यम भाषा, शिक्षाका सारथीलगायत दर्जन बढी आफ्ना प्रकाशनहरू राष्ट्रपतिलाई हस्तान्तरण गरेको थियो । 

उक्त टोलीमा अध्यक्ष निर्जला कक्षपति,  वरिष्ठ उपाध्यक्ष जनक नेपाल, उपाध्यक्ष नवराज चालिसे, महासचिव रोशन क्षेत्री गाउँले, सचिव प्रज्ञा तिमल्सिना, कोषाध्यक्ष सविना बानियाँ, सदस्यहरू संजीप घिमिरे शुभचिन्तक, रोजिना थापा कार्की, अमृता बुढाथोकी, पूर्वअध्यक्ष सुदर्शन सिग्देल, सदस्यहरू ओमप्रकाश घिमिरे, उमेश पोखरेललगायत सहभागी थिए ।