• आइतबार, ३० बैशाख, २०८१
  • १०:१२:५६

२२ सय हेक्टर जंगल जोगाउँने जाँगर

रीता थपलिया 
सुनसरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करिब १५ किलोमिटर उत्तरपश्चिममा रहेको राम मन्दिर क्षेत्रको  २२ सय हेक्टर  जंगल जैविक विविधतामा धनी छ । जंगली हात्ति देखि बाँदर तथा मृग लगायतका जनावर र गिद्ध जस्त पंक्षीहरुको वासस्थान रहेको यो जंगल यस क्षेत्रको ठूलो सार्वजनिक वैभव भए पनि पछिल्लो समयमा बढ्दै गएको बस्ती र मानविय अतिक्रमणले यसको संरक्षणमा चुनौति थपिएको छ।  खासगरी जंगल वरिपरि बस्ती भरिदै गएपछि वन अतिक्रमण हुने र चोरी शिकारी कार्यहरुले गर्दा  यहाँको जैविक  विविधता जोखिममा धकलिएको छ ।   

यो राम मन्दिरको रोचक पक्ष यो छ कि आजभन्दा ३ हजार वर्ष अघि रामले बालेको आगो २६ सय वर्ष पछि अर्थात् आजभन्दा ४ सय वर्ष अघि वनखण्डी बाबाले पत्ता लगाएर पुनः जागृत गरे ।

यही वन क्षेत्र भित्र रहेको  राम मन्दिर यहाँका स्थानीयका लागि विशेष धार्मिक क्षेत्र पनि हो । यो राम मन्दिरको रोचक पक्ष यो छ कि आजभन्दा ३ हजार वर्ष अघि रामले बालेको आगो २६ सय वर्ष पछि अर्थात् आजभन्दा ४ सय वर्ष अघि वनखण्डी बाबाले पत्ता लगाएर पुनः जागृत गरे । सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ४ प्रकाशपुरको जंगलमा अवस्थित यस मन्दिर परिसरमा भगवान राम राजा जनकले आयोजना गरेको धनुष यज्ञमा भाग लिन जाने क्रममा बास बसेको र त्यहि आगो अहिले पनि बलिरहेको  रोचक किंवदन्ती र स्थानीयको  धार्मिक विश्वास  छ । यहि दुर्लभ आगोको प्रचार प्रसार गर्न सके धेरै धार्मिक पर्यटकहरु भित्र्याउँन सकिने स्थानीयको विश्वास छ । त्यसैले यहाँका सरोकारवालाहरु आगोको महत्वलाई जोडेर जंगलको जर्गेर्ना गर्ने जाँगर चलाउन थालेका छन् ।  

यहाँको धार्मिक तथा पर्यावरणीय पक्षलाई जंगलको संरक्षणसंग जोडेर जैविक विविधताको संरक्षणमा सामूहिक पहलको थालनी भएको छ । यो पहलले स्थानीय समुदाय, संवद्ध स्थानीय सरकार, १० वटा  सामुदायिक वन र अन्य सरोकारवालाहरुलाई जोडेर यहाँको धार्मिक महत्व र जैविक विविधताको संरक्षणको पहललाई अघि बढाउँन थालिएको छ । 

यो वन क्षेत्र  १० ओटा सामुदायिक वन, एउटा संरक्षित वन र एउटा धार्मिक वनमा विभाजित छ । जसमा सामुदायिक वन १४ सय  हेक्टर, संरक्षित वन ६ सय  हेक्टर र धार्मिक वन २ सय  हेक्टरमा फैलिएको छ । यो  जंगललाई रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका र भोक्रा नरसिंह गाउँपालिकाले छुन्छ ।  पहिले सबै सामुदायिक वन र पालिकाहरुले संरक्षणका लागि पहल गरे पनि छुट्टाछुट्टै भएका पहलहरुले समग्र वनको संरक्षणमा प्रभावकारी नतिजा दिन नसकेको महशुस भएपछि सामूहिक प्रयासको थालनी गरिएको सामुदायिक वनका सदस्यहरु बताउँछन् । 

