• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०८:३४:५५

च्याटजीपीटी प्रयोगकर्ताका लागि सोरा टुल, यथार्थपरक भिडिओ बनाउन सजिलो

काठमाडौं । ओपनएआईले टेक्स्टको आधारमा यथार्थपरक भिडिओ निर्माण गर्न सक्ने नयाँ एआई टुल 'सोरा' सार्वजनिक गरेको छ । ‘सिपमस’ नामक इभेन्ट अन्तर्गत १२ दिनसम्म विभिन्न फिचर, टुल र डेमो प्रस्तुत गर्दै, सोमबार सशुल्क प्रयोगकर्ताका लागि यो टुल उपलब्ध गराइएको हो।


ओपनएआईले यो टुल पहिलो पटक गत फेब्रुअरीमा प्रकट गरेको थियो। तर, यसलाई लामो समयसम्म विशेष क्रियटरहरूका लागि मात्र सीमित राखिएको थियो। यो अवधिमा सोराको मद्दतले म्युजिक भिडिओ समेत तयार पारिएको छ।

यो टुलमा sora.com मार्फत पहुँच लिन सकिन्छ। कम्पनीले जानकारी दिएअनुसार हाल अमेरिकालगायत केही देशमा 'सोरा टर्बो मोडल' प्रयोगमा ल्याइएको छ। च्याटजीपीटी प्लस तथा प्रो योजना लिएका प्रयोगकर्ताहरूले यसलाई चलाउन पाउनेछन्।

च्याटजीपीटी प्लस प्रयोगकर्ताले ७२० पिक्सेल रेजोलुसनमा अधिकतम ५ सेकेन्डसम्मका ५० वटा भिडिओ बनाउन सक्छन्। प्रो योजना लिएका प्रयोगकर्ताहरूले १०८० पिक्सेल रेजोलुसनमा २० सेकेन्डसम्मका ५०० भिडिओ बनाउनसक्नेछन्। साथै, यी भिडिओहरू वाटरमार्क बिना डाउनलोड गर्न सकिने र एक पटकमा पाँचवटा भिडिओसम्म तयार गर्न सकिने सुविधा पनि उपलब्ध छ।

प्लस योजना प्रति महिना २० डलर (झण्डै तीन हजार रुपैयाँ) र प्रो योजना प्रति महिना २०० डलर (झण्डै २७ हजार रुपैयाँ) शुल्कमा उपलब्ध छ।

ओपनएआईका अनुसार, सोराले निर्माण गर्ने भिडिओमा 'एआईले तयार गरेको' भन्ने जानकारी राखिनेछ। अपलोड गरिने फोटो वा भिडिओमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरू समावेश गर्न नपाइने, गैरकानुनी सामग्री राख्न नपाइने र कपिराइट उल्लङ्घन नगर्ने नियम लागु गरिनेछ। उल्लङ्घन भएमा प्रयोगकर्ताको खाता बन्द गरिने चेतावनी पनि दिइएको छ।

यो टुलले म्युजिक भिडिओ, एनिमेसनजस्ता विभिन्न प्रकारका सामग्री बनाउन सक्ने उल्लेख गरिएको छ। नेपालमा भने यो टुल कहिले उपलब्ध हुने हो भन्ने निश्चित भएको छैन।