• आइतबार, ७ पौष, २०८१
  • ११:१५:२१

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला

काठमाडौं। हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–३ का सबै गाउँमा दुई वर्षअघिसम्म रातिको अध्यारोलाई छिचोल्न कि त टुकी कि दियालो बाल्नुपथ्र्यो । गाउँ नजिकै लघुजलविद्युत् आयोजना सञ्चालनमा रहे पनि न्यून क्षमता भएका कारण दिनमा १८ घण्टासम्म हुने लोडसेडिङ हुनथ्यो र बिजुलीको उज्यालो पाउनु कठिन थियो । तर अहिले नजिकका छिमेकी गाउँहरु रातको अन्धकारमा हराइरहँदा पनि यी गाउँहरु  भने चम्किलो हुन्छ । विकासको गतिसँगै पहिले बिजुलीको उज्यालो नै देख्न मुस्किल रहेका यहाँका वासिन्दा अहिले निर्धक्क बत्ती बाल्नसक्ने भएका छन् । अब मोवाइल फोन चार्ज गर्न अर्को गाउँमा जानु पर्दैन भने टिभी कम्प्युटर चलाउनसमेत सहज भएको छ । 


स्थानीय गैरसरकारी  संस्था बोधी ट्री फाउन्डेसनले  विमेन लाइट द वल्र्ड नामक संस्थासँग सहकार्य गर्दै विभिन्न साझेदार संस्थाहरुबाट आर्थिक सहयोगमा गरेको मिहेनतबाट सिमकोट गाउँपालिका वडा नं ३ का सबै गाउँ र वडा नं १ को एउटा गाउँका २ सय २० घरमा सौर्य उर्जा जडान गरेर झलमल्ल बनाउन सम्भव भएको हो । युएनडिपीको विश्व वातावरण कोषअन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोगले यो अभियानलाई सफल बनाउन महत्वपूर्ण सहयोग गरेको संस्थाका अध्यक्ष जङ्गबहादुर लामा बताउनुहुन्छ । भौगोलिक विकटताका कारण सोलार पाता, कन्ट्रोलर, ब्याट्री, तार, बल्बदेखि सबै सामग्रीहरु हवाइजहाजबाट ढुवानी गर्नु परेको थियो । झण्डै १४ लाख रुपैयाँ ढुवानी खर्च गरेर पनि यो गाउँलाई उज्यालो बनाउन सकिएको अध्यक्ष लामा बताउनुहुन्छ ।

सडक यातायातले जिल्ला सदरमुकाम समेत नछोएको एक मात्र जिल्ला हुम्लामा ढुवानीकै कारण विकास निकै महंगो मात्र होइन, जटिल पनि हुन्छ ।झण्डै १४ लाख रुपैयाँ ढुवानी खर्च गरेर पनि यो गाउँलाई उज्यालो बनाउन सकिएको अध्यक्ष लामा बताउनुहुन्छ ।

सडक यातायातले जिल्ला सदरमुकाम समेत नछोएको एक मात्र जिल्ला हुम्लामा ढुवानीकै कारण विकास निकै महंगो मात्र होइन, जटिल पनि हुन्छ । यति हुँदाहुँदै पनि युएनडिपीको विश्व वातावरण कोषअन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोगसँगै भारतीय दूतावास, न्यूजिल्याण्ड दुतावासबाट समेत आर्थिक सहयोगबाट गाउँलाई विद्युतीकरण गरिएको छ । उहाँका अनुसार  यसबाट यहाँका करिब दुई सय २० घरधुरीका २१ सय मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । 
बोधि ट्री फाउण्डेसनकी परियोजना संयोजक क्षेतेन डोल्मा लामा सोलार जडानपछि घरमा उज्यालोसँगै अन्य फाइदा भएको बताउनुहुन्छ । उज्यालोका लागि मट्टितेल तथा मैनबत्तीको प्रयोग पूर्ण रुपमा बन्द भएको र टर्चमा ब्याट्रीको प्रयोग २१ प्रतिशतले कम भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘टुकी बत्तीको कालो धुवाँका कारण हुने श्वासप्रश्वास र आँखामा हुने समस्याहरुमा कमी आएको छ ।’ पहिला बत्तीको अभावका कारण यहाँका बालबालिकालाई राम्ररी लेखपढ गर्न समस्या थियो तर अहिले बालबालिकाले राति अबेरसम्म पनि पढ्न पाएका छन्, कतिपयले बिहानको समयमा घरको अन्य काम गर्न भ्याएको स्थानीय पेमा लामा बताउँनुहुन्छ।    