यो सामूहिक प्रयासलाई अघि बढाउँने कामको सहजिकरणका लागि  स्थानीय गैरसरकारी संस्था हुडेपले नयाँ पलहको शुरुवात गरेको हो।  संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको विश्व वातावरण कोषअन्तर्गतको साना अनुदान कार्यक्रमले  आर्थिक सहयोग गरेपछि नगरपालिका तथा सामुदायिक  वन समेतलाई जोडेर  यो कार्यमा हातेमालो गर्न सहज भएको संस्थाका अध्यक्ष डिल्ली कार्की बताउँनुहुन्छ । उहाँका अनुसार साना अनुदान कार्यक्रमको सहयोगले  वनको संरक्षण र पर्यटकीय संभावनाको उजागरमा उत्साह थपेको  छ । "साना अनुदान कार्यक्रमको सहयोगमा यो  मोडेलको कार्यक्रम पहिले पनि शुरु गरिएको र यो प्रभावकारी भएपछि दोस्रो चरणको ‘रामधुनी वन परिदृष्य तथा जिविकोपार्जनसंगै जैविक विविधता संरक्षण’  कार्यक्रम पनि शुरु गर्न लागिएको हो । यो कार्यक्रम मार्फत यो क्षेत्रलाई संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमार्फत धेरै अघि बढाउँन सकिने  विश्वास छ”, कार्कीले भन्नुभयो ।  

प्रत्येक वर्षको रामनवमी, विवाह पञ्चमी र बाला चतुर्दशीमा मेला लाग्ने यस मन्दिरमा नेपालसंगै भारत तथा बंगलादेशबाट समेत भक्तजनहरु आउँने गर्छन् । तर यो क्षेत्रमा न्यूनतम पूर्वाधार विकास, भक्तजनका लागि आवश्यक सुविधाहरु दिन नसक्दा यस क्षेत्रले ठूलो धार्मिक पर्यटनको सम्भावना गुमाएको देखिन्छ । त्यसैले रामधुनीको पर्यावरण संरक्षणका लागि स्थानीय सरकार, स्थानीयबासी, गैर सरकारी संस्था र मन्दिर व्यवस्थापन समितिको सहकार्यमा संरक्षणको सामूहिक पहललाई अघि बढाइएको सरोकारवालाहरु बताउँछन् । 

प्रत्येक वर्षको रामनवमी, विवाह पञ्चमी र बाला चतुर्दशीमा मेला लाग्ने यस मन्दिरमा नेपालसंगै भारत तथा बंगलादेशबाट समेत भक्तजनहरु आउँने गर्छन् । तर यो क्षेत्रमा न्यूनतम पूर्वाधार विकास, भक्तजनका लागि आवश्यक सुविधाहरु दिन नसक्दा यस क्षेत्रले ठूलो धार्मिक पर्यटनको सम्भावना गुमाएको देखिन्छ ।

रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी यो सामूहिक प्रयास पर्यावरण संरक्षण र पर्यटकीय संभावनाको उजागरका लागि निकै राम्रो पहल भएको भन्दै मन्दिर तथा यसको आसपासको विकासका लागि नगरपालिकाले डिपीआर तयार  गरिसकेको छ । यो डिपिआरमा  रामधुनीको पर्यावरण संरक्षणदेखि भौतिक संरचनाहरु जस्तैः जनकपुरमा जस्तै विवाह मण्डप निर्माण गर्ने, १ सय ८ ओटा धारा, धर्मशाला बनाउने, आधुनिक खालका गौशाला निर्माण गर्ने, मन्दिर परिसरमा ६० फिटभन्दा अग्लो रामको मुर्ति स्थापना गर्ने लगायतका योजनाहरु छन् । यो डिपिआरले सबै सरोकारवालाको पहललाई संगै जोड्ने भएकाले यहाँ गर्न लागिएका प्रयासहरु पहिलेका भन्दा झन् प्रभावकारी हुने  मेयर चौधरी बताउँनुहुन्छ । 

