जीवनको अस्तित्वका लागि जैविक विविधता
पृथ्वीमा ८७ लाख प्राणी, वनस्पति तथा सूक्ष्म जीवका प्रजाति रहेको अनुमान गरेकोमा हालसम्म १३ लाख प्रजाति पत्ता लागिसकेका छन् ।
- ओम प्रकाश घिमिरे
- बुधबार, ९ फाल्गुण, २०८०- ११:२०:००/ Wednesday 02-21-24
विज्ञहरूका अनुसार पृथ्वीबाट प्रजातिहरू लोप हुने दर यसको प्राकृतिक दरभन्दा एक हजारदेखि १० हजार गुणासम्म बढी छ । विश्वमा पहिचान भएका मध्ये एक तिहाइ प्रजाति लोपोन्मुख अवस्थामा छन् ।
जैविक विविधता मानव अस्तित्वको पूर्णताका लागि अति आवश्यक छ भन्ने कुरा हरेक पछिल्लो समयमा विश्वले महशुस गर्दै आएको छ । अमेरिकी वनस्पतिविद् तथा वातावरणविद् पिटर राभेनका अनुसार (Biodiversity keeps the planet habitable) अर्थात जैविक विविधताले यो धर्तीलाई बस्नयोग्य बनाउँछ । राभेनले भनेजस्तै हामीले प्रकृतिबाट प्राप्त गर्ने बस्तु तथा सेवाहरुको प्रमुख श्रोत नै जैविक विविधता हो । विज्ञान प्रविधिको विकाससंगै वैज्ञानिकहरुले अन्य ग्रहहरुका बारेमा पत्ता लगाएका नयाँ नयाँ तथ्यहरुका अनुसार पनि पृथ्विबाहेक अन्य ग्रहहरुमा मानव, वनस्पति तथा जिवहरुको अस्तित्व विरलै पाइन्छ ।
पछिल्लो २-३ सय वर्षअघि देखि मानव जिवनलाई सहज बनाउँनका लागि सुरु भएको औद्योगिकिरण, विकास निर्माणका कामहरु, बस्ती निर्माण तथा प्राकृतिक श्रोत साधनको चरम दोहनका कारण हुन गएको वातावरणीय क्षति र त्यसबाट मानव, जिवजन्तु तथा जैविक प्रणलीमा पर्न गएको असर र यसको न्युनिकरणका सवालमा विगत ३ दशकदेखि विश्वव्यापी रुपमा आवाजहरु उठ्न थालेको छ ।
जैविक विविधतालाई व्यापक रूपमा सम्बोधन गर्नका लागि १९९३ डिसेम्बर २९ देखि लागु भएको जैविक विविधता सम्बन्धि महासन्धि नै अन्तर्राष्ट्रिय प्रतिबद्धता दस्वावेज हो जसले जैविक विविधताको संरक्षण, यसका समपूरक अङ्गहरुको दीगो उपयोग र आनुवंशिक स्रोतहरुमा पहुँच तथा तीबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड लगायतका तीन वटा उद्देश्यहरु समेटेको छ । महासन्धिमा पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानव बीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनी परिभाषित गरिएको छ ।
१९९३ पछि विश्वव्यापी रुपमा जैविक विविधता संरक्षणमा निरन्तर सचेतना तथा पहलका कामहरु हुँदै आएका छन् । जैविक विविधताको निरन्तर ह्रासलाई सन् २०३० सम्म रोक्न विभिन्न लक्ष्य तय गर्दै संयुक्त राष्ट्रसंघीय जैविक विविधतासम्बन्धि १५ औं सम्मेलनले २०२२ डिसेम्वरमा विश्वव्यापी जैविक विविधता कार्यसंरचना (ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क) अनुमोदन गरेको छ । कुनमिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क नामले चिनिने कार्यसंरचनाले जैविक विविधता सरंक्षणका लािग ४ ओटा विश्वव्यापी उद्देश्य र २३ ओटा लक्ष्यहरू तोकेको छ ।