जनस्वास्थ्यको साथै वातावरणमा पनि यसको प्रत्यक्ष लाभ पुगेको छ । सौर्य विद्युतीकरणपछि यस गाउँमा मात्रै एक सय ८८ मेट्रिक टन कार्बन उत्सर्जन समेत घटाएको अध्ययनले देखाएको छ । त्यस्तै झण्डै ६३ प्रतिशत बालबालिकालाई गृहकार्य गर्ने देखि अध्ययनमा समेत सजिलो भएको अध्ययनले देखाएको छ । आर्थिक, सामाजिक एवं वातावरणीय लाभको साथै यस परियोजनाबाट अप्रत्यक्ष रुपमा मानिसको सोचमा समेत परिवर्तन आएको र  यस गाउँमा आएर परिवर्तनले छिमेकी गाउँका वासिन्दाहरु पनि स्वास्थ्य र वातावरणप्रति सजग हुन थालेको परियोजना संयोजक क्षेतेनको भनाइ छ ।   

सिकाइका लागि उमेर, भूगोल र  भाषाले समेत फरक पार्दैन भन्ने कुरा ४४ वर्षको उमेरमा गाउँ, समाज र देशबाट टाढा गएर ज्ञान, सीप तथा तालिम आर्जन गरेर फर्की सोलार इन्जिनीयरका रुपमा आफूलाई स्थापित गराउन लाइकु र उनका सहकर्मीहरु सफल भएका छन् । 

महिलाको आँटिलो मेहनत 
बारगाउँका दुई सय २० घरलाई उज्यालो बनाउने अभियान सकिएसँगै गाउँकै ४९ वर्षिया लाइकु लामा अहिले देशविदेशमा चर्चामा हुनुहुन्छ।  आफ्नो जीवनकालमा कहिल्यै औपचारिक शिक्षाको नपाएकी लाइकुलाई नेपाली भाषा समेत राम्रोसँग आउँदैन । तर पनि उहाले भारतको बेयरफुट इन्टरनेशनल कलेजमा गएर छ महिनासम्म सोलार जडान तथा मर्मतसम्बन्धी अध्ययन गर्नुभयो।  उनीसँगै अरु दुई जना स्थानीय महिलाहरु छिरिङ पेमा लामा र छेपा लाह्मु लामा पनि सहभागी थिए । सिकाइका लागि उमेर, भूगोल र  भाषाले समेत फरक पार्दैन भन्ने कुरा ४४ वर्षको उमेरमा गाउँ, समाज र देशबाट टाढा गएर ज्ञान, सीप तथा तालिम आर्जन गरेर फर्की सोलार इन्जिनीयरका रुपमा आफूलाई स्थापित गराउन लाइकु र उहाका सहकर्मीहरु सफल हुनुभएको छ।   

 आफ्नो घर छाडेर कहिल्यै कतै नगएकी लाईकु सन् २०१८ मा बोधि ट्रि फाउण्डेसनले अमेरिकी संस्था ‘विमेन लाइट द वल्र्ड’ सिमाकोट गाउँपालिका–३ को बारगाउँ, तोर्पा गाउँ र बुरुन्से गाउँका एक–एक जना महिलालाई सोलार जडानसम्बन्धी तालिमका लागि भारत पठाउने समूहमा छनौट हुनुभयो।    लाइकुको गाउँका कोही महिला तालिमका लागि भारत जान राजी नभए पछि नयाँ कुरा सिक्ने उत्सुकताकै कारण उनी भने तयार हुनुभयो । उहाको निर्णयमा परिवारले पनि साथ दियो । भारतको राजस्थानमा रहेको ’बेयरफुट इन्टरनेसनल कलेज’ को तालिमले  उनलाई सोलार इन्जिनीयर मात्र बनाएन, गाउँकै एक उदाहरणीय पात्र ‘रोल मोडल’कै रुपमा उभ्याइदियो । छ महिनाको तालिमपछि गाउँ फकिएर आफ्नो गाउँमा उनले धमाधम सोलार जडान गर्न थालिन् । उनीलगायतका तालिममा सहभागी अन्य तीन जना मिलेर  गाउँलाई झलमल पारेका हुन् । अहिले पनि उनीहरुलाई फुर्सद हुँदैन, कतै नयाँ जडान गर्न बोलाइन्छ भने कतै बिग्रेमा मर्मतका लागि पुग्नुपर्ने हुन्छ ।  