१२ वटा वन समितिको हातेमालो 

सामुदायिक वनहरुवीच सहकार्य  वन ठुलो क्षेत्रमा फैलिएको र वरिपरि बस्ति भएकाले १२ ओटा वन समितिले व्यवस्थापन  तथा संरक्षण गरिरहेको छन् । यी सबै वन समितिका प्रतिनिधिहरु सदस्य रहने गरी  रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएको छ । यो समितिले सामुदायिक वनसंगै स्थानीय समुदाय, सरोकारवाला र स्थानीय सरकारलाई पनि जोडेको छ । पहिले पनि सामुदायिक वन समितिले वनको  संरक्षणका लागि प्रयास गरेका थिए । तर अहिले सबै समितिलाई एकै ठाउँमा जोडेर सामूहिक पहल गरिएकाले  यसले वन संरक्षण  र यहाँको पर्यटकीय विकासलाई उत्प्रेरित गर्ने रामधुनी सालबन्धी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि नयन चौधरी बताउनुहुन्छ । 

पछिल्लोे समयमा सबैलाई एकै ठाउँमा जोड्ने गरी संस्थतागत पहल ओझेलमा परेको यो क्षेत्रको वृहत्तर पर्यटन, वातावरण संरक्षण र स्थानीयको आयआर्जनको सम्भावनालाई  बढाउँन  सार्थक हुने उहँको विश्वास छ । यस क्षेत्रको वृहत्तर विकासका लागि ‘रामधुनी मन्दिर संरक्षण गुरु योजना’ निर्माण कार्य समेत अघि बढेकाले यसको संरक्षण र विकासका लागि पनि यो सामूहिक पहलले आफू उत्साहित भएको उहाँको भनाइ छ ।   

स्थानीयको अगुवाइ बढाउँने प्रयास 

कुनै पनि संरक्षण कार्य स्थानीयको सक्रिय संलग्नता र अगुवाइले मात्र प्रभावकारी हुन्छ भन्ने कुरा विश्वव्यापी अनुभवले सिकाएको छ । यो अभ्यासलाई यहाँ पनि सक्रिय बनाउँन थालिएको छ । रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डिल्ली कार्की  विगतका कार्यक्रमबाट जैविक विविधताको संरक्षणमा स्थानीय समुदायलाई  जोड्ने प्रयास  प्रभावकारी भएकाले  अबका कार्यक्रममा स्थानीय समुदायको आय आर्जन बढाएर जीविकोपार्जनलाई सघाउँने क्रियाकलापलाई थप प्राथमिकता  दिने बताउनुहुन्छ । यसका लागि  प्राकृतिक खेती प्रणालीमार्फत्  तरकारी उत्पादनसम्बन्धि तालिम तथा बिउबिजन उपलब्ध गराउँन थालिएको छ । व्यवसायिक रुपमा होमस्टे सञ्चालन गर्ने, व्यवसायिक तरकारी खेतीका लागि  सीपमुलक  तालिम पनि संचालन गरिनेछ । 

धार्मिक तथा अन्य पर्यटकहरुका लागि सामुदायिक स्तरको आतिथ्य सेवा दिन होमस्टे संचालनलाई अघि बढाउँन थालिएकाले होमस्टेका लागि आवश्यक तरकारीको उत्पादन पनि स्थानीयस्तरमै गर्न थालिएको हो । यसले गर्दा पर्यटकहरुलाई स्थानिय स्वादको खाना खुवाउँन सकिने र यसले स्थानीय समुदायको आयआर्जन बढाउँने बताउँदै कार्की भन्नुहुन्छ, ’ स्थानिय रैथाने  खानेकुरा लोप हुँदै गएकाले यसको प्रवर्द्धन गरी स्थानीयको आय आर्जन पनि बढाउँन सकिने देखिएको छ । त्यसैले सामुदायिक वनको जग्गा तथा निजि जग्गामा भुँईकटहर, खरभूजा जस्ता फलफूल लगाउँने, स्थानीय  तरकारी खेतिमा सहयोग गरी यसबाट निम्न आय भएका स्थानीयको वार्षिक आम्दानी करिब एक लाख सुनिश्चित गर्ने गरी हामी काम गर्दैछौं ।” 