सन् २०३० सम्म विश्वको ३० प्रतिशत जमिन, समुद्र, सामुद्रिक क्षेत्र तथा जमिनले घेरेको जल क्षेत्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गरिने कुरा फेमवर्कको लक्ष्यअन्तर्गत समेटिएको छ । हाल विश्वको १७ प्रतिशत जमिन क्षेत्र र १० प्रतिशत सामुद्रिक क्षेत्र संरक्षित रहेको छ । जैविक विविधताको हिसाबले उच्चतम महत्व बोकेका क्षेत्रमा भइरहेको ह्रासलाई सन् २०३० सम्ममा शून्यमा झारिने तथा विश्वव्यापी रूपमा खाद्यवस्तु खेर जाने स्तरलाई आधा कटौती गर्न र अत्यधिक उपभोगलाई घटाउने कुरा उल्लेख छ । साथै फ्रेमवर्कले सबै प्रजातिहरूको लोप हुने दर घटाउन जोड दिएको छ ।
पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरू एकआपसमा अन्तरसम्बन्धित रहेका हुन्छन्, जसको चक्र प्रणालीबाट प्राणी, वनस्पति तथा सूक्ष्म जीवको अस्तित्व सम्भव रहेको हुन्छ ।
वैज्ञानिकहरुले पृथ्वीमा ८७ लाख प्राणी, वनस्पति तथा सूक्ष्म जीवका प्रजाति रहेको अनुमान गरेकोमा हालसम्म १३ लाख प्रजाति पत्ता लागिसकेका छन् । पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरू एकआपसमा अन्तरसम्बन्धित रहेका हुन्छन्, जसको चक्र प्रणालीबाट प्राणी, वनस्पति तथा सूक्ष्म जीवको अस्तित्व सम्भव रहेको हुन्छ । यदि यो कार्यसंरचना अनुसार काम भएको खण्डमा बिग्रंदै र नासिदै गएको जैविक विविधताको संरक्षण र सुधार हुने देखिन्छ ।
जैविक विविधता संकटको संकेत
अध्ययनअनुसार संसारभर झन्डै १ अर्ब ६० करोड मानिस जिविकोपार्जनका लागि वनमा आश्रित छन् । पृथ्विमा करिब ४० प्रतिशत अक्सिजन वनबाट नै प्राप्त हुन्छ । मानिस जिवनयापनका क्रियाकलापदेखि सास फेर्न समेत जैविक विविधताकै स्रोतहरुमा आश्रीत हुनुपर्छ तर पछिल्लो समय प्राकृतिक स्रोतको अत्याधिक दोहन, बढ्दो सहरीकरण, बाह्य मिचाहा प्रजातिको प्रवेश, भूउपयोगमा परिवर्तन, वन्यजन्तुको वासस्थान तथा वनको विनाश, गैरकानुनी शिकार तथा तस्करी, आगलागी, अत्यधिक चरिचरन, मरुभूमीकरण र प्रदूषणका साथै विश्व उष्णीकरणले सिर्जना गरेको जलवायु परिवर्तनका कारण पृथ्वीको जैविक विविधता सङ्कटमा परिरहेको छ ।
पछिल्लो १०० वर्षकै तथ्याङ्कलाई हेर्ने हो भने पनि सन् १९०० यता विश्वमा स्थलजीवका प्रजातिको सङ्ख्यामा झन्डै २० प्रतिशतले गिरावट आएको छ भने ४० प्रतिशत उभयचरका साथै एक तिहाई सामुन्द्रिक जीवका प्रजाति खतरामा परेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको जैविक विविधता तथा पर्यावरणसम्बन्धी अन्तरसरकारी विज्ञान-नीति मञ्चको एक रिपोर्टले उल्लेख गरेको छ । रिपोर्टका अनुसार सन् १९०० यता रैथाने प्रकारका पृथ्वीमा पत्ता लागेका मध्ये २४ प्रतिशत स्तनधारी र १२ प्रतिशत चराका प्रजाति लोप हुने खतरामा छन् ।
पछिल्लो समय विश्वमा देखिएका नयाँ नयाँ रोग तथा प्रकोपहरु पनि जैविक विविधता संकटमा पर्दै गएको संकेत हो । सन् १९७० यता कुनै पनि देशमा प्रवेश गर्ने मिचाहा वनस्पति तथा जीवजन्तुको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ । २०७७ सालमा नेपाल लगायतका देशहरुमा देखा परेको सलहको झुण्ड र बालीनालीमा देखिएको फौजी किराको बिगबिगी पनि यसको उदाहरणको रुपमा लिन सकिन्छ ।