लाइकु भन्नुहुन्छ, ‘घरबाट निस्कंदै गर्दा मनमा अनेक डर र चिन्ता थियो । राजस्थान पुगेपछि  बंगलादेश, भुटान, ताइवानलगायतका देशका महिलालाई पनि भेटेपछि उनीहरु पनि आफूजस्तै पाएपछि मन अलि ढुक्क भयो ।’  
लाइकुले भारत पुगेपछि भाषाको समस्याले गर्दा सुरुका दिनहरुमा कलेजमा सामानहरु बनाएको दृश्य हेर्नु बाहेकको विकल्प थिएन।  बेलाबेला विदेशीहरु पनि आउँथे । उनीहरुले बोलेको अङ्ग्रेजी भाषा उनलाई झनै कठिन लाग्थ्यो । 
 त्यति बेला त किन आएछु जस्तो पनि नलागेको होइन । उहाँ भन्नुहुन्छ, ‘न बोल्न सक्छु न बुझ्न नै । एक महिना जति त हामीले इसारामा मात्रै कुराकानी ग¥र्यौं । मलाई निकै अप्ठ्यारो भयो । त्यसपछि थोरै  थोैरै बुझ्दै गएँ । पछि पछि त कलेज जान पनि रमाइलो लाग्न थाल्यो ।’ 

विस्तारै उनलाई हिन्दी भाषा सजिलो लाग्न थाल्यो । अङ्ग्रेजीबाट भनेका कुराहरु दोभाषेमार्फत उनीहरुलाई हिन्दीमा बुझाउने गरिन्थ्यो । छ महिनामा उहाँ  सोलार जडान तथा मर्मतसम्बन्धी काममा पोख्त हुनुभयो।  भारतमा रहँदा उनले साथीहरुमार्फत लुगा सिलाउने, मास्क, प्याड बनाउने र योगाभ्यासमेत सिक्ने मौका पाइन् । आजभोलि लाइकु आफूले लगाउने कपडा, मास्क र सेनिटरी प्याड आफैं बनाउँनुहुन्छ।   कम्पोष्ट मल बनाउनेसम्बन्धी कलेजले दिएको तालिमका कारण खेतीपातीमा समेत सहज भएको उहाँको भनाइ छ । यति मात्र होइन, लाइकु बिजुलीको बल्ब र कन्ट्रोलरसमेत आफैं बनाउन सक्नुहुन्छ।  

तालिमपश्चात् लामो समयको अन्तरालपछि काम गर्ने अवसर पाएकाले कलेजबाट केही प्राविधिकहरु गाउँमै आए । लाइकु तथा तालिममा गएका छिरिङ पेमा लामा र छेपा लाह्मु लामालाई केही दिन अभिमुखीकरण तालिम पनि दिइयो । त्यसपछि  सबैभन्दा पहिले आफ्नै घरमा जडान गरेर हेर्नुभयो । घर उज्यालो बनाएपछि गाउँ चम्काउने उहाँको अभियान सुरु भयो । एकैदिनमा आफूले नौ घरमा सोलार जडान गरेको उहालाई सम्झना छ । आफूहरुले गाउँका दुई सय २० घरमा सोलार बत्ती जडान गरेकोमा गर्वको अनुभूति भएको बताउंदै  उहाँ भन्नुहुन्छ, ’मैले जीवनमा कहिल्यै नसोचेको काम गरिरहेकी छु । जुन मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्छ ।’ 

थोरै गल्ति भयो भने पनि हामीले गरेको काम पूरा हुन सक्दैन । अन्य काममा ८०–९० प्रतिशत गरेपछि लगभग पूरा हुन सक्ला तर यो काममा हामीले शतप्रतिशत नै नगरी घरमा बत्ती बल्दैन,’ उनी भन्छिन् ।  

गाउँको ऊर्जा आवश्यकतालाई पूरा गर्न विशेष भूमिका खेलेकी लाइकु सोलार पावर तथा विद्युतसम्बन्धी काम त्यति सहज भने नभएको बताउँनुहुन्छ  । ‘थोरै गल्ति भयो भने पनि हामीले गरेको काम पूरा हुन सक्दैन । अन्य काममा ८०–९० प्रतिशत गरेपछि लगभग पूरा हुन सक्ला तर यो काममा हामीले शतप्रतिशत नै नगरी घरमा बत्ती बल्दैन,’ उहाँले भन्नुभयो ।  

आम्दानी र टिकाउमा दिगोपना 
तालिममा सहभागी भएका समयमा प्रोत्साहनका लागि उनीहरुलाई मासिक १५ हजार भारतीय रुपैयाँ पनि दिइएको थियो । गाउँमा  सोलार जडानका गर्दा  प्रतिघर रु छ सयका दरले शुल्क लिने गर्दछन् । बाहिरका अन्य प्राविधिकको तुलनामा आधाभन्दा पनि कम भएपनि उनीहरु आफ्नो गाउँको सेवा गर्न पाएकामा सन्तुष्ट छन् ।