स्थानिय रैथाने  खानेकुरा लोप हुँदै गएकाले यसको प्रवर्द्धन गरी स्थानीयको आय आर्जन पनि बढाउँन सकिने देखिएको छ । त्यसैले सामुदायिक वनको जग्गा तथा निजि जग्गामा भुँईकटहर, खरभूजा जस्ता फलफूल लगाउँने, स्थानीय  तरकारी खेतिमा सहयोग गरी यसबाट निम्न आय भएका स्थानीयको वार्षिक आम्दानी करिब एक लाख सुनिश्चित गर्ने गरी हामी काम गर्दैछौं ।” 

रामधुनी मन्दिर वरपर विशेषगरी थारु जातिको बसोबास छ । उनीहरु नै यो आयआर्जन  कार्यबाट बढी लाभान्वित हुने छन् । थारु  कला, संस्कृति, रहनसहन र भेषभुषासमेत पर्यटकहरुका लागि विशेष आकर्षण बन्न सक्ने भएकाले यसको संरक्षणका लागि संग्रहालय बनाउने पहल समेत अघि बढाइएको छ । 

सामुदायिकव वन, स्थानीय सरकार तथा स्थानीय समुदायलाई संगै जोडेर वनजंगलको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आयआर्जन बढाउँने मोडेललाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने रामधुनी नगरपालिकाका उपमेयर तारा थापा बताउनुहुन्छ ।  

गिद्ध  तथा जंगली जनावरको संरक्षणको महत्व स्थानीयलाई बुझाई जैविक विविधताको संरक्षणबाट स्थानीयलाई हुने फाइदा महशुस गराउँने, यसको संरक्षणमा उनिहरुको संलग्नता बढाउँने जस्ता नयाँ प्रयासहरु प्रभावकारी हुने देखिएकाले यसमा नगरपालिकाले सधै हातेमालो गर्ने उहाँको भनाइ छ । रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले  मन्दिर परिसरमा सरसफाई, वृक्षारोपण, भौतिक संरचना निर्माण, जिवजनावर तथा पशुपंक्षीको संरक्षण लगायतका कामलाई पनि अघि बढाएको छ । 

जंगलको बीचमा रहेको मन्दिर प्राकृतिक सुन्दरताले भरिपुर्ण भए पनि मन्दिरसम्म पुग्न सुरक्षाको प्रबन्ध,  सडक सुविधा, बिजुली बत्ती तथा मोवाइल नेटवर्कजस्ता सुविधालाई बढाउँन आवश्यक भएकाले नगरपालिकाले यसमा अग्रसरता लिएको मेयर चौधरी बताउनुहुन्छ ।  यस क्षेत्रको प्रशस्त प्राकृतिक तथा धार्मिक श्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारमार्फत  जैविक विविधताको संरक्षण,पर्यटकिय स्थलको विकास र स्थानीयको आयआर्जनका लागि भएको एकिकृत प्रयासले सबैलाई जोड्दै उत्साहित बनाएको मेयर चौधरीको भनाइ छ ।  

सम्बन्धित समाचार:

कोभिडले कोरलेको सामागाउँको कान्ति
सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन
सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता
ग्रामिण विकासमा नयाँ  अभ्यासको अग्रसरता
साना अनुदान कार्यक्रम : सानो पाइलाबाट ठूलो यात्रा