सन् १९८० यता विश्वमा प्लास्टिक प्रदूषण १० गुणाले वृद्धि भएको छ । उद्योगबाट उत्सर्जित ३० देखि ४० करोड टनसम्म धातु, घोलक, विषाक्त लेदो र अन्य फोहोर पदार्थ पानीका स्रोतमा फ्याँकिने गरिएको र कृषि भूमिमा प्रयोग गरिएको रासायनिक मल तथा रसायनले करिब साढे दुई लाख वर्गकिलोमिटर क्षेत्रफल बराबरको सामुद्रिक क्षेत्रलाई मृत बनाइसकेको तथ्य पनि उक्त प्रतिवेदनले उजागर गरेको छ । विश्वको तीन चौंथाइ स्थलीय वातावरण तथा करिब ६६ प्रतिशत सामुद्रिक वातावरण मानवीय कारणले उल्लेख्य रूपमा विकृत भएको उल्लेख छ ।
विश्वको तीन चौंथाइ स्थलीय वातावरण तथा करिब ६६ प्रतिशत सामुद्रिक वातावरण मानवीय कारणले उल्लेख्य रूपमा विकृत भएको पाइएको छ ।
मानवीय क्रियाकलापका कारण प्रत्येक वर्ष करिब एक प्रतिशत वन्यजन्तु नासिने क्रममा रहेको र विगत तीस वर्षमा मात्रै जमिनमा बस्ने वन्यजन्तुको सङ्ख्या २५ प्रतिशत, सामुद्रिक जीव २८ प्रतिशत तथा ताजा पानीमा पाइने जलचर प्रजातिको सङ्ख्यामा २९ प्रतिशतले कमी आएको लन्डनस्थित जुलोजिकल सोसाइटीको एक रिपोर्टमा उल्लेख छ । १६औँ शताब्दीयता पृथ्वीबाट कम्तीमा ६८० मेरुदण्ड भएका जनावरका प्रजाति लोप भइसकेका छन् ।
विज्ञहरूका अनुसार पृथ्वीबाट प्रजातिहरू लोप हुने दर यसको प्राकृतिक दरभन्दा एक हजारदेखि १० हजार गुणासम्म बढी छ । विश्व संरक्षण संघ (आइयूसीएन)ले पृथ्वीमा रहेका साढे १२ हजारभन्दा धेरै प्रजातिलाई लोप हुने खतरामा रहेको सूचीमा राखेको छ । विश्वमा पहिचान भएका मध्ये एक तिहाइ प्रजाति लोपोन्मुख अवस्थामा छन् । पृथ्वीमा जैविक विविधताको आधा हिस्सा ओगट्ने वन क्षेत्र वर्षेनी ०.८ प्रतिशतका दरले विनाश भइरहेको र उष्ण प्रदेशीय सदावहार जङ्गलको विलोपन दर ४ प्रतिशत रहेको तथ्याङ्क छ ।
नेपालको जैविक विविधता
विश्व मानचित्रमा भौगोलिक हिसाबले जम्मा ०.१ प्रतिशत भूभाग ओगटेको नेपालले जैविक विविधताका हिसाबले विश्वको करिब ४ प्रतिशत हिस्सा ओगट्छ । नेपाल विश्वकै यस्तो मुलुक हो जहाँको भौगोलिक सतह समुन्द्री सतहबाट ५७ मिटर (मुसहरनिया, धनुषा) देखि सगरमाथाको चुचुरो ८८४८.८६ मिटरसम्म फैलिएको छ । हावापानी अनुसारका फरक फरक पारिस्थितिक प्रणाली भएका कारण पनि नेपाललाई जैविक विविधतामा विश्वकै धनी राष्ट्र तथा जैविक विविधताको जीवन्त संग्रहालय समेत भन्ने गरिन्छ ।
नेपालमा ११८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन् । जैविक विविधताको हिसाबले नेपाल विश्वमा २५औँ र एसियामा ११औं स्थानमा पर्दछ । सरकारी तथ्याङ्कअनुसार विश्वमा पाइने कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत र कुल प्राणी प्रजातिको १.१ प्रतिशत नेपालमा पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशित गरेको जैविक विविधता संरक्षणसम्बन्धी स्रोत पुस्तिकामा उल्लेख भए अनुसार नेपालमा कुल १३ हजार ६७ प्रजातिका वनस्पति रहेकोमा २९४ प्रजाति रैथाने प्रजाति छन् । त्यस्तै ८ सय ९२ प्रजातिका चरा, १ सय ८६ प्रजातिका माछा, २०८ प्रजातिका स्तनधारी जीव, ६५१ प्रजातिका पुतली, १७५ प्रजातिका माकुरा, पाँच हजार प्रजातिका कीराफट्याङ्ग्रा, १२३ प्रजातिका सरीसृप, २३० प्रजातिका माछा पाइन्छन् ।
