• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०६:२०:४९

भुटानमा सुरू भयो स्टारलिङ्क इन्टरनेट सेवा, शुल्क कति?

काठमाडौं। भुटानमा अब एलन मस्कको स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा सुरु भएको छ। भुटान इन्फोकम एन्ड मिडिया अथोरिटी (BICMA) ले हालै स्टारलिङ्कलाई इन्टरनेट सेवा प्रदायकको रूपमा अनुमति दिएको हो।


स्टारलिङ्क प्रायः दुर्गम र कठिन स्थानहरूमा इन्टरनेट सेवा उपलब्ध गराउने काममा सक्रिय रहेको छ। यस अनुमति संगै, स्टारलिङ्कले भुटानी उपभोक्ताका लागि विभिन्न प्याकेजहरू प्रस्तुत गरेको छ।

यसको अनुसार, रेसिडेन्सियल प्याकेजको ११० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ४२ सय भुटानी नगुल्ट्रम (लगभग सात हजार रुपैयाँ) हुनेछ। रेसिडेन्सियल लाइटको मासिक शुल्क भने ३ हजार नगुल्ट्रम (लगभग पाँच हजार रुपैयाँ) रहनेछ। त्यसैगरी, व्यवसायिक, सरकारी कार्यालय र अन्य संस्थाहरूका लागि ५ देखि २२० एमबीपीएस गतिका प्याकेज उपलब्ध छन्, जसको मासिक शुल्क ४२ सय नगुल्ट्रम देखि ४ लाख नगुल्ट्रम (७ हजार देखि ६४ हजार रुपैयाँ) सम्म रहेको छ।

यी प्याकेजहरूमा केही डेटा सीमा तोकिएको छ र मोबाइल नेटवर्कका लागि स्टारलिङ्कको सेवा प्रत्यक्ष प्रयोग गर्न मिल्ने छैन। मस्कको इन्टरनेट सेवा लिन चाहनेहरूलाई स्टारलिङ्क किट किन्नुपर्ने हुन्छ, जसको सबैभन्दा सस्तो मूल्य १७,००० नगुल्ट्रम (२७ हजार रुपैयाँ) पर्नेछ।

हाल भुटानका स्थानीय टेलिकम सेवा प्रदायकहरू भुटान टेलिकम र ताशि सेल (TashiCell) ले मासिक ४ हजार नगुल्ट्रममा ८ एमबीपीएस र ५० हजार नगुल्ट्रममा १०० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन्। यी कम्पनीहरूको योजनाहरू तुलनात्मक रूपमा सस्तो भए तापनि, स्टारलिङ्कको उच्च गतिको सेवा विशेषगरी दुर्गम स्थानहरूको लागि उपयुक्त हुने बताइएको छ।