गाउँमा सोलारको मर्मतका लागि एउटा कोष पनि खडा गरिएको छ । कोषमा हरेक महिना गाउँलेहरुले २० देखि ३० रुपैयाँसम्म रकम जम्मा गर्छन् । सोलार तथा ब्याट्रीमा मर्मत तथा नयाँ फेर्न ठूलो रकम खर्च गर्नुपर्ने भयो भने सोही कोषबाट ५० प्रतिशत खर्च  हुन्छ र बाँकी स्वयं व्यक्तिको लगानीमा मर्मत गर्ने व्यवस्था मिलाइएको छ ।  गाउँमा यसअघि जडान भएका सोलार बिग्रिएर थन्किने गरेको समसइसाबाट पाठ सिक्दै संस्थाले सोलार जडान मात्र नभई त्यसलाई टिकाइराख्ने उपायको रुपमा कोष, वर्कशपको व्यवस्था गरेको छ । 

पहिले सोलार बिग्रियो बनाउने प्राविधिक हत्तपत्त भेटिंदैनथ्यो । तर अहिले सोलारमा कुनै समस्या आयो भने स्थानीय महिलाहरुले तुरुन्तै मर्मत गरिदिन्छन् । मर्मतका लागि गाउँपालिकाको सहयोगमा वर्कशप पनि बनाएको छ । गाउँपालिकाले समेत नयाँ सोलार जडानका लागि लाइकुको टिमलाई परिचालन गर्ने गरेको छ ।  हुम्लामा यो प्रयोग सफल भएपछि बोधी ट्री फाउन्डेसन डोल्पा तथा उच्च हिमाली क्षेत्रहरुमा पनि यस्तै कार्यलाई विस्तार गर्ने तयारीमा छ । अब महिलाहरुका लागि यस किसिमको तालिमको व्यवस्था नेपालमै गर्ने समेत उनीहरुको योजना छ । लाइकु र उनीसँगै काम गर्ने डोल्मा र पेमालाई नै प्रशिक्षको रुपमा परिचालन गरिने संस्थाका परियोजना संयोजक क्षेतेनको भनाइ छ ।  

महिलाहरुले यो आँटिलो कााम गर्नुपछाडी महिलाकै अग्रसरतामा  यो सोच भएको भन्दै परियोजना संयोजक क्षेतेन डोल्मा लामा भन्छिन्,  एक अमेरिकन महिला  यो गाउँमा आएको बेला बत्तिको अभावमा पाएको दुःखका कारण गाउँलाई उज्यालो बनाउँने प्रस्ताव गरेकि थिइन् ।

महिलाहरुले यो आँटिलो कााम गर्नुपछाडी महिलाकै अग्रसरतामा  यो सोच भएको भन्दै परियोजना संयोजक क्षेतेन डोल्मा लामा भन्छिन्,  'एक अमेरिकन महिला  यो गाउँमा आएको बेला बत्तिको अभावमा पाएको दुःखका कारण गाउँलाई उज्यालो बनाउँने प्रस्ताव गरेकि थिइन् ।' यो क्षेत्रमा सामाजिक कार्य समेत गर्दै आएका पर्यटन व्यवसायी  तथा बोधि ट्रि फाउण्डेसनका अध्यक्ष जंग बहादुर लामाले पनि यो काम गर्ने तिब्र इच्छा राखेपछि श्रोत खोज्ने र आवश्यक तयारी गर्ने कार्य अघि बढेको थियो । यहि मेसोमा काठमाडौंमा अध्ययरत हुम्लाकी क्षेतेन डोल्मा पनि आफ्नो ठाउँमाा काम गर्न इच्छुक भइन् र परियोजना संयोजकको रुपमा गाउँ फकिएर काम गरिन् । यसरी महिलाहरुकै मूल भूमिकामा  सबै काम अघि बढ्यो । अहिले सबैले चर्चा गर्ने यो कार्य सम्पन्न गर्नमा महिला अग्रसरता, नेतृत्व, आँट र मेहनत उल्लेखनीय रहेको बोधि ट्रि फाउण्डेसनका अध्यक्ष जंग बहादुर लामाको भनाइ छ । फोटो : बोधी ट्री फाउन्डेसन /सोडेक नेपाल 

सम्बन्धित समाचार: 

महिनावारी स्वास्थ्य, वातावरण र विभेदविरुद्ध प्याड क्रान्ति 

मौरीको महबाट चम्किएका  दिनेश चेपाङ्ग

साना अनुदान कार्यक्रम : सानो पाइलाबाट ठूलो यात्रा

सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन

सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता

ग्रामिण विकासमा नयाँ  अभ्यासको अग्रसरता