यहाँ पाइने १७ हजार ९७ प्रजातिका जीवजन्तुहरु मध्ये १६० प्रजाति रैथाने छन् । विश्वमा पाइने कुल स्तनधारी प्रजातिमध्ये ५.२ प्रतिशत, चरा प्रजातिमध्ये ९.५ प्रतिशत तथा पुतली प्रजातिमध्ये ३.७ प्रतिशत नेपालमा पाइनुले पनि नेपाल जैविक विविधताका हिसाबले अग्र स्थानमा भएको पुष्टि हुन्छ । नेपालमा व्यापक रुपमा जैविक विविधताका बारेमा अध्ययन हुनै सकेको छैन । यसको अझ विस्तृत अध्ययन हुन सके अझ नयाँ नयाँ तथ्यहरु फेला पर्न सक्ने विज्ञहरुको दाबी छ ।
वन तथा वनस्पतिजन्य विविधतामा पनि नेपाल धनी छ । हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने फरक फरक बोट बिरुवा तथा जडिबुटी यहाँका मुख्य सम्पती हुन् । तर पछिल्लो समय बढ्दै गएको मानव क्रियाकलापले वनजंगल तथा अतिउपयोगी वनस्पतिहरु लोप हुँदै गइरहेका छन् । यसको संरक्षणका लागि समेत सरोकारवालाहरुको चासो र चिन्ता बढ्नुपर्ने आवश्यकता छ । नेपालको कुल भूभागको ४४.७४ प्रतिशत वन क्षेत्र रहेकोमा २० ओटा संरक्षित क्षेत्र अन्तर्गतका कुल ३४ हजार ४२० वर्गकिलोमिटर अर्थात् २३.४ प्रतिशत भूभाग संरक्षित छन् । वनस्पति प्रजातिहरूको स्वस्थानीय तथा परस्थानीय संरक्षणका लागि ११ वटा वनस्पति उद्यान स्थापना गरिएको छ । वन तथा संरक्षित क्षेत्र धेरै भएका कारण पनि यहाँको जैविक विविधता उल्लेखनीय भएको सरोकारवालाहरु बताउँछन् ।
नेपालमा व्यापक रुपमा जैविक विविधताका बारेमा अध्ययन हुनै सकेको छैन । यसको अझ विस्तृत अध्ययन हुन सके अझ नयाँ नयाँ तथ्यहरु फेला पर्न सक्ने विज्ञहरुको दाबी छ ।
नेपालमा चार सय प्रजातिका बहुवर्षीय बाली तथा ६० प्रजातिका जङ्गली खाद्य फलफूल पाइन्छ । फूल फुल्ने बिरुवाको विविधतामा विश्वमा ३१औँ र एसियामा १० औँ स्थानमा पर्नुले पनि नेपाल खाद्य वनस्पतिको विविधताका हिसाबले समेत अनुपम छ भन्ने बुझ्न सकिन्छ ।
जमिनमा हुने जैविक तथा पारिस्थितिक विविधता फरक छ भने जल तथा सिमसार क्षेत्रको छुट्टै किसिमका विविधता भेट्न सकिन्छ । नेपालमा १० वटा सिमसारहरू रामसार क्षेत्रमा सूचीकृत भई, सिमसार जैविक विविधताको संरक्षणका लागि पनि पहल भइरहेको छ भने २ ओटा प्राकृतिक संग्रहालय तथा १२ ओटा पर्यावारणीय क्षेत्रहरु संरक्षण हुँदै आएको छ ।
वन्यजन्तु एवं जैविक विविधताको संरक्षणमा नेपालले गरेका प्रयास र हाँसिल गरेका उपलब्धी उल्लेखनीय भए पनि यस कार्यमा केही चुनौति पनि देखा परेका छन् । वन्यजन्तु बासस्थानको विनाश तथा क्षयीकरण, अतिक्रमण, अनियन्त्रित वन डढेलो, मिचाहा प्रजातिको प्रकोप, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, वन्यजन्तुका अंग चोरी निकासी तथा अवैध व्यापार, मानव वन्यजन्तु द्वन्द्वका कारण जैविक विविधताको सुन्दरता कुरुप हुँदै गइरहेको छ । त्यसैले प्रकृतिको अनुपम उपहारका रुपमा रहेका यी सम्पदाहरुको संरक्षण विश्वसामु नेपालको चिनारी अझै जबर्जस्त बनाउँने अवसरका रुपमा समेत जैविक विविधतालाई लिन सकिन्छ ।
संरक्षणमा भएका प्रयासहरु
संवैधानिक प्रावधान अनुसार तीनै तहका सरकारबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन र दिगो उपयोगको क्षेत्रमा केही प्रयासहरु भएका छन् । नेपालको वनजंगल संरक्षणका क्षेत्रमा भएका प्रगति विश्वमै उदाहरणिय छ । सामुदायिक वनको अभ्यास शुरु भएपछि नेपालको वन क्षेत्र ३९ प्रतिशतबाट झन्डै ४५ प्रतिशत पुगेको छ । बस्ती वरिपरी रहेका वनजंगल संरक्षमा ३० हजार भन्दा बढी समुदायमा आधारित वन संरक्षण समूहको सफल अभ्यासका कारण नै यो सफलता हाँसिल भएको हो ।
यसका साथै, नेपाल लगायत विश्वका १३ देशहरुमा मात्र पाइने पाटेबाघको संख्या दोब्बर बनाउने लक्ष्यमा नेपाल सफल भइसकेको छ । नेपालमा पाटे बाघको संख्या ३५५ पुगेको छ । बाघसंगै नेपालले गैंडा संरक्षणमा पनि सफलता हाँसिल गरिरहेको छ । सन् २०१५ को गणनामा ६ सय ४५ वटा रहेको गैंडाको सङ्ख्या २०२१ मा आइपुग्दा ७ सय ५२ पुगेको छ । नेपाल भित्रिने विदेशी पर्यटकमध्ये ६० प्रतिशतसम्मले संरक्षित क्षेत्र भ्रमण गर्नुले पनि नेपालको जैविक विविधता विश्वकै लागि हेर्न र बुझ्न लायक भएको कुरा अनुमान लगाउँन सकिन्छ ।
नीतिगत तथा कानुनी हिसाबले नेपाल सरकारले जैविक विविधता संरक्षणका लागि कृषि जैविक विविधता नीति २०६३, राष्ट्रिय वन नीति २०७५, राष्ट्रिय वातावरण नीति २०७६ र राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ कार्यान्वयनमा ल्याएको छ । यसैगरी, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३, वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ पनि कार्यान्वयनमा आइसकेको छ । राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०)पनि तर्जुमा भइसकेको छ भने जीवजन्तु तथा प्रजाती संरक्षणसम्बन्धि २८ ओटा कार्ययोजनाहरु कार्यान्वयन भइसकेका छन् ।
केही स्थानिय तहहरुले पनि आफ्नो क्षेत्रमा भएका जिव तथा वनस्पति संरक्षणका लागि जैविक विविधता सम्बन्धि नीति तर्जुमा गरेका छन् । राप्ती गाउँपालिकाले २०७५ र टीकापुर नगरपालिकाले २०७६ मा जलचर एवं जलिय जैविक विविधता संरक्षण ऐन तर्जुमा गरेका छन् । धादिङको गंगाजमुना गाउँपालिकाले पनि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ गाउँ सभाबाट स्विकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालमा उल्लेख्य कामहरु नभएको भए पनि संरक्षणको चेत विकास हुँदै गएको कुरा भने यी ऐन तथा प्रयासहरुबाट स्पष्ट हुन्छ ।
हामीले चाहाने हो भने जैविक विविधता संरक्षणका क्षेत्रमा छोटो समयमा सम्झन लायक उपलब्धिहरु हाँसिल गर्न सकिन्छ भन्ने कुरा नेपालले गरेका केही प्रयासहरुले दर्शाउँछ । त्यसैले अबका दिनमा नेपालको जैविक विविधतालाई यहाँको जीवनयापन, विकास, आयआर्जन तथा पर्यटनसंग जोड्दै यसको उच्चतम उपयोग र संरक्षण गर्नु आजको आवश्यकता हो । साथै नेपालले २०२० पछिको जैविक विविधता सम्बन्धि विश्वव्यापी संरचना ( ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क) अनुरूप रणनीतिक दस्तावेज विकास गर्न आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।
सम्बन्धित समाचार:
गुमनाम गुफाको व्यापकता
उघारिदै तनहुँसुर
२२ सय हेक्टर जंगल जोगाउँने जाँगर
ग्रामिण विकासमा नयाँ अभ्यासको अग्रसरता
कोभिडले कोरलेको सामागाउँको कान्ति
सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता